निर्वाचन प्रहरीका लागि बैतडीमा १५ सय ५१ जनाको आवेदन

१ हजार ३७५ जना निर्वाचन प्रहरी माग भएकोमा १ हजार ५ सय ५१ जनाले आवेदन दिएका हुन् ।

माघ ३, २०८२

मोहन चन्द

1,551 people apply for election police in Baitadi

बैतडी — बैतडीमा निर्वाचन प्रहरीमा भर्ना हुन १५ सयभन्दा बढीले आवेदन दिएका छन् ।

१ हजार ३७५ जना निर्वाचन प्रहरी माग भएकोमा १ हजार ५ सय ५१ जनाले आवेदन दिएका हुन् ।

आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकारले निर्वाचन प्रहरी भर्नाका लागि निवेदन माग गरिएको थियो । 

आवेदन दिने अन्तिम दिन बिहीबारसम्म बैतडीमा मागभन्दा २५९ कम आवेदन परेका थिए । आवेदन कम परेपछि थप आवेदनको लागि दुई दिन म्याद थपेको थियो । 

थपेको म्याद आज (शनिबार) कार्यालय समयसम्म बैतडीमा प्रहरी र सशस्त्र प्रहरी गरी दुवै कार्यालयमा निर्वाचन प्रहरीको लागि १ हजार ५ सय ५१ जनाले आवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा निर्वाचन प्रहरीको लागि १ हजार १६५ पुरुष र ३५६ महिलाहरूले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । बीचमा बिदाका दिन र माघेसंक्रान्ति परेकाले आवेदन दिनेहरुको संख्या कम परेकाले थप दुई दिन म्याद थप्नु परेको उनले बताए ।

यस्तै, सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वार्टर बैतडीमा एक सय ३० जनाले निर्वाचन प्रहरीको लागि आवेदन दिएको छ । २३ महिला र १०७ पुरुषले निर्वाचन प्रहरीको लागि आवेदन दिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वार्टर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए ।

आवेदन दिएकाहरूको छनोट मिति यही माघ ५ गतेदेखि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ‍

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully