यसले जंगली क्षेत्रको सदुपयोग गर्दै फलफूल उत्पादन बढाउने र बाँदरका कारण किसानले भोग्दै आएको क्षति न्यूनीकरण गर्ने लक्ष्य लिएको छ।
डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिका–२ मा हिउँदे फलफूल बोटबिरुवा कलमी कार्यक्रम सञ्चालन गरिएको छ।
कृषि ज्ञान केन्द्र डडेल्धुराको आयोजनामा गरिएको उक्त कार्यक्रमले जंगली क्षेत्रको सदुपयोग गर्दै फलफूल उत्पादन बढाउने र बाँदरका कारण किसानले भोग्दै आएको क्षति न्यूनीकरण गर्ने लक्ष्य लिएको छ।
कार्यक्रम अन्तर्गत जंगलमा आफै हुर्किएका 'मेल'का बोटमा नास्पाती जातको बिरुवा कलमी गरिएको हो। कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार जंगली बोटमा फलफूलका कलमी लगाउँदा दोहोरो फाइदा हुने अपेक्षा गरिएको छ। ‘एकातिर स्थानीयले नास्पाती जस्ता फलफूल उपभोग गर्न पाउँछन् भने अर्कोतिर बाँदरका लागि जंगलमै खानेकुरा उपलब्ध हुन्छ,’ उनले भने, ‘जंगलमै पर्याप्त फलफूल पाइएपछि बाँदरले खेतबारीमा पसेर मकै, आलु, तरकारीलगायतका कृषि उपजमा गर्ने क्षति उल्लेखनीय रूपमा घट्छ।’
डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा पछिल्ला वर्षहरूमा बाँदरको समस्या गम्भीर बन्दै गएको छ। विशेषगरी बस्तीनजिकका खेतबारीमा बाँदर पस्दा किसानको मिहनेत क्षणभरमै सखाप हुने गरेको छ। कतिपय किसानले बारम्बार क्षति वेहोर्नु परेपछि खेती नै छाड्न थालेका थालेका छन् । यस्तो समस्या कम गर्न जंगली क्षेत्रमा फलफूल बोटबिरुवा विस्तार गर्ने कार्यक्रमलाई दीर्घकालीन समाधानको एउटा उपायका रूपमा लिइएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्र डडेल्धुराले आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा हिउँदे फलफूल कलमी कार्यक्रमलाई विस्तार गर्दै लैजाने जनाएको छ। केन्द्रका अनुसार किसान र वातावरणमैत्री प्रविधि अपनाउँदै उत्पादन वृद्धि र वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्नु नै यो कार्यक्रमको दीर्घकालीन उद्देश्य रहेको जनाएको छ।
