सिम्बा खोजिदिनेलाई १ लाख १० हजार पुरस्कार !

काठमाडौंबाट साथीहरूसँग महेन्द्रनगर घुम्न आएकी अनिता कार्कीले सिम्बालाई पनि सँगै ल्याएकी थिइन् । सधैं आफूसँगै राख्ने गरेकी सिम्बा एक दिन ढोका खुलै रहँदा बाहिर निस्किएको थियो ।

पुस २४, २०८२

भवानी भट्ट

110,000 reward for finding Simba!

What you should know

कञ्चनपुर — अटोमा कुकुरको फोटोसहितको ब्यानर, सँगै माइकिङ।‘सिम्बा, तिमी कहाँ छौ ? मेरो बच्चा…’यस्तै शब्द दोहोरिँदै माइकिङ भइरहेको थियो : ‘भेटाइदिनेलाई २० हजार रुपैयाँ पुरस्कार दिइनेछ।’

सिम्बा अर्थात् कुकुरको खोजीका लागि एक महिलाले देखाएको यस्तो मिहिनेतले धेरैलाई अचम्मित बनायो। दुई–तीन दिनसम्म सिम्बा नभेटिएपछि ती महिलाले पुरस्कार रकम बढाउँदै १ लाख १० हजार रुपैयाँ पुर्‍याइन्। त्यसपछि सिम्बा पनि भेटियो।

कुकुरप्रति यति गहिरो प्रेम गर्ने महिला हुन्—काठमाडौं बुद्धनगरकी अनिता कार्की। उनी बुद्धनगरमा किराना पसल सञ्चालन गर्छिन्। महेन्द्रनगरमा साथीहरूसँग घुम्न आएकी कार्कीले सिम्बालाई पनि सँगै ल्याएकी थिइन्। सधैं आफूसँगै राख्ने गरेकी सिम्बा एक दिन ढोका खुलै रहँदा बाहिर निस्किएको उनले बताइन्।

पुस ११ गते हराएको सिम्बा ११ दिनपछि भीमदत्त नगरपालिका–११ गोबरियामा फेला परेको हो। हराएकै दिनदेखि कार्कीले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत भेटाइदिनेलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेकी थिइन्। दुई–तीन दिनपछि पुरस्कार रकम बढाएर १ लाख १० हजार पुर्‍याइन्। अटो भाडामा लिएर उनले माइकिङसमेत गरिन्। पाँच दिनसम्म गरिएको माइकिङमा दैनिक करिब ४ हजार रुपैयाँ खर्च भएको उनले बताइन्।

‘एक जना बहिनीले सडकमा हिँडिरहेको देखेपछि 'सिम्बा' भनेर बोलाइन्। नजिक आएपछि मलाई खबर गरिन्,’ कार्कीले भनिन्, ‘धेरै मिहिनेतपछि खोज्न सफल भएँ।’

एउटा कुकुर खोज्न गरिएको लगानी र मिहिनेतले धेरैलाई कार्कीको कुकुरप्रेमबारे जान्न उत्सुक बनाएको छ। यो विषय अहिले सामाजिक सञ्जालमा पनि निकै भाइरल बनेको छ।

कार्की र सिम्बाबीचको सम्बन्ध ६ वर्ष पुरानो हो। सिम्बा दुई महिनाको हुँदा स्थानीय बालबालिकाले उनको पसलमा ल्याएर छाडेका थिए। त्यसपछि उनले सिम्बालाई पाल्न थालिन्।

‘त्यही बेलादेखि सिम्बा मेरो परिवारको सदस्यजस्तै बनेको छ,’ उनले भनिन्, ‘मानिसको पनि श्वास–प्रश्वास चल्छ, सिम्बाको पनि चल्छ। ऊ पनि एउटा प्राणी हो।’

‘मैले छोरीजत्तिकै माया सिम्बालाई पनि गर्छु,’ कार्की भन्छिन्, ‘यो मेरो छोरा हो।’ उनले सिम्बालाई मात्र होइन, गाउँ–टोलका सबै कुकुरलाई माया गर्छिन्। उनीहरूलाई खाना खुवाउनेदेखि औषधोपचारसम्म गर्ने गर्छिन्। त्यसैले उनी घरबाहिर निस्किनेबित्तिकै कुकुरहरूको लाइन लाग्ने गरेको देखिन्छ।

कार्कीले सिम्बा भेटाएर खबर गर्ने किशोरीलाई छिट्टै औपचारिक कार्यक्रम गरी घोषणा गरिएको पुरस्कार रकम प्रदान गर्ने बताएकी छिन्। आफूले भनेको रकम पूरा रूपमा उपलब्ध गराउने उनले स्पष्ट पारिन्।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully