‘हाम्रो भूमिका अलग–अलग छ, तर गोल सबैको एउटै हो,’ मुख्य निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले भने, ‘सबैले आ–आफ्नो स्थानबाट आचारसंहिता पूर्ण पालना गरेमा निर्वाचन निष्पक्ष र मर्यादित हुनेछ ।’
कञ्चनपुर — मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचासंहिताबारे उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले कञ्चनपुर क्षेत्र नं ३ का उम्मेदवार र दलका प्रतिनिधिसँग छलफल गरेको हो ।
‘अहिले आचारसंहिता उल्लंघनका सूचना आउन थालेका छन्, तर ती अपुष्ट देखिन्छन्,’ आचारसंहिता अनुगमन समितका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले भने, ‘तथ्यपरक कुरा आउँदैन, सही सूचना आउँदैन, खालि उल्लघंन भयो भन्ने मात्रै आउँछ ।’ उनले आचारसंहिता विपरीतका काम भएको भेटिए प्रमाणसहित जानकारी दिनसमेत आग्रह गरे ।
आर्थिक विषयको आचारसंहितासम्बन्धी अनुगमन समितिका संयोजक समेत रहेका कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका प्रमुख कृष्णसिंह धामीले सबै उम्मेदवारले निर्वाचन खर्चका लागि छुट्टै खाता खोलेर त्यसैबाट खर्च गर्नुपर्ने बताए । सहयोग लिने र खर्च गर्ने काम खाताबाटै गर्नुपर्ने उनले बताए ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले आचारसंहिता पालनमा सबैले सहयोग गर्नुपर्ने बताए । ‘हाम्रो रोल (भूमिका) अलग–अलग छ, तर गोल सबैको एउटै हो,’ उनले भने, ‘सबैले आ–आफ्नो स्थानबाट आचारसंहिता पूर्ण पालना गरेमा निर्वाचन निष्पक्ष र मर्यादित हुनेछ ।’
छलफलमा सहभागी उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले आचारसंहित पालनाका लागि प्रतिबद्धता जनाएका छन् ।
