सत्यवादी माविमा आधुनिक प्रशासनिक भवन र छात्रावास बन्दै

करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत सत्यवादी मावि बझाङको सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय हो ।

माघ ३, २०८२

वसन्तप्रताप सिंह

Modern administrative building and dormitory under construction at Satyawadi Secondary School

What you should know

बझाङ — नेपालकै पुरानो मध्ये एक बझाङको सत्यवादी माध्यमिक विद्यालयमा प्रशासनिक भवन र छात्रावास निर्माण सुरु भएको छ ।

भारत सरकारको १३ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा आधुनिक र सुविधायुक्त भवन निर्माणको सिलान्यास काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले संयुक्त गरेका छन्। 

भारतीय दुतावासको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गत निर्माण हुने भवनहरु भूकम्प प्रतिरोधी, बालमैत्री तथा अपांगता मैत्री हुनेछन्। छात्र र छात्राको आवासका लागि छुट्टाछुट्टै दुई वटा भवन र विद्यालय प्रशाशन संचालनको लागि अलग्गै एक गरी तीन वटा भवन डेढ वर्षभित्र निर्माण सम्पन्न हुने जयपृथ्वी नगरपालिकाले जनाएको छ।

भवन सिलान्यास गर्न बझाङ पुगेकाभारतीय दुतावासका प्रथम सचिव सिंहले ११९ वर्षअघि स्थापना भएको र भारतीय नागरिक रामदत्त अवस्थीले स्थापनाकालमा हेडमास्टरको रुपमा अढाई दशक बिताएको विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

‘मानवतावादी राजा जयपृथ्वीले स्थापना गरेको शताब्दी पुरानो यो विद्यालय यस क्षेत्रको शैक्षिक विकासमा पुर्याएको योगदान सम्मान गर्न लायक छ,’ उनले भने, ‘शिक्षा क्षेत्रमा गरिएको लगानी नै समाजको दीर्घकालीन समृद्धिको आधार हो। सत्यवादीमा निर्माण हुन लागेको प्रशासनिक भवन र छात्रावासले बझाङका बालबालिकालाई सुरक्षित र गुणस्तरीय वातावरण प्रदान गर्नेछ भन्ने आशा लिएका छौं ।’ 

उनले सत्यवादीमा निर्माणाधीन भवनले भारत र नेपालबीचको बलियो मित्रता र विकास साझेदारीमा महत्वपूर्ण अर्थ राख्ने बताए । 

सत्यवादी  बझाङको शैक्षिक धरोहर भएको बताउँदै  नयाँ भवन र छात्रावासले यहाँका विद्यार्थीहरूको पढाइमा सहजता ल्याउने र दीर्घकालीन शैक्षिक गुणस्तर सुधार्नमा सहयोग पुग्ने जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले बताए । ‘यो परियोजनाले दुर्गम जिल्लामा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नेछ,’ उनले भने, ‘आधुनिक संरचना निर्माणमा सहयोग गरेकोमा भारतिय दुतावासप्रति नगरपालिका आभारी छ ।’

व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रकुमार खड्काले  लामो समयदेखि विद्यालयले भौग्दै आएको सुरक्षित छात्रावास र प्रशासनिक भवनको अभाव हट्ने बताउँदै भने, ‘दुरदराजका गाउँबाट पढ्न आउने विद्यार्थीहरू महँगोमा कोठा भाडा लिने समस्या अब हट्ने छ । विद्यालयको प्रशाशनिक काम चुस्त हुने र शिक्षकहरूको काममा सहजता आउने छ ।’ 

करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत यो विद्यालय बझाङको सबैभन्दा बढी विद्यार्थी पढ्ने विद्यालय हो । विज्ञान, वाणिज्यशास्त्र, कृषि विज्ञानलगायतका विषय पढाई हुने यो विद्यालयमा जिल्लाभरीका विद्यार्थीहरु अध्ययनरत छन्। 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully