‘भोट बैंक’ नबन्ने भन्दै चुनाव बहिष्कारको चेतावनी

पटक-पटक आश्वासन मात्र दिएर झुलाउने गरेको भन्दै स्थानीय नेता/कार्यकर्ताले शनिबार प्रतिनिधिसभाको निर्वाचन बहिष्कार गर्ने सर्वदलीय निर्णय गरेका हुन् ।

माघ ११, २०८२

मेनुका ढुंगाना

Warning of election boycott, saying it will not become a 'vote bank'

What you should know

अछाम — प्रत्येक चुनावमा उम्मेदवारसामु दुःख पीडा बिसाए पनि सुनुवाइ हुन छाडेपछि गाउँका मतदाता निराश छन् । जसले गर्दा चुनावी रौनकले उनीहरूलाई छोएको छैन ।

जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा चुनावप्रति वितृष्णा पोखिरहेका छन्। जिल्लाको दुर्गम रहफ गाउँका बासिन्दा निर्वाचनको कुरा गर्दा आक्रोश पोखिरहेका हुन् ।  

तुर्माखाँद गाउँपालिका–१, रहफका बासिन्दा प्रत्येक चुनावमा आफ्ना माग सुनाउँछन् । माग पूरा गरिदिन हात जोड्छन् । प्रचारका बेलामात्रै गाउँमा देखा पर्ने नेताहरू जितेर गएपछि अनुहार समेत देखाउँदैनन् । पटक-पटक आश्वासन मात्र दिएर झुलाउने गरेको भन्दै स्थानीय नेता/कार्यकर्ताले शनिबार प्रतिनिधिसभाको निर्वाचन बहिष्कार गर्ने सर्वदलीय निर्णय गरेका छन् ।

निरन्तरको उपेक्षाका कारण अछाम–२, रहफका सबै राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले प्रतिनिधिसभा सदस्यको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् । उनीहरूले पाँच बुँदे प्रस्तावसहितको निर्णय वडा कार्यालयमा बुझाएको स्थानीय झलकबहादुर बुढाले बताए । ‘उम्मेदवारलाई गाउँ ‘प्रवेश निषेध’ भन्नु हिंसा होइन,’ उनले भने, ‘शान्तिपूर्ण र लोकतान्त्रिक दबाब हो । रहफबासी चुनाव विरोधी होइनौं । हामी हाम्रा पीडा राज्यलाई सुनाउन चाहन्छौं ।’

अप्ठ्यारो भूगोलका कारण गाउँसम्म पुग्न सहज नभएको एमाले नेता तथा पूर्ववडाध्यक्ष थीरबहादुर रावलले बताए । ‘गत मंसिरमा कर्णाली राजमार्गबाट गाउँसम्म सडकले छोए पनि अहिलेसम्म गाडी चलेका छैनन्,’ उनले भने, ‘न्यूनतम पूर्वाधारबाट हामी बञ्चित छौं ।’ आफ्नै गाउँपालिका केन्द्र पुग्न ३६ घण्टा पैदल यात्रा गर्नुपर्ने उनले बताए । एकै दिनमा पालिकाको केन्द्रसम्म पुग्नु असम्भव जस्तै छ । ‘बयस्क मान्छे १५ देखि १८ घण्टाभित्र पालिकाको केन्द्रमा पुग्न सक्छन्,’ उनले भने, ‘अशक्त, बृद्धबृद्धालाई ३६ देखि ४० घण्टा लाग्छ ।’Warning of election boycott, saying it will not become a 'vote bank'
पाँच बुँदे प्रस्तावसहितका निर्णय वडा कार्यालयमा बुझाउँदै स्थानीय ।

सदरमुकामबाट २ सय किलोमिटर दूरीमा रहफ गाउँ गरेको छ। ‘पैदल यात्राका लागि सुरक्षित गोरेटो बाटो छैन,’ उनले भने, ‘एकातिर जंगलको जोखिमपूर्ण बाटो, अर्कोतिर कर्णाली नदी किनारको बाटो, हिँड्न कठिनाई हुन्छ ।’ सर्वदलीय निर्णय गर्नेमा कांगेस, एमालेका स्थानीय नेताहरूसिहत रास्वपाका पवन रावल, नेकपाका नरेन्द्र लम्साल, दानबहादुर शाहीलगायत थिए ।

स्थानीयका पीडा एकातिर छन् । अर्कोतिर अहिले कांग्रेस, एमाले, रास्वपा, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार र कार्यकर्ता जिल्लाका ग्रामीण भेगमा पुगेर यतिबेला मत मागिरहेका छन् । तर, उम्मेदवारहरू रहफ पुगेका छैनन् । अधिकांश रहफका बासिन्दा उम्मेद्वार नदेखेरै मतदान गर्दै आइरहेका छन् । ‘गाउँका अगुवाले जता भोट दिन भन्छन्, उतै दिँदै आयौं,’ तुर्माखाँद–१ रहफकी ६८ वर्षीया अमृता नेपालीले भनिन्, ‘आँगनमा आएर उम्मेदवारले मत मागेका छैनन् । उम्मेदवारको हुन् भन्ने पनि थाहा छैन ।’

उनका अनुसार गाउँमा खानेपानीको ठूलो समस्या छ। बिजुली र बाटो छैन । अमृता जस्तै धेरै स्थानीयलाई उम्मेदवारका एजेन्डाबारे जानकारी हुँदैन । खानेपानी, स्वास्थ्य, शिक्षा, बिजुली जस्ता आधारभूत सुविधाबाट बञ्चित छन् । ‘हाम्रा कुरा सुन्न कोही आउँदैनन,’ ७५ वर्षीय उज्जले दमाइले भने, ‘नेता र जनप्रतिनिधि टाढा छन् । हामी पनि गुनासो राख्न त्यहाँसम्म जान सक्दैनौं । त्यसैले यसपटक कसैलाई भोट दिन्नौं ।’

रहफका बासिन्दाको मुख्य माग मोटरेबल पुल रहेको छ । अहिलेसम्म कसैले पनि वास्ता नगर्दा चुनाव बहिष्कार गर्नुपर्ने अवस्थामा पुगेको कांग्रेसका वडासभापति धनबहादुर कार्कीले बताए । ‘रहफलाई सधैं भोट बैंकका रूपमा मात्रै प्रयोग गरियो,’ उनले भने, ‘चुनावअघि बाटो, पक्की पुल, गाडी चल्ने आश्वासन दिन्छन् । ०६४ देखि जितेर गएका सांसदसित पटकपटक पुल माग्दै आएका छौं । हाम्रो आवाज कसैले सुनेनन् ।’

०६४ यता यस क्षेत्रबाट सांसद भएका शरदसिंह भण्डारी, भरत साउँद, यज्ञबहादुर बोगटी, पुष्पबहादुर शाह समक्ष पटक-पटक पुल माग गरे पनि सुनुवाइ नगरेको उनले बताए । उनका अनुसार तुर्माखाँद–१ रहफमा ९ सय घरधुरी र २ हजार ३ सय मतदाता छन् । 

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully