चुनावअघि सुदूरपश्चिम पुग्लान् देउवा ?

कांग्रेस जिल्ला सचिव नृप सुनारले देउवालाई डाक्न पहल भइरहेको बताए ।

माघ २८, २०८२

अर्जुन शाह

What you should know

धनगढी — कांग्रेसले ०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । गठबन्धनबीच भागबण्डाका क्रममा अछाम–१ एकीकृत समाजवादीको भागमा परेपछि कांग्रेस कार्यकर्ता रुष्ट बनेका थिए । यस्तो असन्तुष्टिले चुनावी नतिजा प्रभावित हुने आशंका बढेपछि तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा अछाम पुगे ।

त्यहाँका स्थानीय नेता–कार्यकर्तासँग प्रत्यक्ष भेटघाट र संवाद गरे । आफ्ना कार्यकर्तालाई गठबन्धनका साझा उम्मेदवारको पक्षमा एक हुन आग्रह गरे । शीर्ष नेताको उपस्थिति र आग्रहपछि चुनावी माहोल बन्नुका साथै गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

यसपटक सुदूरपश्चिममा कांग्रेसको चुनावी अभियान फरक देखिन्छ । गठबन्धन नभएकाले यसपटक प्रदेशका सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार छन्, तर सुदूरपश्चिममा सधैँ देखिने देउवाको उपस्थिति छैन । 

कतिपय कांग्रेस समर्थक अझै मैदानमा देउवाको प्रतीक्षामा छन् । पूर्वसभापतिनिकट कार्यकर्ताका अनुसार देउवा अहिलेसम्म चुनावी अभियानमा संलग्न नहुने मनस्थितिमा छन् । गृह जिल्ला डडेलधुरामा समेत नजाने ‘मुड’मा देउवा छन् ।

‘हालै भेट्दा उहाँ निकै दुःखी र रुष्ट हुनुहुन्थ्यो,’ देउवा समर्थक नन्दकृष्ण जोशीले भने, ‘उहाँ यसरी नै मौन रहने हो भने सुदूरपश्चिममा कांग्रेसको चुनावी नतिजामै फरक पर्ने देखिन्छ ।’

विगतमा देउवाले धनगढीलाई केन्द्र बनाएर प्रदेशका ९ वटै जिल्लाको चुनावी समीक्षा गरी कार्यकर्ता परिचालन गर्थे । तर यसपाला कांग्रेसको चुनावी अभियान फरक देखिन्छ । कांग्रेस जिल्ला सचिव नृप सुनारले देउवालाई डाक्न पहल भइरहेको बताए । उनले भने, ‘एकपटक आइदिनुपर्‍यो, धनगढीमै बसेर भए पनि प्रदेशस्तरीय भेला गरिदिनुपर्‍यो भनेर सन्देश पुर्‍याइरहेका छौं ।’

बाजुराका कांग्रेस उम्मेदवार जनकराज गिरीले निवर्तमान सभापति देउवाले सार्वजनिक अपिल गरिदिनुपर्‍यो भनेर प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका उम्मेदवार र केन्द्रीय सदस्यले पहल गरिरहेको बताए ।

देउवाको अनुपस्थितिले विपक्षी दलका प्रतिस्पर्धी उम्मेदवारलाई केही न केही लाभ मिल्ने एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले बताए ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully