अछाम आएर मजदुरी गर्दै भारतीय युवा

भारतको धुर्नाका २२ वर्षीय समी अख्तारले मंगलसेनमा ग्याबिन बुन्ने कामको ठेक्का लिएका छन् । उनका बुवा करिब ४० वर्षअघि जाली बुन्ने काम खोज्दै अछाम आइपुगेका थिए । सानै उमेरमा बुवासँगै अछाम आएका समीले पनि सोही सीप सिके । पहिले बुवाले गर्ने कामको ठेक्का अहिले उनले लिने गरेका छन् ।

फाल्गुन ५, २०८२

मेनुका ढुंगाना

Indian youth coming to Achham to work

What you should know

अछाम — यहाँका युवा कामको खोजीमा भारत जाने प्रचलन जस्तै छ । पछिल्लो समय अछाममा एउटा फरक दृश्य देखिन थालेको छ । भारतका युवा नै काम खोज्दै अछाम आइपुग्ने गरेका छन् ।

एकातिर भारतबाट आएका मजदुरले विकास निर्माणका कामलाई गति दिएका छन् भने अर्कोतर्फ अछामकै धेरै युवा अझै पनि रोजगारीका लागि भारतमै निर्भर छन् । यस वर्ष पनि भारतको आर्या जिल्लास्थित धुर्नाबाट करिब ४० जना अछाम आएर काम गरिरहेका छन् । उनीहरू यहाँ ग्याबिन जाली बुन्ने काममा संलग्न छन् । 

तटबन्ध, पर्खाल, सडक जस्ता संरचनामा प्रयोग हुने ग्याबिन जाली उनीहरूले स्थानीय ठेकेदारमार्फत विभिन्न ठाउँमा तयार गरिरहेका छन् । यतिबेला उनीहरु मंगलसेन र साँफेबगरमा काम गरिरहेका छन् । 

भारतको धुर्नाका २२ वर्षीय समी अख्तारले मंगलसेनमा ग्याबिन बुन्ने कामको ठेक्का लिएका छन् । उनका बुवा करिब ४० वर्षअघि जाली बुन्ने काम खोज्दै अछाम आइपुगेका थिए । सानै उमेरमा बुवासँगै अछाम आएका समीले पनि सोही सीप सिके । पहिले बुवाले गर्ने कामको ठेक्का अहिले उनले लिने गरेका छन् ।

अछाममा जाली बुन्ने काम धेरै पाइने र आम्दानी पनि राम्रै हुने भएपछि आफ्नै गाउँका युवालाई अछाम ल्याएको उनले बताए । ‘एक सिजनमा स्थानीय ठेकेदारहरुबाट १५ करोडसम्मको ठेक्का लिन्छौं । एक जाली बुनेबाफत ३ देखि ४ सय ज्याला कामदारले पाउँछन्,’ समीले भने,‘हामी प्रायः राति काम गर्छौं , दिउँसो सुत्छौं । आम्दानी पनि राम्रै छ । सिजनमा मासिक एक लाख बढी कमाइ हुन्छ ।’

२८ वर्षीय सेराज आलम पनि भारतबाट कामको सिलसिलामा अछाम आइपुगेका छन् । ‘जाली बुन्ने सीप छ । हाम्रो गाउँमा काम खासै पाइएन । यो ठाउँमा भने जाली बुन्ने स्थानीय देखिएनन् । यो त हाम्रा लागि पनि अवसर हो,’ सेराजले भने,‘भारतबाट काम गर्न आएका छौं भन्दा धेरैले अचम्म मान्छन् । यहाँका धेरै युवा भारत जाने, उताबाट हामी यता काम गर्न आयौं । सीप भए जता पनि काम गर्न सकिन्छ । सिमानाले फरक पार्दैन ।’ 

समयमै पारिश्रामिक पाउने भएकाले पनि काम गर्न सहज भएको टोलीका अर्का सदस्य ३० वर्षीय सैकात अलीले बताए । ‘पहिले साथीहरू आए, काम पाएपछि हामीलाई पनि बोलाए । यहाँ काम नियमित हुन्छ । ज्याला पनि समयमै पाइन्छ,’ उनले भने, ‘त्यसैले हरेक वर्ष यही सिजनमा आउन थाल्यौं ।’

Indian youth coming to Achham to work

उनका अनुसार करिब १० वर्षअघि केही व्यक्तिबाट सुरु भएको यो श्रम यात्रा अहिले समूहगत बनेको छ । हरेक वर्ष दर्जनौं भारतीय युवा अछाम आइपुग्छन् र केही महिना बसेर काम गरेर फर्किन्छन् ।

२८ वर्षीय नारक आलमको जीवन सरल छैन । भारतमा रहेको परिवारका लागि काम गर्ने उनलाई गाउँमा स्थायी आम्दानीको स्रोत थिएन । चार छोराछोरी र श्रीमतीको जिम्मेवारी बोकेर उनी साथीहरूको सल्लाहमा अछाम आएका थिए । यहाँ उनले ग्याबिन जाली बुन्ने काम पाए । ‘घरमा चार बच्चा र श्रीमती छन् । खेती मात्रै गरेर पुग्दैन,’ नारक भन्छन्, ‘यहाँ काम पाइयो, त्यसैले यहीँ बसेर काम गरिरहेको छु ।’

अछाममा काम नियमित भएको र पारिश्रमिक समयमै पाइने भएकाले उनी र साथीहरूलाई कमाइ चलाउन सहज भएको छ । ‘यी हातले बुनेको जाली, अछामका सडक र भवन मात्र होइन, हाम्रा बच्चाको भविष्य पनि जोडिरहेको छ,’ उनले भने, ‘यही सीप र मिहनेतले परिवारको चुलो बलिरहेको छ ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully