दैलोमा आउने उम्मेदवारलाई मतदाताका प्रश्नै प्रश्न

एक निर्वाचन क्षेत्र रहेको जिल्लामा विभिन्न दल र स्वतन्त्र गरी १३ उम्मेदवार छन् । सबै उम्मेदवारले विकास, रोजगारी, सुशासन र समृद्धिको वाचा गरिरहेका छन् ।

माघ २३, २०८२

तर्कराज भट्ट

Voters' questions for candidates who come to the door

What you should know

डडेल्धुरा — फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जिल्लाको चुनावी माहोल तातेको छ ।

यहाँका सडक, चोक र गाउँ–बस्तीमा दल र उम्मेदवारहरु प्रचार–प्रसारमा सक्रिय छन् । आफूले जित प्राप्त गरेमा जिल्ला विकासकालागि सञ्चालन गरिने योजना सुनाइरहेका छन् । 

उम्मेदवारले मत माग्ने अभियान चलाइरहेका बेला मतदाता भने कामप्रति प्रतिबद्ध, जिम्मेवार र स्थानीयसित जोडिएका उम्मेदवारको खोजीमा रहेको बताउँछन् । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा विभिन्न दल र स्वतन्त्र गरी १३ उम्मेदवार छन् । सबै उम्मेदवारले विकास, रोजगारी, सुशासन र समृद्धिको वाचा गरिरहेका छन् ।

मतदाताले भने कुरा भन्दा व्यवहारमा देखिने कामलाई आधार मानेर मतदान गर्ने बताइरहेका छन् । उनीहरु पार्टीको झण्डा र नाम भन्दा उम्मेदवारका एजेन्डा, इमान्दारी र पहुँच कति छ भन्ने प्रश्न गर्न थालेका छन् ।
‘पटक–पटक एउटै नेतालाई जिताएर पठायौं, ठूला कुरा सुनियो, तर अपेक्षित काम भएन,’ अमरगढी–६ की गोविन्दा ताम्राकारले भनिन्, ‘अब पार्टी हेरेर होइन, समस्या बुझ्ने र काम गर्नेलाई मत दिन्छु ।’ यसपटक युवा उम्मेदवारप्रति मतदाताको चासो बढेको उनले बताइन् । 

चुनाव नजिकिँदै जाँदा दल र कार्यकर्ताको भरमा उम्मेदवार घरदैलो मार्फत मतदातासम्म पुगिरहेका छन् । नेताहरू विकासका योजना र भावी सपना सुनाइरहेका छन् । तर, गाउँ–बस्तीमा पुग्ने उम्मेदवारलाई यसपटक मतदाताले प्रश्नको सामना गर्नुपरेको छ । विगतमा के–के काम गर्‍यौं, किन समस्या ज्यूँका त्यूँ छन् भनेर उनीहरुले उम्मेदवारमाथि प्रश्न तेर्स्याइरहेका छन् ।

‘अब भाषण सुनेर मात्रै भोट हाल्ने समय गयो, समस्यामा साथ दिने जनप्रतिनिधि चाहिएको हो,’ पोखराकी गौरीदेवी तिरुवाले भनिन्, ‘डडेल्धुरामा आधारभूत पूर्वाधारका काम अझै समाधान हुन सकेका छैनन् ।’ ग्रामीण भेगमा सडकको अवस्था नाजुक छ । खानेपानी अभाव छ । शिक्षा र स्वास्थ्यमा पहुँच सिमित रहेकाले युवाहरू रोजगारीका लागि विदेशिने गरेका छन् । 

‘विगतमा जसलाई जितायौं, तिनले राम्रो काम गर्न गरेनन्,’ भागेश्वरका डम्बरराज ओझाले भने, ‘यसपटक घोषणापत्र हेरेर, एजेन्डा सुनेर मात्रै भोट हाल्ने सोच बनाएको छु ।’ उनका अनुसार एउटै निर्वाचन क्षेत्रमा सबै दलका उम्मेदवार भएकाले मतदाताले तुलना गर्ने अवसर मिलेको बताए ।

लामो समय यही क्षेत्रबाट चुनाव जित्दै आएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक प्रतिस्पर्धा नरहेकाले फरक माहोल बनेको हो । यसपाली देउवाको बिरासत खोस्न दलबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । 

तर्कराज

Link copied successfully