पश्चिम तराईमा शीतलहर अझै लम्बिने संकेत

पुस महिनाको तेस्रो साता सकिइसग्दा समेत हिउँदे वर्षा हुन नसकेकै कारण शीतलहरको प्रभाव अझ केही समय लम्बिने संकेत भएको कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख इन्जिनियर सञ्जय शाह बताउँछन् ।

पुस २३, २०८२

चित्रांग थापा

Signs of further extension of cold wave in Western Terai

What you should know

धनगढी — सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलगायत पश्चिम तराई क्षेत्रमा शीतलहरको प्रभाव अझै कायमै रहने जल तथा मौसम विज्ञान कार्यालयका अधिकारीहरूले बताएका छन् ।

पुस पहिलो सातादेखि नै पश्चिम तराई क्षेत्र शीतलहरको चपेटामा परेको हो । अत्यधिक चिसोसँगै शीतलहरका कारण यहाँको जनजीवन कष्टकर हुनुका साथै हिउँदे तरकारी र तोरीबालीसमेत प्रभावित हुन थालेको छ ।

‘दिउँसोतिर फाट्टफुट्ट केही समय घाम झुल्किएको देखा परे पनि शीतलहरको प्रभाव भने माघसम्मै लम्बिने सम्भावना देखापरेको छ,’ कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख इन्जिनियर सञ्जय शाहले भने, ‘हिउँदे वर्षा नभएकै कारण शीतलहरको प्रभाव लम्बिँदै गएको हो ।’ उनका अनुसार पश्चिमी वायुको प्रभाव देखा नपरेका कारण हिउँदे वर्षा हुन नसकेकाले पश्चिम तराईसँगै देशका अन्य तराई क्षेत्रमा पनि शीतलहर लम्बिने सम्भावना बढेको हो । 

पुस महिनाको तेस्रो साता सकिइसग्दा समेत हिउँदे वर्षा हुन नसकेकै कारण शीतलहरको प्रभाव माघसम्म लम्बिन लागेको अनुमान गरिएको इन्जिनियर शाह बताउँछन् । ‘यो समयमा पानी नपर्नु नै शीतलहर प्रभाव बढ्नुको प्रमुख कारण हो,’ उनले भने, ‘हालको अवस्था एक किलोमिटर दूरीसम्म कुहिरो र पाँच किलोमिटरसम्म सडकसमेत नदेखिने गरी हुस्सुले बिहान र साँझ पूरै ढाकेको हुन्छ र सिमसिमे शीत झरिरहेको हुन्छ ।’

कैलाली र कञ्चनपुरको न्यूनतम तापक्रम पनि घटेर पुस महिना सुरु भएयता ६ देखि १२ डिग्री सेल्सियसको हाराहारीमा रहेको प्रमुख शाहले जानकारी दिए । एकझरी पानी परेर आकाश छर्लंग हन सके शीतलहरको प्रभाव पनि घट्दै जाने उनी बताउँछन् । तराईमा हिउँदे याममा पश्चिमी वायुको प्रवेश भएमा मात्रै वर्षा हुने गरेको छ । तराई क्षेत्रसँगै सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि हिउँदे वर्षा भएको छैन । 

‘यो जलवायु परिवर्तनको पनि असर मान्न सकिन्छ, हिउँदमा उच्च लेकाली भेगमा हिउँ र तराईमा पानी परे हिउँदे बालीनाली पनि सप्रिन्छ, चिसो र शीतलहर बढ्दै गए तरकारी उत्पादनमा ह्रास आउँछ,’ इन्जिनियर शाहले भने । 

शीतलहरले तोरीबाली र हिउँदे तरकारी प्रभावित हुने

यतिबेला कैलाली र कञ्चनपुरमा लहलहाउँदो तोरी खेतीले खेतबारी पहेँलपुर भएको छ । तर एक महिनादेखिको चिसो र शीतलहरले तोरीसँगै हिउँदे तरकारी बाली प्रभावित हुन थालेको छ । तरकारीहरूमा सबैभन्दा बढी आलुमा बाक्लो शीतले डढुवा रोग लाग्ने खतरा उत्पन्न भएको छ ।

‘यतिबेला तराई क्षेत्रको मुख्य बाली तोरी हो,’ कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भने, ‘तोरीसँगै तरकारीमा आलु, टमाटर, खुर्सानी लगायतलाई लामो अवधिको चिसो र शीतलहरको प्रकोपले प्रभावित गर्न थालेको छ ।’ उनका अनुसार बाक्लो शीत खसेर तोरीको बोट ढल्ने र ढलेको तोरीमा ढुसी लाग्ने खतरा हुने देखिन्छ । साथै आलु लगायतका हिउँदे तरकारी बालीलाई अहिलको अत्यधिक चिसोबाट जोगाउनै समस्या परेको उनले बताए ।

कृषि अधिकृत चौधरीका अनुसार केराखेतीका लागि अत्यधिक पानी र तुषारोले बढी क्षति पुर्‍याउने गरेको छ । ‘तुषारो त केराको बिरुवाले सहनै सक्दैन,’ उनले भने, ‘हालका वर्षमा कैलाली र कञ्चनपुरमा ठूलो परिमाणमा केराखेती भइरहेको छ, अहिलको प्रतिकूल मौसमले केरा खेतीलाई पनि क्षति पुग्ने देखिएको छ ।’

अत्यधिक चिसो र शीतलहरका कारण बालबालिका र वृद्धवृद्धाहरू बिरामी हुन थालेका छन् । दिनहुँ ज्यालादारी काम गरेर गुजारा चलाउने निम्न आय वर्गका बासिन्दा काम नपाएर बिचल्लीमा पर्न थालेका छन् भने व्यापार व्यवसाय पनि प्र्रभावित भइरहेको छ । चिसो बढेकै कारण यहाँका कतिपय स्थानीय तहले पुस २५ सम्म विद्यालयको पठनपाठनसमेत बन्द गरेका छन् ।

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully