कांग्रेसका प्रकाश स्नेही, नेकपाका मीनबहादुर कुँवर, रास्वपाका शैलेशकुमार सिंह, नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका भरत मल्ल र नेपाल मजदुर किसान पार्टीका दलबहादुर धामी सबै नयाँ अनुहार हुन् ।
What you should know
बझाङ — फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बझाङमा सात दलका सात जनाको उम्मेदवारी परेको छ । विभिन्न पार्टीबाट उम्मेदवारी दिएकाहरूमा पाँच जना नयाँ अनुहार चुनावी मैदानमा उत्रिएका छन् भने महिलाको उम्मेदवारी शून्य छ ।
बझाङमा नेकपा एमालेका ऐनबहादुर महर र राप्रपाका विश्वप्रकाश जेठाराबाहेक सबै नयाँ अनुहार हुन् । एमालेका महर २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएपछि दोस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । जेठाराको भने चुनावी प्रतिस्पर्धा यो पाँचौं अनुभव हो । उनी २०६४ सालको संविधान सभा निर्वाचनदेखि लगातार प्रत्येक निर्वाचनमा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसका प्रकाश स्नेही, नेपाली कम्युनिस्ट पार्टीका मीनबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेशकुमार सिंह, नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका भरत मल्ल र नेपाल मजदुर किसान पार्टीका दलबहादुर धामी सबै नयाँ अनुहार हुन् ।
कांग्रेसका सहमहामन्त्रीसमेत रहेका स्नेही २०७४ सालमा समानुपातिक सांसद भए पनि प्रत्यक्ष निर्वाचनमा पहिलो पटक होमिन लागेका हुन् भने एमाले र माओवादी मिलेर बनेको नेकपाका जिल्ला अध्यक्षसमेत भइसकेका कुँवरको पनि यो पहिलो चुनावी अनुभव हो । सफल व्यवसायीका रूपमा परिचित रास्वपाका सिंह पनि पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएका हुन् ।
युद्धकालदेखि नै पार्टीमा सक्रिय रहे पनि चन्द नेतृत्वको पार्टीमा रहेर पटक–पटक चुनाव बहिष्कार गरेका भरत मल्ल पनि अहिले जनमत परीक्षण गर्न निर्वाचनमा होमिएका छन् । मजदुर किसान पार्टीका धामी पनि बझाङका लागि नयाँ अनुहार हुन् ।
निर्वाचनको अनुभव लिइसकेका एमालेका महर र नयाँ अनुहारबीचको प्रतिस्पर्धा यसपटक रोचक हुने देखिन्छ । सात जना उम्मेदवार भए पनि कांग्रेस, एमाले, नेकपा र रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने विश्लेषण जिल्लामा गर्न थालिएको छ ।
‘अहिलेको मुख्य प्रतिस्पर्धा भनेको पुराना तीन र नयाँ रास्वपा गरी चार पार्टीकै बीचमा हो,’ जयपृथ्वी क्याम्पसका सहायक क्याम्पस प्रमुख लालबहादुर बोहरा भन्छन्, ‘यीमध्ये एकले बाजी मार्ने देखिन्छ ।’
जेनजी आन्दोलन, सूचना प्रविधिमा भएको विकास लगायतका कारण मतदाता पहिलाजस्तो स्थिर नभएकाले यही दलले जित्छ भन्ने अनुमान गर्न अहिले नै कठिन भएको उनले बताए ।
