डडेल्धुरामा कुष्ठरोगसम्बन्धी अन्तर्क्रिया सम्पन्न

७३ औं विश्व कुष्ठरोग दिवसको अवसरमा ‘कुष्ठरोगको छ ओखती, सामाजिक लान्छना र विभेद मुख्य चुनौती’ भन्ने मूल नारासहित आइतबार स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

माघ ११, २०८२

तर्कराज भट्ट

Leprosy-related interaction held in Dadeldhura

What you should know

डडेल्धुरा — जिल्लामा चार जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । स्वास्थ्य कार्यालय डडेल्धुराले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तीमध्ये एक जना महिला र तीन जना पुरुष रहेका छन् ।

७३ औं विश्व कुष्ठरोग दिवसको अवसरमा ‘कुष्ठरोगको छ ओखती, सामाजिक लान्छना र विभेद मुख्य चुनौती’ भन्ने मूल नारासहित आइतबार स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यालय प्रमुख केशरबहादुर साउदका अनुसार कुष्ठरोग औषधिबाट पूर्ण रूपमा निको हुने भए पनि सामाजिक लान्छना र विभेदका कारण बिरामीहरू समयमै उपचारमा नआउने समस्या अझै कायम छ । 

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुबाट लाग्ने अत्यन्तै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोगी व्यक्तिसँग लामो समयसम्म नजिकको सम्पर्कमा रहँदा मुख्यतया श्वास–प्रश्वासको माध्यमबाट रोग सर्न सक्ने भए पनि सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा अरूलाई नसर्ने साथै समयमै उपचार भएमा कुष्ठरोग पूर्ण रूपमा निको हुने र अपांगता नहुने स्वास्थ्यकर्मीहरू बताउछन् । 

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल सक्रिय बिरामी खोजपडताल कार्यक्रम, कुष्ठरोग रोकथाम कार्यक्रम, जनचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम, असमर्थता व्यवस्थापन तथा पुनर्स्थापना कार्यक्रम, बहुऔषधि व्यवस्थापनका साथै कार्यक्रमको नियमित सुपरिवेक्षण र निगरानीजस्ता क्रियाकलापहरू सञ्चालनमा छन् । यी कार्यक्रममार्फत जोखिममा रहेका समुदायसम्म पुगेर सेवा प्रवाह गरिँदै आएको कार्यालयले जनाएको छ । 

अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले कुष्ठरोग अझै पनि समाजमा हेपाइ र विभेदसँग जोडिने गरेको उल्लेख गर्दै यस्तो सोच परिवर्तन नगरेसम्म रोग नियन्त्रण चुनौतीपूर्ण हुने धारणा राखेका थिए । उनीहरूले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य बढाउँदै जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् । 

तर्कराज भट्ट

Link copied successfully