जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिहीबार सिवांगीसहित उनकी बहिनी सन्ध्या र भाई सिशांकलाई अंगीकृत नागरिकता दिएको हो ।
What you should know
डडेलधुरा — सात वर्षसम्म कागजी प्रक्रियामा अल्झिएकी कुस्ती खेलाडी सिवांगी दुबेले अन्ततः नेपाली अंगीकृत नागरिकता पाएकी छन् ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिहीबार सिवांगीसहित उनकी बहिनी सन्ध्या र भाई सिशांकलाई नागरिकता दिएको हो ।
पछिल्लो समय आमाको नामबाट नागरिकता दिने प्रावधान आएपछि एकै परिवारका तीन जनालाई अंगीकृत नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए। ‘जिल्लामा पहिलोपटक आमाको नामबाट अंगीकृत नागरिकता वितरण गरिएको छ,’ उनले भने ।
नेपाल नागरिकता ऐन, २०६३ को चौथो संशोधनअनुसार बाबु विदेशी र आमा नेपाली भएको अवस्थामा दुबेसहित उनका भाईबहिनीले अंगीकृत नागरिकता पाएका हुन् । ‘२०७६ सालदेखि प्रयास गरिरहेकी थिए, बल्ल सफल भए,’ सिवांगीकी आमा राधादेवी रोकाले भनिन्, ‘नागरिकता नभएकै कारण छोरीले पढाईसमेत रोक्नुपर्ने अवस्था आयो ।’
जन्मसिद्ध हुँदा पनि नागरिकताविहीन भएर खेल जीवनमै अवरोध आइरहेको सिवांगीले बताइन् । ‘नागरिकता नहुँदा खेल जीवनमै अवरोध थियो, प्रतियोगिता खेल्न पनि समस्या हुन्थ्यो । अब ढुक्क भएर तालिम र प्रतियोगितामा भाग लिन सक्छु,’ उनले भनिन् । उनले नागरिकताकै अभावमा पढाइ समेत रोकिएको बताउँदै अब शिक्षा पनि अघि बढाउने बताइन् ।
सिवांगीले राष्ट्रियस्तरका कुस्ती प्रतियोगितामा ८ स्वर्ण पदक जितेकी छन् भने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि रजत पदक दिलाएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै उनी फाइनलमा भारतीय खेलाडी पिंकी सेरावतसँग पराजित भएकी थिइन् ।
सिवांगीका बुवा राजु दुबे भारतीय नागरिक हुन् भने आमा डडेल्धुराको अमरगढी नगरपालिका–५ की राधिकादेवी रोका हुन् । विवाहपछि राजु नेपालमै बसोबास गर्दै आएका छन् । हाल परिवार कञ्चनपुरको भीमदत्त नगरपालिका–३ खैरेनीमा बस्दै आएको छ । दुबे परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको छ ।
तीनै सन्तानले नागरिकता पाएपछि आमा राधिकाको खुसी छिन् । उनले जिल्ला प्रशासन कार्यालयप्रति आभार व्यक्त गर्दै भनिन्, ‘अब मेरा छोराछोरीको भविष्य सुरक्षित भयो ।’ सिवांगीसहितका तीन सन्तानलाई बुवाको नामबाट नागरिकता पाउन राधिकाले गृहमन्त्रालयमा समेत निवेदन दिए पनि सम्भव भएको थिए । ‘नागरिकता पाउन भारतदेखि नेपालका विभिन्न कार्यालय चाहर्नु परेको थियो,’ राधिकाले भनिन्, ‘अनेक वाहानाले अल्झिरहेको नागरिकताको काम ७ वर्षपछि भयो ।’
