डोटीमा महिला मतदाता बढी

निर्वाचन कार्यालयका अनुसार १ हजार ८ सय ६२ जना नयाँ मतदाता थपिएका छन्।

पुस २१, २०८२

मोहन पनेरु

More women voters in Doti

What you should know

डोटी — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोटीमा १ लाख २८ हजार ३९९ मतदाता पुगेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या बढी देखिएको हो।

जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख करुणाकर पन्तका अनुसार कुल मतदातामध्ये ६१ हजार ५ सय ७८ पुरुष र ६६ हजार ८ सय २१ महिला छन्। पुरुषको तुलनामा महिला मतदाता ५ हजार २ सय ४३ ले बढी रहेका छन्।

स्थानीय तहअनुसार सबैभन्दा बढी मतदाता शिखर नगरपालिकामा रहेका छन्। शिखर नगरपालिकामा २१ हजार ४ सय ९५ मतदाता छन्। जसमध्ये १० हजार १ सय १० पुरुष र ११ हजार ३ सय ८५ महिला रहेका छन्। ११ वडा रहेको नगरपालिकामा १६ मतदान स्थल र २८ मतदान केन्द्र निर्धारण गरिएको छ।

जिल्लामै सबैभन्दा कम मतदाता बडीकेदार गाउँपालिकामा रहेका छन्। यहाँ ९ हजार ६ सय ८० मतदाता छन्। जसमध्ये ४ हजार ९ सय ८९ पुरुष र ४ हजार ६ सय ९१ महिला रहेका छन्। ५ वडा रहेको गाउँपालिकामा ८ मतदान स्थल र १२ मतदान केन्द्र छन्।

आदर्श गाउँपालिकामा १५ हजार ७० मतदाता रहेका छन्। यहाँ ६ हजार ८ सय ७६ पुरुष र ८ हजार १ सय ९४ महिला मतदाता छन्। ७ वडा रहेको गाउँपालिकामा १४ मतदान स्थल र २२ मतदान केन्द्र छन्।

केआईसिंह गाउँपालिकामा १३ हजार ४ सय ८६ मतदाता छन्। यहाँ ६ हजार २ सय ३६ पुरुष र ७ हजार २ सय ५० महिला रहेका छन्। गाउँपालिकामा १० मतदान स्थल र १८ मतदान केन्द्र निर्धारण गरिएको छ।

जोरायल गाउँपालिकामा १३ हजार ८ सय ६५ मतदाता छन्। जसमा ७ हजार १ सय २२ पुरुष र ६ हजार ७ सय ४३ महिला रहेका छन्। ६ वडा रहेको गाउँपालिकामा ११ मतदान स्थल र १९ मतदान केन्द्र छन्।

दिपायल सिलगढी नगरपालिकामा १९ हजार ६ सय २२ मतदाता छन्। नगरपालिकामा ९ हजार २ सय २५ पुरुष र १० हजार ३ सय ९७ महिला मतदाता रहेका छन्। यहाँ २२ मतदान स्थल र २९ मतदान केन्द्र छन्।

पूर्वीचौकी गाउँपालिकामा १३ हजार ६ सय ६६ मतदाता रहेका छन्। जसमा ६ हजार ३ सय ३५ पुरुष र ७ हजार ३ सय ३१ महिला छन्। ७ वडा रहेको गाउँपालिकामा १५ मतदान स्थल र २० मतदान केन्द्र छन्।

बोगटान फुड्सिल गाउँपालिकामा १० हजार ३ सय ८५ मतदाता छन्। यहाँ ५ हजार २ सय ८७ पुरुष र ५ हजार ९८ महिला रहेका छन्। गाउँपालिकामा ११ मतदान स्थल र १५ मतदान केन्द्र छन्।

सायल गाउँपालिकामा ११ हजार १ सय ३० मतदाता छन्। यहाँ ५ हजार ३ सय ९८ पुरुष र ५ हजार ७ सय ३२ महिला मतदाता रहेका छन्। ६ वडा रहेको गाउँपालिकामा ११ मतदान स्थल र १७ मतदान केन्द्र छन्।

निर्वाचन कार्यालयका अनुसार १ हजार ८ सय ६२ जना नयाँ मतदाता थपिएका छन्। नयाँ थपिएकामध्ये ५८३ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेका छन् भने १ हजार २ सय ७९ जनाको नाम राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरणका आधारमा दर्ता गरिएको पन्तले बताए।

मोहन

Link copied successfully