सेनाद्वारा नेपाल एकीकरणकालीन चौतारो पुनर्निर्माण

साके सम्वत १७३७ मा हस्तिदल शाह र उनका छोराले विरगति प्राप्त गरेपछि उनकी श्रीमती सती गएकी थिइन्। महाकाली नदीमा दाहसंस्कार गरिएका उनीहरुको काजकिरिया यसै पिपलमूनिको चौतारोमा गरिएको शिलालेखमा उल्लेख छ।

माघ १, २०८२

मोहन चन्द

Army reconstructs Nepal unification-era square

What you should know

बैतडी — नेपाली सेनाले दशरथचन्द नगरपालिका–४ देवलहाटमा रहेको ऐतिहासिक महत्व बोकेको पिपल चौतारोलाई पुनर्निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको छ ।

सेनाको बैतडीस्थित श्रीबक्स गुल्मले नेपाल एकीकरणकालीन इतिहास बोकेको पिपल चौतारो पुनर्निर्माण सँगै चौतारोमा रहेको शिलालेखलाई व्यवस्थित गरी स्थानीयलाई हस्तान्तरण गरेको हो ।

देवलहाटमा रहेको ऐतिहासिक चौतारो सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत पुनःनिर्माण गरिएको श्रीबक्स गुल्मका गुल्मपति सफल थापाले बताए । ‘ऐतिहासिक चौतारोनजिकै रहेको बामुनी आमा मन्दिर जाने बाटो पनि निर्माण गरेका छौं,’ उनले भने, ‘यस्ता ऐतिहासिक महत्व बोकेका सम्पदाको संरक्षण गर्न सेना सधै तत्पर रहन्छ ।’

६ लाख ९९ हजार ४ सय रुपैयाँ खर्चमा चौतारो र प्रवेशद्वारको गेटसहित एक मिटर चौडा र १०४ मिटर लामो बाटो निर्माण गरिएको उनले बताए । 

नेपाल एकीकरणको समयमा भारतको अल्मोडाबाट ४५ किलोमिटर उत्तरतर्फ गणनाथ मन्दिर नजिक अंग्रेजसँगको लडाइँमा सहादत प्राप्त गरेका हस्तिदल शाह र उनका छोरा नन्दुको काजकिरिया यसै पिपलको रुखमूनि गरिएको यहाँ रहेको शिलालेखमा उल्लेख गरिएको छ । 

साके सम्वत १७३७ मा हस्तिदल शाह र उनका छोराले विरगति प्राप्त गरेपछि उनकी श्रीमती सती गएकी थिइन्। महाकाली नदीमा दाहसंस्कार गरिएका उनीहरुको काजकिरिया यसै पिपलमूनिको चौतारोमा गरिएको शिलालेखमा उल्लेख छ। यस्तो ऐतिहासिक महत्व बोकेको शिलासहितको चौतारो भएकाले नेपाली सेनाले पुनर्निर्माण गरेको गुल्मपति थापाले बताए ।

सेनाले स्थानीयको आग्रह अनुसार जीर्ण चौतारो र बामुनीआमा मन्दिर जाने बाटो निर्माण गरिदिएको हो । स्थानीयको आग्रह स्वीकार गर्दै सेनाले छोटो समयमा पुनर्निर्माण गरी हस्तान्तरण गर्दा खुसी लागेको स्थानीय ईश्वरीदत्त भट्टले बताए । ‘यो चौतारो ऐतिहासिक महत्त्कोसँगै सडक पुग्नुभन्दा पहिले नुनतेलका लागि बझाङ, बाजुरा, अछाम, दैलेख, कालीकोटसम्मका बटुवाको समेत विश्रामस्थल थियो,’ उनले भने, ‘सेनाले निर्माण गरिदिएपछि यो चौतारोको महत्व अगामी पुस्ताले समेत बुझ्दै जानेछन् ।’

पश्चिमी क्षेत्रमा बहादुर शाहाका सेनासँग लामो लडाइँ लड्ने राजाका रुपमा परिचित झुली चन्दले राज गरेको कुल्लेकोट समेत यसै पिपल चौतारो नजिकै छ । पौराणिक महत्व बोकेका सप्तदेवल समेत रहेको देवलहाट क्षेत्रमा पछिल्लो समय पर्यटक समेत आउन थालेका छन्। 

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully