सेती प्रादेशिक अस्पतालमा नयाँ बिरामीका लागि डायलासिस सेवा बन्द, बिरामी मर्कामा

डायलासिस मेसिन, दक्ष जनशक्ति र भवनको अभावका कारण सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि इमर्जेन्सी बाहेक नयाँ बिरामीको उपचार बन्द गरेको घोषणा गरेको छ।

पुस २३, २०८२

टेकराज जोशी

Dialysis service closed for new patients at Seti Provincial Hospital, patients in distress

What you should know

धनगढी — डायलासिस सेवा लिने बिरामीको चाप अत्यधिक बढेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नयाँ भर्ना हुन आउने बिरामीलाई डायलासिस सेवा दिन नसक्ने जनाएको छ।

अस्पताल प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इमर्जेन्सी बाहेकका नयाँ नियमित बिरामीलाई डायलासिस सेवा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले आवश्यक उपकरण, दक्ष जनशक्ति र भवन संरचनाको अभावका कारण नयाँ बिरामीलाई सेवा दिन नसकिएको बताए। उनका अनुसार हाल अस्पतालमा २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीलाई सेवा दिइँदै आएको छ।

'इमर्जेन्सी बिरामीलाई २४ सै घण्टा सेवा दिइरहेका छौँ। तर नयाँ बिरामी राख्ने न त ठाउँ छ, न त जनशक्ति र उपकरणले नै भ्याउँछ,' डा पाण्डेले बताए।

एक जना सूचीकृत बिरामीले हप्तामा दुई पटक डायलासिस गराउनुपर्ने हुन्छ। यही कारणले सेवा दिँदै जाँदा कतिपय दिन राति १० बजेसम्म काम गर्नुपरेको अस्पताल प्रशासनले जानकारी दिएको छ। बिरामीको चाप दिनानुदिन बढ्दै गएपछि बाध्य भएर सूचना निकालेर सेवा बन्द गर्नुपरेको डा पाण्डेले बताए।

यस विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइए पनि सुनुवाइ नभएपछि यस्तो निर्णय लिनुपरेको उनले बताए।

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पताल हो। प्रदेशका नौ वटै जिल्लाबाट मिर्गौला रोगी बिरामी यहाँ उपचारका लागि आउने गर्छन्।

डायलासिस फाँटका इन्चार्ज शेरबहादुर महतराका अनुसार दैनिक कम्तीमा चार जना बिरामी सेवा नपाई फर्किन बाध्य छन्। 'हाल यस फाँटमा जम्मा १४ जना स्वास्थ्यकर्मी छौँ। बिहान ५ बजेदेखि राति ११ बजेसम्म सेवा दिइरहेका छौँ। एउटा बिरामीको डायलासिसपछि मेसिनलाई कम्तीमा आधा घण्टा सरसफाइ र ‘रेस्ट’ दिनुपर्छ, त्यसैले चाहेर पनि नयाँ बिरामी थप्न सकिने अवस्था छैन,' उनले बताए।

महतराका अनुसार कम्तीमा ५० वटा डायलासिस मेसिन र सोही अनुपातमा जनशक्ति उपलब्ध भए मात्र नयाँ बिरामीलाई सेवा दिन सकिने अवस्था बन्छ।

अस्पतालले नयाँ बिरामीको उपचार रोक्दा टाढा–टाढाबाट सेती प्रादेशिक अस्पताल पुगेका मिर्गौला रोगीहरू उपचार नपाई फर्किन बाध्य भएका छन्।

धनगढी–५ तारानगरकी अमृता विष्टले अस्पतालले डायलासिस गर्न नसकिने भन्दै फाइल नै नलिएको गुनासो गरिन्। 'हप्तामा दुई पटक डायलासिस गराउनुपर्ने रहेछ। अब कहाँ जाने भन्ने चिन्ताले सताएको छ,' उनले दुःखेसो पोखिन्।

टेकराज जोशी जोशी कान्तिपुरका धनगढी संवाददाता हुन्।

Link copied successfully