बैतडीमा तीन वर्षमा १६ कुष्ठरोगी भेटिए

चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्म कुष्ठरोगका ३ जना बिरामी भेटिएका छन्।

माघ १३, २०८२

मोहन चन्द

16 leprosy patients found in Baitadi in three years

बैतडी — बैतडीमा पछिल्लो समय कुष्ठरोगका बिरामी घट्दै गइरहेको पाइएको छ। स्वास्थ्य कार्यालय बैतडीको तीन वर्षको तथ्यांक अनुसार जिल्लामा १६ जना मात्रै कुष्ठरोगका बिरामी रहेका छन्।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी १० जनामा कुष्ठरोग देखिएका थिए । त्यसपछिका वर्षमा बिरामीको संख्या घट्दै गइरहेको देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा ३ जना र चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्म ३ जनामा मात्र कुष्ठरोग देखिएको तथ्यांकमा उल्लेख छ । 

कुष्ठरोग दुई प्रकारको हुने र समयमै उपचार गरे पूर्णरुपमा निको हुने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । ‘पिवी’ कुष्ठरोगको लक्षण देखिएमा ६ महिना औषधि खानुपर्ने र ‘एम्बी’ कुष्ठरोगको लक्षण देखिएमा एक वर्ष औषधि खाए पूर्णरुपमा निको हुने उनले बताए । 

नियमित खोजपड्ताल कार्यक्रम संचालन, समयमै उपचार र समुदायस्तरको जनचेतनाका कारण कुष्ठरोगका बिरामीको संख्या घट्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए कुष्ठरोग पहिचान भएलगत्तै निःशुल्क औषधि उपचार गरिने उनले बताए ।

छालामा सेतो फिक्का वा रातो दाग देखिने, छाला सुक्खा हुनु, दाग विस्तारै ठूलो हुँदै जानु, हातखुट्टा झमझम गर्नु, पोल्नु वा सुन्निनु, आँखाको दुखाई घट्नु जस्ता लक्षण कुष्ठरोगका समान्य लक्षण हुन् । 

कुष्ठरोग पूर्णरूपमा निको हुने रोग भए पनि सामाजिक भ्रम, लाज र डरका कारण कतिपय बिरामी समयमै स्वास्थ्य संस्थामा नआउने समस्या अझै व्याप्त रहेको पाइन्छ । नेपालले सन् २०३० भित्र कुष्ठरोग निवारणको लक्ष्य राखेको छ । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully