संकटमा बाँस र निगालोका चोयाको कला

कच्चा पदार्थको अभाव, बजारमा माग घट्नु र मिहिनेतअनुसारको ज्याला नपाउँदा स्थानीय कैनी र पार्की समुदायको पुर्ख्यौली पेसा लोप हुने सँघारमा पुगेको हो ।

पुस २४, २०८२

तर्कराज भट्ट

The art of bamboo and reed baskets in times of crisis

What you should know

डडेल्धुरा — प्लाष्टिक र अन्य बस्तुबाट बनेका आधुनिक सामानको प्रयोग बढेपछि जिल्लामा परम्परादेखि प्रचलनमा रहेका बाँस, निगालो र बेतका चोयाबाट बुनेका सामग्रीको प्रयोगमा कमी आएको छ।

जिल्लाका अमरगढी–७ पोखरा, तिलाडीगाउँ र कैनी टोलमा चोयाबाट डोको, सुप्पो, नाङ्लो, भकारी, छाप्रो जस्ता घरायसी सामग्री बनाएर स्थानीयले गुजारा चलाउँदै आएका थिए। यस्ता सामग्रीको माग घट्दै गएपछि सीप हराउँदै गएको छ भने स्थानीयको जीविकोपार्जन पनि प्रभावित भएको छ।

कच्चापदार्थको अभाव, बजारमा माग घट्नु र मिहिनेतअनुसारको ज्याला नपाउँदा स्थानीय कैनी र पार्की समुदायको पुर्ख्यौली पेसा लोप हुने सँघारमा पुगेको हो । दशकअघिसम्म गाउँमा खेतीपाती, अन्न भण्डारण, ढुवानी र दैनिक कामकाजमा अनिवार्य यस्ता सामग्री प्रत्येक घर–आँगनमा देखिन्थे । यहाँ डोकोमा मल बोक्ने, भकारीमा अनाज राख्ने, सुप्पो र नाङ्लोमा अन्न केलाउने गरिन्थ्यो । अहिले यस्ता सामग्रीको प्रयोग घटेको हो। 

जिल्लामा दलित समुदायले चोयाबाट घरायसी सामग्री बनाएर जीविका चलाउँदै आएका थिए ।  माग नै नभएपछि श्रमको मूल्य घटेको छ । साथै नयाँ पुस्तामा सीप हस्तान्तरण हुन सकेको छैन । अहिले ती गाउँका धेरै युवा वैदेशिक रोजगारी र अन्य पेसातर्फ आकर्षित भइसकेका छन् । 

अमरगढी–७ पोखराका कमल कैनी चोया कलाका अनुभवी हुन् । बाबु–बाजेबाट सिकेको सीपलाई उनले करिब चार दशकदेखि निरन्तर दिइरहेका छन् । पहिले गाउँवरपर बाँस र निगालो सहजै पाइने गरेको उनले बताए । अहिले कच्चापदार्थ नै जिल्ला बाहिरबाट ल्याउनु पर्ने उनले बताए। बैतडी, बझाङ र डोटीबाट निगालो ल्याएर डोको, सुप्पो, छाप्रो र भकारी बनाउने गरेको उनले सुनाए।

उनका अनुसार एउटा निगालो किन्न ५ देखि १० रुपैयाँ खर्च लाग्छ । एउटा डोको बनाउन करिब २० वटा निगालोको प्रयोग हुन्छ । यसरी तयार भएको डोको तीनदेखि पाँच सय रुपैयाँमा बिक्री हुन्छ। दिनभरको मेहनतपछि पनि आम्दानी सीमित हुने भएकाले यो पेशाले परिवारको खर्च धान्न कठिन हुँदै गएको उनले बताए।

उनी खेतीपातीको सिजनमा गाउँ–गाउँ डुलेर सामग्री बेच्न बाध्य छन्। उनलाई तिलाडी वरपरका गाउँमात्र होइन, कैलाली र कञ्चनपुरसम्म पुगेर डोको–सुप्पो बेच्नु पर्ने अवस्था छ। अमरगढी नगरपालिकाले सञ्चालन गरेको सीप हस्तान्तरण तालिममा एकपटक कैनी प्रशिक्षक थिए। तालिममा नयाँ पुस्ताको सहभागिता न्यून भएको उनले बताए ।  

तिलाडीकै ६६ वर्षीय गणेश पार्कीले पनि वर्षौदेखि निगालो र बाँसबाट डोको, छाप्रो र मुढा बनाउँदै आएका छन् । पहिले घर र  नजिक बजारमा सामग्री बिक्री हुने गरेको उनीसित सम्झना छ । ‘अहिले दिनभर गाउँ–गाउँ डुलेर पनि पहिले जस्तो व्यापार हुँदैन,’ उनले भने, ‘मिहिनेतअनुसारको प्रतिफल नपाउँदा पेसा नै संकटमा पर्‍यो ।’

दिनभरिमा बढीमा दुई वटा डोको बुन्ने गरेको उनले बताए । खेती किसानी गर्नेको संख्या घटेकाले पनि बजार खुम्चिएको उनले बताए । परम्परागत कला संकटमा पर्नुको अर्को कारण कच्चा पदार्थको अभाव हो ।

‘स्थानीय सरकार र सम्बन्धित निकायले परम्परागत सीप संरक्षण र प्रवर्द्धनका लागि पहल नगरेका भने होइनन्,’ अमरगढी–७ का वडाध्यक्ष खडकबहादुर बोहराले भने, ‘कैनी समुदायको परम्परागत सीपलाई जोगाउन तालिम दिइएको छ र आवश्यक सामग्रीमा सहयोग गरिएको छ ।’ 

तालिमपछि उत्पादित सामग्रीलाई बजारसँग जोड्न नसक्नु समस्या बनेको उनले बताए । घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका उद्यम विकास सहजकर्ता तथा सूचना अधिकारी किशोर कैनीका अनुसार परम्परागत सीप पुस्तान्तरणका लागि स्थानीय तहबाट आएका मागका आधारमा तालिम सञ्चालन हुँदै आएका छन् ।

तर्कराज

Link copied successfully