संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा हाजिर नभइ बाटोबाट अन्यन्त्र सरुवा गरिदिएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्।
What you should know
बैतडी — बैतडीका दुई स्थानीय तहमा महिनौंदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक–प्रशासनिक कामकाज ठप्प भएको छ ।
जिल्लाका १० स्थानीय तह मध्ये सुर्नया र पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी दुई वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाए पनि गाउँपालिकामा हाजिर नभइ बाटोबाट अन्यन्त्र सरुवा गरिदिएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्। पालिकामा प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको हो ।
सूर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको निर्वाचन आयोगमा सरुवा गरिदिएयता पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ । गत पुस ६ गते मन्त्रालयले सूर्नयामा खगेन्द्र भारतीलाई प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो।
भारती गाउँपालिकामा हाजिर नै नभइ बाटोबाटै जिल्ला निर्वाचन कार्यालय बैतडी सरुवा भएका थिए । पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक काम रोकिएको पालिका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए । ‘पटक पटक मन्त्रालयलाई आग्रह गर्दार् बल्लतल्ल पठाएको प्रमुख प्रशासकीय अधिकृत पनि बाटैबाट सरुवा गरिदिएछ,’ उनले भने, ‘मन्त्रालयले दिनसम्मको दुःख दिएको छ ।’
निमित्त दिन पनि अहिले पालिकामा कार्यरत एक जना सेवाकालीन तालिममा छन् । तालिम पछि पनि उपचारमा जाने भएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत पनि पालिकामा नभएको उनले बताए ।
यस्तै कात्तिक अन्तिम साता मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीको सरुवा बैतडीकै मेलौली नगरपालिकामा गरेपछि पञ्चेश्वर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो । दुई महिना बित्दा पनि मन्त्रालयले प्रशासकीय अधिकृत नपठाएपछि पालिकाको कामकाज ठप्प भएको थियो । प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्न महिना दिनदेखि मन्त्रालय धाइरहेका पालिका अध्यक्ष गोरखबहादुर चन्दले मन्त्रालयमै पुस दोस्रोसाता अनसन बस्ने चेतावनी दिएका थिए ।
अध्यक्ष चन्दको चेतावनीपछि मन्त्रालयले पुस १४ गते बीरसिंह भण्डारीलाई पञ्चेश्वरमा प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो । मन्त्रालयले पठाएको १९ दिन पुग्दा पनि भण्डारी पालिकामा हाजिर नभएको गाउँपालिका अध्यक्ष चन्दले बताए ।
पालिकामा शिक्षा शाखा प्रमुख महामल घटाल अधिकृतस्तर सातौं (शिक्षा) तहका सिनियर कर्मचारी भएकाले उनले आफु निमित्त प्रमुख प्रशासकीय अधिकृत बस्न चाहेका छैनन् । घटालले पुस ९ गते मन्त्रालयलाई लामो समयसम्म एउटै कार्यालयमा रही कार्यसम्पादन गर्नुपर्दा कठिनाइ हुने र प्रभावकारी कार्यसम्पादन गर्न नसकिने हुँदा पालिकाबाट माग भएबमोजिम अन्य कर्मचारीलाई आर्थिक प्रशासनिकको जिम्मा प्रदान गरिदिन अनुरोध गदै पत्र समेत पठाएका थिए ।
‘मन्त्रालयले खठाएको प्रमुख प्रशासकीय अधिकृतलाई न त पालिकामा पठाउन सक्छ न पालिकाको अर्को कर्मचारीलाई जिम्मा नै दिन्छ,’ अध्यक्ष चन्दले भने, ‘यत्रो दिनसम्म कर्मचारी नपठाउँदा मन्त्रालयका सचिवलाई पत्र समेत लेखेर छु ।’
मन्त्रालयकी सचिव पार्वती शर्मालाई अध्यक्ष चन्दले ह्वाट्सएपमा पत्र पठाएर विना विकल्प पालिकाका कर्मचारीलाई सरुवा गरेर तीन महिनासम्म पनि प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन किन गर्न नसकिएको भन्दै प्रश्न गरेका छन् । उनले पत्रमा लेखेका छन्,‘मैले कतिपटक तपाईको मन्त्रालयको दरबारमा विन्ती बिसाउँदा पनि किन ध्यान दिँदैनौं मन्त्रालयमा बसेर अर्ती उपदेश बाँड्ने तपाईजस्ता कर्मचारीले जनताका कामकाज रुक्दा पनि केही व्यवस्थापन गर्न सकिराखेका छैनौं ।’
आफू विदामा रहेकाले अहिलेसम्म मन्त्रालयले सरुवा गरेको जानकारी नपाएको पञ्चेश्वरमा खटाएका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । भण्डारी अहिले सहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालयमा शाखा अधिकृत छन् । भण्डारीले यहाँ आउन नचाहेकाले विभिन्न वाहाना गरेको अध्यक्ष चन्दको आरोप छ ।
