चैनपुरको आगलागीमा १ करोड ८१ लाखको क्षति अनुमान

बिहानको जाडो भगाउन बालेको आगो सिरक उद्योगमा सल्किएको प्रहरीको अनुमान छ।

पुस २५, २०८२

वसन्तप्रताप सिंह

Damage estimated at Rs 18.1 million in Chainpur fire

What you should know

बझाङ — शुक्रबार बिहान बझाङ सदरमुकाम चैनपुरमा भएको आगलागीबाट चार वटा उद्योग, होटल र पसल जलेर ध्वस्त भएका छन्। आगलागीबाट करिब १ करोड ८१ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी बझाङका अनुसार आगलागीबाट किशोर खड्का सिरक डसना उद्योगमा सबैभन्दा बढी क्षति पुगेको छ। उनको उद्योगमा रहेका १ करोड ५६ लाख ६६ हजार बराबरको लत्ताकपडा, धनमाल र उद्योगका मेसिन उपकरण जलेका हुन् ।

यस्तै सिरक उद्योगमा सल्किएको आगोले नजिकै रहेको हिरादेवी कठायतको पसल जल्दा १५ लाख, मेनुका खत्रीको होटलमा ५ लाख र चिरन परियारको पसलमा ५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरी प्रमुख खगेन्द्र धमलाले जानकारी दिए।

आगलागीको कारण स्पष्ट नभए पनि बिहानको जाडो भगाउन बालेको आगोले सिरक उद्योग सल्किएको अनुमान प्रहरीको छ। ‘ताप्न बालेको आगोबाट नै आगलागी फैलिएको हो भन्ने अनुमान छ,’ डिएसपी धमलाले भने, ‘जाडो बढेका कारण अहिले बिहान जथाभावी आगो बालेर ताप्ने र त्यसै छोड्ने गर्दा आगलागीको जोखिम बढेको छ ।’ उनले हिटर वा आगो बालेर ताप्ता असावधानीवश आगलागी हुन सक्ने भएकोले सचेत हुनपर्ने बताए । 

बिहान करिब ९ः३० बजेतिर आगो सल्किए पछि स्थानीय, सेना र प्रहरीको टोलीले झण्डै एक घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो । आगो अन्यत्र फैलिन नदिन छेउछाउका टहराहरु हटाइएको थियो । आगलागी भएको आधा घण्टासम्म पनि दमकल नआइपुगेका कारण बढी क्षति भएको स्थानीयले आरोप लगाएका छन् । ‘दमकल समयमा आएको भए सजिलै आगो नियन्त्रण हुने थियो । यति धेरै क्षति पनि हुने थिएन,’ स्थानीय शैलेन्द्र रोकायाले भने, ‘आगो नियन्त्रण भैसके पछि दमकल पुग्दा धेरै क्षति भयो ।’

सदरमुकाम चैनपुरमा यसअघि भएका आगलागीका घटनामा पनि दमकल तुरुन्त  नपुगेका कारण समयमै आगो नियन्त्रण हुन नसक्दा बढी क्षति हुने गरेको स्थानीयको गुनासो छ । 

‘दमकल चौबिसै घण्टा तयारीमा राख्ने भनेर अघिल्लो पटक आगलागी हुँदा नगरपालिकाले प्रतिवद्धता नै गरेको थियो । तर त्यो प्रतिवद्धतामै सिमित भयो । आज यत्रो क्षति भयो,’ बझाङ उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र खड्काले भने, ‘आगलागी भैसके पछि पानी भर्न जान्छ । जलेर ध्वस्त भैसके पछि घटनास्थलमा पुग्छ । यो त लापरवाहीको हद भयो ।’

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully