निर्वाचनमा अशान्त हुने बाजुरामा शान्तिपूर्ण चुनाव गराउने चुनौती

हरेक निर्वाचनमा अशान्त हुने बाजुरामा उम्मेदवारहरुले मनोनयन दर्ता गरेको तेस्रो दिनमै आसन्न निर्वाचन शान्तिपूर्ण गर्न भूमिका निर्वाह गर्ने भन्दै ९ बुँदे लिखित प्रतिवद्धता गरेका छन् ।

माघ १५, २०८२

अर्जुन शाह

The challenge of holding peaceful elections in Bajura, which is subject to election unrest

What you should know

धनगढी — धाँधली, बुथ कब्जा, कुटपिट र हत्यासम्मका घटनाले बाजुराको निर्वाचन प्रक्रिया कलंकित हुँदै आएको छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा दुई जना युवाको मृत्यु भयो ।

झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतदाता लखेटिएका, सुरक्षाकर्मीद्वारा दर्जनौं मतदानस्थलमा दिनभर हवाई फायरलगायतका घटना भएर मतदानका दिन बाजुरा दिनभर अशान्त र तनावग्रस्त भएको थियो। त्यसक्रममा २४ मतदान केन्द्र कब्जा भएको प्रमुख दलहरुकै दाबी थियो । 

त्यसबेला मतदानका दिन प्रहरीको गोली लागेर त्रिवेणी नगरपालिका ६ मतदानस्थलमा प्रहरीको गोली लागेर कांग्रेस समर्थित युवा सञ्जीव अयडीको मृत्यु भएको थियो । त्यसै राति सोही नगरपालिका ७ का एमाले समर्थित अनेरास्ववियुका केन्द्रीय सदस्यसमेत रहेका चेतन अयडीलाई स्थानीयले कुटपिट गरी हत्या गरे । 

बुढीनन्दा नगरपालिका ५ स्थित नन्देश्वरी मावि पिपलचौरको मतदान स्थगित भएर पुनः मतदान भएको थियो । जिल्लाका २४ मतदान केन्द्र कब्जा गरिएको भन्दै कांग्रेस–एमालेले आरोपप्रत्यारोप गरे । कांग्रेसले ८ र एमालेले १६ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी गरे । आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा छानबिनका लागि तीन सदस्यीय टोली नै गठन गरेको थियो । मतगणना सुरु हुन १४ दिन लाग्यो ।

०७९ को स्थानीय निर्वाचनका क्रममा पनि बाजुराका विभिन्न मतदान केन्द्रहरु तनावग्रस्त रहे । बुढीगंगा नगरपालिकाका अधिकांश मतदान केन्द्रहरुमा धाँधली भएपछि पुनः मतदान गराइएको थियो । 

०७४ को स्थानीय निर्वाचनमा बाजुरा सबैभन्दा बढी मत खसेको जिल्ला हो । बुढीगंगा नगरपालिकाका केही मतदान केन्द्रहरुमा ९९ प्रतिशत भन्दा बढी मतदान भएको थियो । जिल्लाका अन्य कतिपय मतदान केन्द्रमा पनि सोही हाराहारीमा मतदान भएको तथ्यांक छ । ०७४ कै  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बाजुरामा ८० प्रतिशत मतदान भएको थियो । 

०७९, ०७४ का निर्वाचन मात्र होइन, त्यसअघिका अधिकांश निर्वाचनमा पनि धाँधली र झडपका घटना हुँदै आएका छन् । ०५४ को स्थानीय निर्वाचनमा बुढीगंगामा भएको झडपका क्रममा गोली चल्दा एक जना बालकसहित दुई जनाको मृत्यु भएको थियो ।  

आसन्न निर्वाचनमा पनि बाजुरामा स्वतन्त्र र निष्पक्ष निर्वाचनकै चुनौती रहेको धेरैको बुझाई छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख इकवाल हवारीका अनुसार जिल्लाका ७७ मतदानस्थलमध्ये तीन वटालाई मात्र सामान्यमा राखिएको छ । ६२ अति संवदेनशील, १२ संवदनशील सूचीमा राखिएको छ । 

हरेक निर्वाचन अशान्त हुने बाजुरामा आसन्न निर्वाचनका उम्मेदवारहरुले मनोनयन दर्ता गरेको तेस्रो दिनमै पत्रकार महासंघ बाजुराको अग्रसरतामा आसन्न निर्वाचन शान्तिपूर्ण गर्न भूमिका निर्वाह गर्ने भन्दै ९ बुँदे लिखित प्रतिवद्धता गरेका छन् । 

आसन्न निर्वाचनको प्रतिस्पर्धामा बाजुरामा आठ जना छन् । कांग्रेसबाट जनकराज गिरी, एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश शाह, रास्वपाबाट हेमराज थापा, राप्रपाबाट केशरबहादुर शाही, नेकपा माओवादीबाट भुपेन्द्र विक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक डिसी र स्वतन्त्रबाट उपेन्द्र शाही चुनावी मैदानमा छन् ।

शान्तिपूर्ण निर्वाचनका लागि भूमिका निर्वाह गर्न उनीहरु आठै जनाले साझा प्रतिवद्धता गरेका हुन्  । ‘मतदान प्रक्रियालाई स्वतन्त्र, शान्तिपूर्ण, पारदर्शी बनाउनका प्रतिवद्ध छौं,’ हस्ताक्षरित प्रतिवद्धतापत्रमा भनिएको छ । 
‘निर्वाचनको प्रचारप्रसारदेखि मतदानसम्मका हरेक क्रियाकलाप सौहार्दपूर्ण, मर्यादित, एक–अर्को राजनीतिक दल र उम्मेदवारप्रति सम्मान, आचार संहिताको अक्षरशः पालनालगायतका प्रतिवद्धता गराएका छौं,’ पत्रकार महासंघ बाजुराका अध्यक्ष पदमबहादुर सिंहले भने ‘विगतका निर्वाचनले बाजुराको छवि धुमिल छ । आगामी निर्वाचन स्वच्छ र शान्तिपूर्ण होस् भन्ने जिल्लावासीको चाहना हो ।’

विगतको समीक्षा गर्दै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी प्रमुख इकवाल हवारी बताउँछन् । ‘सुरक्षा योजना त माथिबाटै तय भएर आएको हुन्छ,’ उनले भने ‘शान्तिपूर्ण निर्वाचन गराउन जिल्ला तहमा पनि हामी गम्भीरताका साथ जुटेका छौं ।’  

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully