पूर्वी नेपालको पाँचथरमा जन्मिएर झापामा हुर्किएकी ज्वालाले आफूलाई पिछडिएको कोटामा पार्न अछामबाट नागरिकताको प्रतिलिपि लिएपछि उनीमाथि प्रश्न उठेको छ ।
What you should know
अछाम — पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद पक्का गर्न रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौला (टीका) ले अछाम जिल्लाबाट नागरिकताको प्रतिलिपि लिएकी छन् ।
पिछडिएको जिल्लाको प्रतिनिधित्व गर्दै उनी समानुपातिक सांसदको उम्मेदवार सूचीमा छिन् । अछामको मंगलसेन नगरपालिका–५ का हिमाल उपाध्यायसँग ज्वालाले १२ वर्षअघि विवाह गरेकी थिइन् । कामको सिलसिलामा जापान पुगेकी उनी उतैबाट अभियन्ताका रूपमा स्थापित भइन् । उनका श्रीमान् हिमाल भने नेपालमै थिए ।
पूर्वी नेपालको पाँचथरमा जन्मिएर झापामा हुर्किएकी ज्वालाले आफूलाई पिछडिएको कोटामा पार्न अछामबाट नागरिकताको प्रतिलिपि लिएपछि उनीमाथि प्रश्न उठेको छ– अछामको भूगोलसम्म नबुझेको व्यक्तिले कसरी पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्न सक्छ ?
जवाफमा ज्वाला भन्छिन्, ‘म ४१ दिनकी सुत्केरी हुँदा अछामका केही दुर्गम भेगमा पुगेकी छु । यहाँको जनजीवनलाई नजिकबाट नियालेकी छु । मैले अछामको तर्फबाट पिछडिएको क्षेत्रबाट दाबी नगरेको भए उम्मेदवार अन्य जिल्लाले पाउँथ्यो ।’
उनले पार्टीको आन्तरिक चुनावमा पिछडिएको कोटाबाट समानुपातिक सांसदको उम्मेदवारका लागि छनोट हुँदा सबैभन्दा धेरै मत पाएको बताइन् । ‘महिला क्लस्टरमा म दोस्रो नम्बरमा छु । पिछडिएको कोटाबाट पहिलो नम्बरको सूचीमा परेकी छु । पार्टीभित्रकै आन्तरिक चुनावमा सबैभन्दा धेरै मत मैले पाएकी छु,’ उनले भनिन् ।
आफूले झापाको क्षेत्र नम्बर–५ बाट प्रत्यक्ष चुनाव लड्ने मनसाय भए पनि त्यसबाट पछि हटेको उनले बताइन् । ‘केपी ओलीको क्षेत्रबाटै प्रत्यक्ष चुनाव लड्ने योजना बनाएकी थिएँ,’ ज्वालाले भनिन्, ‘एक मतले भए पनि हार–जितमा फरक पर्छ भन्ने सुझाव पार्टीका नेता र परिवारबाट आयो ।’ अन्ततः उनले पिछडिएको क्षेत्र रोजेको बताइन् ।
उनले हालै अछाम जिल्लाबाट नागरिकताको प्रतिलिपि लिनुलाई उनको अधिकारले पाउने हकका रूपमा मात्र हेरिएको छैन । सामान्य प्रशासनिक प्रक्रियाजस्तो देखिने उनको यो कदमलाई अछामको राजनीतिक वृत्तमा फरक ढंगले हेरिएको छ । किनकि ज्वालाका श्रीमान्को पारिवारिक पृष्ठभूमि लामो समयदेखि अछामको एमाले राजनीतिसँग गाँसिएको छ ।
ज्वालाका कान्छा ससुरा शिवप्रसाद उपाध्याय नेकपा (एमाले) अछाम जिल्ला अध्यक्ष हुन् । त्यस्तै, उनका जेठा ससुराकी बुहारी अर्थात् ज्वालाकी जेठानी सरिता उपाध्याय एमालेबाट मंगलसेन नगरपालिकाको पूर्व उपप्रमुख भइसकेकी छन् ।
‘एकै परिवारमा ससुरा एमालेका जिल्ला अध्यक्ष, बुहारी रास्वपाकी केन्द्रीय सदस्य भएको विषयमा सबैको चासो देखिन्छ । उहाँहरूसँग मेरो सम्बन्ध राम्रो छ । उहाँहरुकै आशीर्वाद लिएर हिँडेको छु । तर अब भने हामी आ–आफ्नो कोर्समा अघि बढिसकेका छौँ,’ उनले भनिन्, ‘म राजनीतिक चेत भएको मान्छे हुँ । राजनीति विरासत भएको परिवारमा आएको छु । यसले मलाई धेरै सहज बनाएको छ । परिवारको साथले नै यो सबै सम्भव भएको हो ।’
