'खान पुगोस्, दिन पुगोस् नेपाल' अभियानले जोरायल गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ती बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
डाेटी — 'खान पुगोस्, दिन पुगोस्' अभियान नेपालले चिसो मौसमलाई लक्षित गर्दै डोटीको जोरायल गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ५ सय ४४ बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
नवोदय, महाकाली, जनता, महेन्द्र, नवज्योति र जनप्रिय आवासीय आधारभूत विद्यालयका विद्यार्थीलाई स्विटर र टोपी प्रदान गरिएको हो ।
कार्यक्रम सहजकर्ता नेत्र खडायतका अनुसार नेपाल निजामती कर्मचारी युनियन कैलाली तथा विभिन्न सहयोगी व्यक्तिहरूको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो । साथै अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ती विद्यालयका लागि ४२ हजार रुपैयाँ बराबरको भलिबल र नेट सहयोग गरेका छन् ।
यस्तै, शैक्षिक प्रोत्साहनका लागि कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ट जीपिए ल्याउने १ छात्रा र १ छात्रलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने उद्देश्यले नवोदय माध्यमिक विद्यालयमा २ लाख १ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सचिव डा. हेमराज रेग्मीले अभियानले शैक्षिक गुणस्तर सुधारमा सकारात्मक योगदान पुर्याएको बताए। अभियान संयोजक घनश्याम भट्टले सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
