थारु बस्तीमा माघीको तयारी

यतिबेला थारु बस्तीमा कतिपय दुना-टपरी बनाउन लागेका छन् भने कतिपय अब जंगल गएर पात ल्याउने योजना बनाइरहेका छन् ।

पुस १९, २०८२

भवानी भट्ट

Preparations for Maghi in Tharu settlements

What you should know

कञ्चनपुर — बेदकोट नगरपालिका-७ मन्दिरपुरकी सृजना चौधरीलाई यतिबेला भ्याइनभ्याइ छ । माघी नजिकिँदै गर्दा उनलाई त्यसको तयारीका लागि व्यस्तता बढेको हो । अहिले उनी दुना-टपरी खुट्नेदेखि जाँड बनाउने र घरको सरसफाइ गर्ने काममा व्यस्त छिन् ।

चौधरी र उनका छिमेकीले बिहीबार चुरे फेदीको जंगलबाट सालका पात ल्याए । शनिबार उनीहरू सँगसँगै बसेर दुना-टपरी बनाइरहेका भेटिए । ‘दुना-टपरी बनाउने काम भइरहेको छ, सँगै जाँड बनाउने काम पनि गरिरहेका छौं,’ सृजनाले भनिन्, ‘माघी नजिकिँदै गर्दा यसको तयारी बढ्दै जान्छ, गाउँमा माघीको रौनक बढ्दै गएको छ ।’

सृजनासँगै लक्ष्मीदेवी डगौरा लगायत ९ जना महिला अहिले सँगै दुना-टपरी बनाउन लागेका छन् । उनीहरूले घरको लिपपोतदेखि कुटानी-पिसानीको काम गरिसकेका छन् । ‘सुंगुरको सिकारको व्यवस्था पनि भइसकेको छ,’ लक्ष्मीले भनिन्, ‘माघीका दिन मघौटा नाच्ने तयारी पनि गरिरहेका छौं ।’

यतिबेला थारु बस्तीमा घरघरै जाँड बनाउने काम पनि भइरहेको देखिन्छ । कतिपय दुना-टपरी बनाउन लागेका छन् भने कतिपय अब जंगल गएर पात ल्याउने योजना बनाइरहेका छन् । विगतमा ठूलो परिवासँगै हुने भएकाले पुस लागेसँगै माघीको तयारी गरिने भए पनि अहिले स–साना परिवार भएका कारण एक/दुई दिनमै तयारी सकिने गरेको छ । 

‘जाँड बनाइसकेँ, अब पात ल्याएर दुना-टपरी बनाउने काम गर्छौं, त्यसपछि कुटानी-पिसानीको काम गरिन्छ,’ बिन्द्र डगौराले भनिन्, ‘पहिले पहिले ठूलो परिवार थियो, धेरै तयारी गर्नुपर्थ्यो, अहिले दुई/चार जनाको परिवार छ, थोरै सामग्रीले पुगिहाल्छ ।’ 

माघीलाई थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने चलन छ । यही बेला घरदेखि गाउँ समाजका नयाँ योजना बनाउने काम गरिन्छ । माघीकै बेला बडघर, भलमन्सा छनोटको काम पनि गरिन्छ । भाइहरू छुट्टिनेदेखि घरको मूली छान्ने काम पनि अहिले नै गरिन्छ । 

‘माघीका दिन स्नान गर्ने र खानपिनसँगै मघौटा नाचेर रमाइलो गरेपछि दोस्रो दिनदेखि गाउँको मुखिया छान्ने काम गरिन्छ,’ थारु समुदायका अगुवा वलबहादुर डगौराले भने, ‘गाउँको मात्रै होइन, घरको समेत मुखिया छान्निछ ।’ उनका अनुसार विगतमा कमैया प्रथा हुँदा कमैया बसेका व्यक्तिले घर छाड्नेदेखि नयाँ घरमा जाने लगायतका काम माघीकै बेला गरिन्थ्यो । यसलाई खोजनी भोजनी पनि भनिन्छ ।

बडघर, भलमन्सा छान्ने कामलाई पनि खोजनी भोजनी भनिन्छ । माघी मनाएपछि गाउँलेहरू सबै एकै ठाउँमा भेला भएर बडघर भलमन्सा छनोट गरिन्छ । ‘यो आवधिक निर्वाचनजस्तै हो, तर सबैको सहमतिमा छनोट गरिन्छ,’ डगौराले भने, ‘वर्षौंदेखिको परम्परा हो यो ।’ 

माघीका बेला पकाइने ढिकरी, सुंगुरको मासु, अन्दीको भात लगायत पकाउन पनि आवश्यक तयारी गरिन्छ । यतिबेला कामका लागि बाहिर गएकाहरू पनि घर फर्किन्छन् । माघीका बेला मघौटा नाचले थारु बस्ती गुञ्जायमान हुन्छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully