यसरी दिइँदैछ शुक्लाकलीलाई तालिम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रै गस्ती गर्न होस् वा वन्यजन्तुको उद्धार गर्न र पर्यटकलाई सफारी गर्नका लागि पिपरैयास्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकलीलाई तालिम दिने काम भइरहेको हो ।

फाल्गुन ३, २०८२

भवानी भट्ट

This is how Shukla Kali is being trained

What you should know

कञ्चनपुर — एकातिर सानो हात्ती । अर्कोतिर ठूलो हात्ती । सानो हात्तीलाई दायाँ बायाँ जान नदिन डोरीले बाँधिएको छ । यसरी नै भिडभाड भएको ठाउँ, गाडीहरु चल्ने ठाउँमा लगिँदैछ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैयास्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली नामक हात्तीलाई यसरी नै तालिम दिने काम भइरहेको छ ।

शुक्लाकली पोथी हात्ती हो । यहीँको नारायणीकलीले जन्माएको हात्ती हो । अढाई वर्ष भन्दा बढी भएपछि अहिले उसलाई मानिसले चलाउन सक्ने गरी तालिम दिने काम भइरहेको हो । निकुञ्जभित्रै गस्ती गर्न होस् वा वन्यजन्तुको उद्धार गर्न र पर्यटकलाई सफारी गर्नका लागि उसलाई तालिम दिने काम भइरहेको हो । 

शुक्लाकलीलाई माघ ११ गतेदेखि तालिम दिन सुरु गरिएको हो । सुरुको तीन दिन एउटा खम्बामा बाँधेर छेउमै आगो बालेर रात दिन भाषा र मानिसलाई बसाउन सिकाउने काम गरिएको हो । त्यतिबेला हात्तीलाई रात दिन बस्न र सुत्न समेत दिइँदैन । ‘बस्न र सुत्न दिए बिर्सिन सक्छ भनेर लगातार तालिम दिइन्छ,’ हात्तीसारका दरौगा आनन्द सुनाहाले भने, ‘त्यतिबेला बोली, भाषादेखि मानिसको इसारामा चल्न सक्ने बनाइन्छ ।’ 

This is how Shukla Kali is being trained

तीन दिन जति रात दिन तालिम दिएपछि हिँड्न सिकाउने काम सुरु गरियो । सुरुमा निकुञ्जकै जंगलमा र त्यसपछि गाउँवस्ती हुँदै अहिले बजार क्षेत्रमा पनि हिँडडुल गर्न सिकाइँदैछ । ‘भिडभाडमा पनि सहजै हिँडडुल गर्न सक्ने र गाडीहरु देख्दा नि नडराउने गरी सिकाइन्छ,’ सुनाहाले भने, ‘वन्यजन्तु वस्तीमा पसेका बेला भीडभाडमा उद्धार गर्नुपर्ने हुन्छ, त्यही भएर अहिलेदेखि नै भिडमा लैजान थालेका हौं ।’ 

शुक्लाकलीलाई निकुञ्जकै लवप्रसाद, श्रुतिकली र शेषचन्द्र गजराज नामका हात्तीहरुले गाइड गरिरहेका छन् । श्रुतिकली र लवप्रसाद वयस्क हात्ती हुन् भने शेषचन्द्र गजराजलाई दुई वर्षअघि मात्रै तालिम दिइएको हो । अघि पछि यिनै हात्तीहरु हुन्छन् । एउटा ठूलो हात्तीलाई डोरीले बाँधेर नियन्त्रण गरिन्छ । 

‘गाउँ बस्ती र बजारसँगै जंगलमा पनि हिँड्न सिकाइरहेका छौं,’ शुक्लाकलीका माहुते तौला रानाले भने, ‘अहिले त धेरै सिकिसकेको छ, अब विस्तारै सबै सजिलो हुँदै जान्छ ।’ अहिले शुक्लाकलीलाई महाकाली किनारको भाइरल रोड, दोधारा चाँदनी नगरपालिकाको विभिन्न क्षेत्र र भीमदत्त नगरपालिकाको गड्डाचौकी र महेन्द्रनगरसम्म हिँडडुल गराइएको छ । 

गाउँ बस्तीमा हात्ती पुग्दा हेर्नका लागि स्थानीयको भीड लाग्ने गरेको छ । अधिकांशले हात्तीलाई फलफूल र दक्षिणाका रुपमा रुपैयाँसमेत दिने गरेका छन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १० हात्तीको दरबन्दी भएपनि अहिले तालिम दिइरहेकोसहित ४ पोथी र ५ भाले गरी ९ वटा हात्ती रहेका छन् । निकुञ्जमा गस्तीदेखि जंगल सफारी गराउन र वन्यजन्तु वस्तीमा पसेमा उद्धार गर्नका लागि हात्ती आवश्यक पर्दछ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीलाई तालिम दिने क्रममा गाउँ बस्तीमा हिँडाइदै । तस्बिर : भवानी भट्ट/कान्तिपुर

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully