‘दिगो विकासका लागि वन्यजन्तुमैत्री संरचना आवश्यक’

पछिल्लो सयम संरक्षित क्षेत्र र वनजंगल किनारमा वन्यजन्तु रोक्न विद्युतीय तारबारदेखि अन्य संरचना निर्माण गरिएका छन् । तर वन क्षेत्रबाट बाहिर आएको वन्यजन्तु त्यही संरचनाका कारण भित्र जान नसकेर मानव बस्तीमा क्षति हुने गरेको छ ।

पुस २०, २०८२

भवानी भट्ट

'Wildlife-friendly infrastructure is essential for sustainable development'

What you should know

कञ्चनपुर — संरक्षित क्षेत्रसँगै वन जंगलमा हुने विकास निर्माणका गतिविधिले वन्यजन्तु दुर्घटनामा पर्दै आएका छन् । यति मात्रै होइन, वन्यजन्तुको विचरण प्रभावित पनि हुने गरेको छ ।

कतिपय विकास निर्माणका संरचनाले संरक्षित क्षेत्र नै खण्डीकरण हुन पुगेको छ । यसले एउटा क्षेत्रको वन्यजन्तुलाई अर्को क्षेत्रको वन्यजन्तुसँगको सम्पर्क विच्छेद नै गराइरहेको पनि छ । 

पछिल्लो सयम निर्माणाधीन सडक र सिँचाइ आदिमा वन्यजन्तुमैत्री संरचना पनि निर्माण भइरहेका छन् । तर यसले मात्रै पर्याप्त नहुने संरक्षणकर्मीहरू बताउँछन् । उनीहरूले संरक्षित क्षेत्रमा मात्रै नभई रेखीय विकास निर्माणका संरचनामा सबै क्षेत्रमा वन्यजन्तु ओहोरदोहोर गर्न सक्ने गरी ओभरपास र अण्डर पास बनाइनुपर्ने बताएका छन् । 

‘अब विकास निर्माण र संरक्षणलाई सँगसँगै लैजानुपर्छ, यो एउटा वनको वा निकुञ्जको मात्रै विषय होइन,’ आइतबार जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) नेपालले आयोजना गरेको वन्यजन्तुमैत्री भौतिक पूर्वाधार विषयक गोष्ठीमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भने, ‘हाम्रा विकास निर्माणका संरचनाले वन्यजन्तुको आउजाउ बन्द हुनु हुँदैन, यसमा सबैको चिन्ता र  चासो हुनुपर्छ ।’ पछिल्लो समय तिनै तहका सरकारले यसलाई समेट्ने प्रयास गरिरहेको उनले बताए । 

पछिल्लो समय सडक र सिँचाइका संरचनाहरू तीव्र गतिमा निर्माणाधीन छन् । कतिपय यस्ता संरचना संरक्षित क्षेत्रमै समेत परेका छन् । यसले संरक्षित क्षेत्र पनि खण्डीकरण भएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसमेत यसरी खण्डीकरणमा परेको छ । महाकाली सिँचाइ आयोजना दोस्रो चरणको नहरले निकुञ्जको पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रलाई छुट्याएको छ । यसैगरी पूर्व–पश्चिम राजमार्गले पनि निकुञ्जको उत्तरी क्षेत्रलाई विभाजित गरेको छ । पछिल्लो समय महाकाली सिँचाइ आयोजना तेस्रो चरणले पनि उत्तर दक्षिण भागलाई खण्डीकरण गरेको छ । यति मात्रै होइन, कलुवापुर बेलौरी सडक खण्डले समेत निकुञ्जलाई विभाजित गरेको छ । 

पछिल्लो सयम संरक्षित क्षेत्र र वनजंगल किनारमा वन्यजन्तु रोक्न विद्युतीय तारबारदेखि अन्य संरचना निर्माण गरिएका छन् । तर वन क्षेत्रबाट बाहिर आएको वन्यजन्तु त्यही संरचनाका कारण भित्र जान नसकेर मानव बस्तीमा क्षति हुने गरेको छ । यसले मानव वन्यजन्तु द्वन्द्वसमेत बढाएको छ । 

‘वन्यजन्तु रोक्न बनाएका संरचनाले बस्तीमा पसेका वन्यजन्तु जंगलमा फर्काउन गाह्रो हुन थालेको छ,’ बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत तथा हात्तीविज्ञ डा. अशोककुमार रामले भने, ‘वन्यजन्तु बाहिर निस्केमा सबैभन्दा पहिले उसलाई प्राकृतिक वासस्थानमा फर्काउने नै हो, यसका लागि हाम्रा संरचनाले अवरोध गर्नु हुँदैन ।’ वन क्षेत्रमा पनि यस्ता संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने उनले बताए । 

उनका अनुसार हात्तीको परम्परागत मार्ग भौतिक पूर्वाधारका संरचनाका कारण मासिएपछि अहिले मानव हात्तीबीच जताततै द्वन्द्व देखिने गरेको छ । बुम–ब्रह्मदेव क्षेत्रदेखि झापासम्मै हात्ती ओहोरदोहोर गर्ने भए पनि अहिले ठाउँठाउँमा अवरोध सिर्जना भएको रामले बताए । ‘बुम–ब्रह्मदेव क्षेत्रमै पनि टनकपुर ब्यारेजदेखि नहर र बस्तीका कारण हात्तीको मार्गमा अवरोध भएको छ,’ उनले भने, ‘त्यसपछि ठाउँठाउँमा सडक, बस्ती आदिले पनि अवरोध पुर्‍याएको छ ।’ 

दिगो विकासका लागि वन्यजन्तुमैत्री संरचनासँगै विकास र संरक्षणलाई सँगसँगै लैजानुपर्ने वन मन्त्रालयका पूर्वसचिव डा. कृष्णप्रसाद आचार्यले बताए । उनले दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि यो अनिवार्य भएको बताए ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully