लेकाली भेगमा हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाइ सुक्न थालेको किसानहरुले बताउँछन्।
What you should know
बैतडी — खडेरीले बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिउँदेबाली सुक्न थालेको छ। यो वर्ष हिउँदे वर्षा नहुँदा पहाडी जिल्लामा गहुँ, जौं, मसुरो, तोरी, केराउलगायतका बाली सुक्न थालेको हो।
माघ सुरु भइसक्दा समेत यो वर्ष हिउँदे वर्षा भएको छैन। पानी नपर्दा खडेरीले हिउँदेबाली सुकेको मेलौली नगरपालिका–६ का किसान चिन्तामणि भट्टले बताए । ‘लामो खडेरीका कारण पाखो जमिनमा लगाएको हिउँदेबाली सुक्दै गएको छ,’ उनले भने, ‘लगाएको बाली सुक्दा खेत बाँझाे जस्ता देखिएका छन्।’
बैतडीका अधिकांश क्षेत्रका किसान पाखो जमिनमै खेती गर्दै आएका छन्। सिँचाइ सुविधा नहुँदा धेरैजसाेले आकाशे पानीकाे भरमा खेती गर्छन्। सिँचाइ पुगेको ठाउँमा पनि खडेरीले गर्दा खोलाको पानी कम भएकाले कुलो लाग्ने खेतको बाली पनि सुक्न थालेको भट्टले बताए। हिउँदेबाली सुक्न थालेपछि यो वर्ष उत्पादन घट्ने चिन्ता किसानलाई छ।
बाली छर्ने समयमा पनि पानी नपरेको हुँदा राम्रोसँग उम्रिन पनि नपाएको पञ्चेश्वर–१ का किसान रमेश सार्कीले बताए। ‘उम्रेको बाली पनि पानी परिदिए राम्रै सप्रिन्थ्यो,’ उनले भने, ‘अहिलेसम्म पानी परेको छैन् तत्कालै पर्ला जस्तो पनि छैन ।’ खडेरीका कारण अधिकांश उम्रेको हिउँदेबाली सुकिसकेको उनले बताए । लेकाली भेगमा हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाइ सुक्न थालेको किसानहरुले बताउँछन्।
बर्खेबाली मकैमा जंगली जनावरले क्षति पुर्याउँदा र हिउँदे बाली खडेरीले सुक्दा जिल्लामा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए।
बैतडीमा २५ हजार ७०० हेक्टर जमिनमा खेती गरिन्छ । जसमा १० हजार ९०० हेक्टर क्षत्रफलमात्र सिंचित छ । जिल्लाको १५ हजार ४ सय हेक्टरमा गहुँ, ७ सय हेक्टरमा जौं, ३ सय हेक्टरमा मसुरो, ३४ हेक्टरमा तोरी र ५ हेक्टर क्षत्रफलमा केराउ खेती गर्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।
