परशुराम मेलाको तयारी पूरा

स्नानघाटहरू सम्याइरहेको र भक्तजनका लागि अस्थायी आवास तथा गाडी पार्किङको व्यवस्थापनका लागि सहजीकरण भइरहेको छ ।

पुस ३०, २०८२

तर्कराज भट्ट

Preparations for Parashuram Mela complete

What you should know

डडेल्धुरा — डडेल्धुराको परशुराम नगरपालिका—५ स्थित महाकाली नदी तटमा अवस्थित पवित्र परशुराम धाममा माघ १ मा विशेष मकर संक्रान्ति मेलाको तयारी पूरा भएको छ ।

सुदूरपश्चिमका विभिन्न क्षेत्रका श्रद्धालु यहाँ स्नान र पूजा–अर्चना गर्न पुग्ने गर्दछन् । यसका अतिरिक्त भारतको उत्तराखण्ड र देशका अन्य भागबाट समेत श्रद्धालु परशुराम धाममा आउने गरेका छन् ।

मेलास्थल परशुरामधाममा व्यवस्थापन र तयारी भव्य रूपमा भइरहेको छ । स्नानघाटहरू सम्याइरहेको र भक्तजनका लागि अस्थायी आवास तथा गाडी पार्किङको व्यवस्थापनका लागि सहजीकरण भइरहेको छ । 

संस्कृतिका जानकार तथा परशुराम क्षेत्रविकास समितिका पूर्वअध्यक्ष कैलाशकुमार पाण्डेयले माघ महिनालाई हिन्दू धर्ममा पुण्य महिनाका रूपमा मान्यता प्राप्त रहेको र यस समयमा गरिने स्नानले विशेष पुण्य प्राप्त हुने विश्वास रहेको बताए । 

परशुराम तीर्थस्थलमा स्नानले गंगा स्नानभन्दा १० गुणा बढी पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको उनले बताए । यही धार्मिक विश्वास र सहज यातायातको पहुँचका कारण काठमाडौं, विराटनगर तथा जनकपुर क्षेत्रका श्रद्धालुहरूसमेत यहाँ आउने गरेका छन् । 

सुदूरपश्चिमका विभिन्न जिल्लाका श्रद्धालुहरू आउने उक्त मेलामा विगतमा विभिन्न १६ वटा शिवालयका देउराहरू मेलास्थलमा ल्याउने भए पनि पछिल्लो समयमा ती ठाउँबाट सम्बन्धित देवताका सामग्रीहरू ल्याएर तीर्थयात्रीहरू आउने गर्छन् । पाण्डेयले दार्चुलाको मालिकार्जुन, अछामको बैद्यनाथधाम लगायत टाढा–टाढाबाट पनि देउरा ल्याउन सकिए मेलाको धार्मिक महिमा अझ बढ्न सक्ने बताए । 

मेला क्षेत्रको व्यापारमा पनि उल्लेखनीय प्रभाव परेको छ । मेलामा सयौं स्टल सञ्चालन हुने र दुई दिनसम्म चल्ने व्यापार गतिविधिमा तिलयुक्त मिठाई (तिलसिक्री मिठाई) प्रमुख बिक्री हुने गरेको छ । अधिकांश व्यापारी भारतबाट आउने गर्छन् । 

मेलास्थल पुग्न भीमदत्त राजमार्गअन्तर्गत डोटीको बुडरबाट जोगबुढा हुँदै परशुराम धाम पुग्ने मार्ग सहज रहेको छ । 

तर्कराज

Link copied successfully