आशापुरस्थित मुक्त कमैया बस्तीमा अहिले घरघरै च्याउ उत्पादन गरिरहेका छन्। च्याउ बेचेर बस्तीका हरेक परिवारले चार/पाँच महिनामा डेढ/दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन्।
What you should know
कञ्चनपुर — बेदकोट नगरपालिका–३ आशापुरस्थित मुक्त कमैया बस्तीका हरेक घर अगाडि एक/दुई बाँस र खरले बनाएका छाप्रा प्लाष्टिकले ढाकिएका छन् ।
स्थानीयले कात्तिकदेखि घर छेउमा यस्ता संरचना बनाएका हुन् । आशापुरस्थित मुक्त कमैया बस्तीमा अहिले घरघरै च्याउ उत्पादन गरिरहेका छन्। च्याउ बेचेरै मुक्त कमैया परिवारले चार/पाँच महिनामा डेढ/दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन्।
रामदुलारी डगौंरा च्याउ उत्पादन गर्ने मध्येकी एक हुन् । उनी १५ वर्षदेखि च्याउ उत्पादन गरेर बिक्री गरिरहेकी छिन् । उनले च्याउ उत्पादनकै लागि दुई वटा छाप्रा बनाएकी छिन् । एउटामा दुई/अढाई सय पोका च्याउ राख्छिन् । ‘एक लट त काक्तिकमै राखेर बेचिसके,’ डगौंराले भनिन्, ‘अब दोस्रो लटको उत्पादन बेच्न सुरु गरेकी छु ।’ उनी सबेरै च्याउको टोरी टाउकोमा राखेर ६ किलोमिटर टाढा महेन्द्रनगर बजार पुग्छिन् । दिउँसोसम्म महेन्द्रनगरमा च्याउ बिक्री गरेर घर फर्किन्छिन्।
डगौंराले कात्तिक पहिलो साता च्याउ राखेकी हुन् । उनले मंसिरदेखि उत्पादन सुरु भर बिक्री गर्न थालेकी हुन् । दैनिक चार/पाँच हजारको बिक्री भएको उनले बताइन् । एक लटमा ८० हजारसम्म बचत भएको उनले बताइन्। अहिले दोस्रो लटको उत्पादन भइरहेको छ । यसबाट पनि पहिलो लटकै हाराहारी आम्दानी हुने उनको अपेक्षा छ।
आशापुरकी रामकुमारी रानाले पनि पहिलो लटमा २५ पोका मात्रै राखेकी थिइन्। त्यतिबेला राम्रो उत्पादन भएपछि अहिले २ सय पोका राखेकी छिन् । उनले धनगढीबाट बिउ ल्याएर राखेकी हुन् । छाप्रो बनाउनेदेखि, बिउ र पराललगायत खरिद गर्दा २५ हजार हाराहारी खर्च भएको उनले बताइन् । खर्च कटाएर ७०/८० हजार आमदानी हुने उनको अनुमान छ।
अहिले उनले पनि दैनिक चार/पाँच हजारको च्याउ बिक्री गरिरहेकी छिन् । फागुनसम्म उत्पादन हुने उनले बताइन् । ‘हाम्रो गाउँ च्याउ खेतीका नामले चिनिएको छ,’ घुम्मन रानाले भने, ‘यहाँका सबै परिवार च्याउ सँगै तरकारी खेतीमा पनि लागेका छन् ।’
उनका अनुसार मुक्त कमैया बस्तीका २२ मध्ये १६ परिवार च्याउ उत्पादनमा लागेका छन् । उनीहरु सबैले ५ कठ्ठदेखि १५ कठ्ठासम्ममा बेमौसमी तरकारी खेती गरेका छन्। राना अहिले काक्रा, लौका, फर्सीलगायतका बीउ रोप्नमा व्यस्त छन्। फागुन अन्तिमसम्म उत्पादन हुने गरी उनले लहरे तरकारी खेती गरिरहेका हुन् । फाुगनसम्म उत्पादन गर्न सके राम्रो मूल्य पाइने उनी बताउँछन् ।
