बैतडी बस दुर्घटनाः २३ जनाको डडेलधुरा अस्पतालमा उपचार हुँदै

बिहीबार राति नै घाइते भएका ३५ जनालाई उपचारका लागि यहाँ ल्याइएको थियो। अस्पतालमा उपचार सुरु नहुँदै पाँच जनाको मृत्यु भएको डडेलधुरा अस्पतालका सूचना अधिकारी टंक पन्तले जानकारी दिए।

माघ २३, २०८२

तर्कराज भट्ट

Baitadi bus accident: 23 people are being treated at Dadeldhura Hospital

डडेलधुरा — बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको बस बिहीबार दुर्घटनामा घाइते भएका २३ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ।

बिहीबार राति नै घाइते भएका ३५ जनालाई उपचारका लागि यहाँ ल्याइएको थियो। अस्पतालमा उपचार सुरु नहुँदै पाँच जनाको मृत्यु भएको डडेलधुरा अस्पतालका सूचना अधिकारी टंक पन्तले जानकारी दिए।

उनका अनुसार सात जना घाइतेलाई थप उपचारका लागि रेफर गरिएको छ भने २३ जनाको अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ। उपचाररत घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबै खतरामुक्त रहेको पन्तले बताए।

जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो। ८ जनाको घटनास्थलमै  मृत्यु भएको थियो । 

दुर्घटनामा घाइतेमध्ये पुर्चौडी नगरपालिकाकी चन्द्रा अवस्थीले आफू गाडीको क्याबिनमा बसेको बताइन्। ‘मोडमा गाडी नघुमाएर माथि ठोक्कियो,’ उनले भनिन्, ‘ड्राइभरले ‘ओट लगाउ’ भनेपछि यात्रुहरूले ओट लगाउन ढु‌ंगा खोज्ने क्रममा गाडी दुर्घटना भयो।’ जन्ती हिँडेको करिब १५–२० मिनेटमै दुर्घटना भएको उनको भनाइ छ। अवस्थी स्वास्थ्य स्वयंसेविका समेत हुन्।

यस्तै, दुर्घटनामा घाइते भएका बझाङको बित्थडचिर गाउँपालिकाका शंकरदत्त जोशीका अनुसार भिरालो सडक र उकालोमा घुम्ने पर्याप्त ठाउँ नहुँदा गाडी ब्याक भएर दुर्घटना भएको हो। दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीले घाइतेहरूको उद्धार गरी अस्पताल लगेका थिए। 

तर्कराज

Link copied successfully