बैतडीमा जन्ती बस दुर्घटना : बित्थडचिरका ८ परिवारले गुमाए आफन्त

दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका वडा नं–७ का ८ घरका सदस्यको ज्यान गएको भने बाँकी २ घरका सदस्य पनि सख्त घाइते भई उपचाररत छन् । ज्यान गुमाउनेहरुको शनिबार कालंगा नदीमा सामूहिक दाहसंस्कार गरिएको छ ।

माघ २४, २०८२

वसन्तप्रताप सिंह

Janti bus accident in Baitadi: 8 families from Bitthadchir lose relatives

What you should know

बझाङ — बिहीबार साँझ बित्थडचिर गाउँपालिका वडा नं–७ लउँणसा गाउँ रत्यौलीमा रम्दै थियो । १० परिवार ब्राह्मण समुदायको बसोबास रहेको लउँणसामा छिमेकी गाउँबाट आफ्न्त र इस्टमित्र भेला भएका थिए ।

दुलही भित्र्याउने तयारीमा नाचगानमा झुमिरहेका स्थानीयले राति साढे सात बजेतिर खबर सुने, ‘पुर्चौडीमा जन्ती बोकेको बस खस्यो, आठ जनाको मृत्यु भयो ।'

राम रमिताको माहोल एकाएक स्तब्ध भयो ।

‘गाउँका प्रायजसो पुरुषहरु जन्तीसँगै गएका थिए,' स्थानीय शंकरदत्त जोशीले भने, ‘खबर सुने पनि गाउँ भएकाहरु पनि गाडी खोजेर दुर्घटनास्थल तर्फ गयौं ।'

बैतडी पुर्चौडी नगरपालिका– ७ भौन्याँबाट स्थानीय माधव जोशीका लागि दुलही लिन गएका बस दुर्घटनामा परेपछि बझाङ जिल्ला नै शोकमग्न बनेको छ । लउँणसा गाउँका सबै घरले आफन्त गुमाएका छन् । यहाँका १० मध्ये आठ घरले परिवारका सदस्य गुमाएका छन् । बाँकी दुई घरका सदस्य पनि सख्त घाइते भएर उपचाररत छन् । शंकरदत्त भन्छन, ‘हाम्रो त सर्वस्व सकियो, केही बाँकी रहेन ।'

यहाँ बाबु–छोरा, सहोदर दाजुभाइ, भतिज र ज्वाइँसहित १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउने नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन् । उनीहरू दुवै बेहुलाका सहोदर काका हुन् । नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक हुन् भने विष्णुदत्त बित्थ्यडचिरकै महादेव माध्यमिक विद्यालयका शिक्षक हुन् । ज्यान गुमाउने वसन्तराज जोशी दार्चुला कृषि प्राविधिक पदमा कार्यरत थिए । घटनामा ज्यान गुमाउने जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रताला मृतक वसन्तराज जोशीका सहोदर भिनाजु हुन् । मोहनदेव भट्ट र केशवराज भट्ट बुबा–छोरा हुन् । दुलहीका सहोदर भाइ सुशील जोशीले पनि घटनामा ज्यान गुमाएका छन् । ‘जन्ती पर्खिरहेको गाउँ मलामी जानुपर्‍यो,' स्थानीय चक्र अधिकारी भन्छन्, ‘एक दुई जना भए पनि हुन्थ्यो । सिंगै गाउँ नै दुर्घटनामा सकियो ।' उनले गाउँमा कसैले कसैलाई सान्त्वना दिन सक्ने अवस्था पनि नभएको बताए । 

Janti bus accident in Baitadi: 8 families from Bitthadchir lose relatives

दुर्घटनामा परेर ज्यान गुमाउने ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी पनि लउँणसा गाउँकै हुन् । ‘आफन्त नगुमाउने घर कोही पनि रहेन,' बित्थडचिरका स्थानीय तेज बोहराले भने, ‘पूरै गाउँमा बज्रपात भए जस्तो भयो ।' घटनामा बेहुलाका काकाको खुट्टा भाँचिएको छ भने ठूलो बुबा पनि घाइते भएका छन् । दुर्घटनामा १८ महिला र २७ पुरुष गरी जम्मा ४५ जना घाइतेको उद्धार गरिएको थियो । 

दुर्घटनामा परी ज्यान गुमाउनेहरुको शनिबार कालंगा नदीमा सामूहिक दाहसंस्कार गरिएको छ । मृतकहरुलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि बझाङ जिल्लाभरिबाट मानिसहरु त्यहाँ पुगेका थिए । दुर्घटनामा ज्यान गुमाउनेहरु अधिकांश युवा छन् । ‘लउँणसा गाउँले मात्रै होइन हाम्रो पालिकाले नै होनहार व्यक्तिहरु गुमाएको छ,' बित्थडचिर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेम बोहराले भने, ‘यस्तो विपत्तिको कल्पना पनि गर्न सकिँदैन ।' 

घटनास्थलको निरीक्षण गरेका बैतडीका प्रहरी प्रमुख दीपककुमार रायले प्रहरी नियन्त्रणमा रहेका बस चालक वीरेन्द्र बुढाले उकालोमा बसको प्रेसर पाइप फुट्दा दुर्घटना भएको बयान दिएको बताए । उनले भने, ‘बसको मेकानिकल जाँच गर्ने प्रक्रियामा छ । रिपोर्ट आएपछि के कारणले दुर्घटना भएको हो भन्ने पत्ता लाग्छ ।' उनले दुर्घटना स्थलको प्रकृति हेर्दा सडकको घुम्ती छोटो भएको र अत्यधिक भारका कारण नियन्त्रण गुमाएको पनि हुन सक्ने उनले बताए । 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully