बैतडीका १ सय २९ मतदानस्थलमध्ये सुरक्षाको दृष्टिकोणले ३३ वटा अति संवेदनशील सूचीमा रहेका छन् ।
बैतडी — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले बैतडीमा रहेका अति संवेदनशील र संवेदनशील मतदानस्थलको निरीक्षण थालेको छ ।
अति संवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जनकारी दिए ।
निरीक्षणका क्रममा मतदानस्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवालगायतसँग छलफल गरिएको प्रजिअ थापाले बताए ।
निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत, खानेपानीलगायत आधारभूत कुराको उपलब्धता सम्बन्धी अवस्थाको पनि निरीक्षण भइरहेको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले बताए । कतिपय मतदानस्थल तथा केन्द्रमा सिसिटीभी क्यामेराको व्यवस्था आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए ।
बैतडीका १ सय २९ मतदानस्थलमध्ये सुरक्षाको दृष्टिकोणले ३३ वटा अति संवेदनशील सूचीमा रहेका छन् । यस्तै, २८ वटा मतदानस्थल संवेदनशील र ६८ मतदानस्थल सामान्य सूचीमा रहेका छन् ।
जिल्लामा १ सय २९ मतदानस्थलमा २ सय १४ मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार बैतडीमा १ लाख ५६ हजार ३ सय ७२ जना मतदाता रहेका छन् ।
