स्वास्थ्य बिमा बोर्ड डडेलधुराका दर्ता अधिकारी जयसिंह साउँदका अनुसार बिमा कार्यक्रममा १४ हजार ४ सय ६० पुरुष र १५ हजार ९ सय ५५ महिला आवद्ध छन्।
What you should know
डडेल्धुरा — डडेलधुराका एक लाख भन्दा बढी जनसंख्या अझै स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन सकेको छैन्।
यहाँ बिमा कार्यक्रममा आवद्ध हुनेको संख्या ३० हजार ४ सय १५ मात्र पुगेको छ।
स्वास्थ्य बिमा बोर्ड डडेलधुराका दर्ता अधिकारी जयसिंह साउँदका अनुसार बिमा कार्यक्रममा १४ हजार ४ सय ६० पुरुष र १५ हजार ९ सय ५५ महिला आवद्ध छन्।
२०७८ सालको राष्ट्रिय जनगणना अनुसार डडेलधुराको जनसंख्या १ लाख ३९ हजार ६ सय २ रहेको छ। यहाँ २०७६ सालबाट स्वास्थ्य बिमा कार्यक्रम लागु भएको हो।
स्थानीय तहगत तथ्यांक अनुसार सबैभन्दा बढी बीमित अमरगढी नगरपालिकामा रहेका छन्। अमरगढी नगरपालिकामा १३ हजार ७ सय ८२ जना बिमा कार्यक्रममा आवद्ध भएका छन् । जसमा ६ हजार ७ सय ७८ पुरुष र ७ हजार ४ जना महिला छन्।
परशुराम नगरपालिकामा ४ हजार ३ सय २७ जना बीमित छन्। त्यसमध्ये २ हजार ५५ पुरुष र २ हजार २ सय ७२ महिला रहेका छन्।
आलिताल गाउँपालिकामा १ हजार २ सय ७३ जना स्वास्थ्य बिमामा आवद्ध छन्। अजयमेरु गाउँपालिकामा २ हजार ६ सय ५४ जना बिमा कार्यक्रममा आवद्ध भएका छन्।
भागेश्वर गाउँपालिकामा १ हजार ३ सय ४४ जना बीमित रहेका छन्। गन्यापधुरा गाउँपालिकामा ३ हजार ३ सय ७ जना स्वास्थ्य बीमामा आवद्ध छन्। नवदुर्गा गाउँपालिकामा बिमा गर्नेको संख्या ३ हजार ७ सय २८ पुगेको छ।
दर्ता अधिकारी साउँदका अनुसार अझै पनि कतिपयले स्वास्थ्य बिमाको महत्व नबुझ्दा बिमामा समेटिन नसकिरहेको उनले बताए। स्वास्थ्य बिमामा नागरिकको पहुँच बढाउने उद्देश्यले हरेक वडामा दर्ता सहयोगी समेत रहेको उनले बताए।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक घरका ५ जनासम्मले वर्षमा १ लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा पाउने व्यवस्था छ।
५ जनाभन्दा बढी सदस्य भएको परिवारका हकमा थप १ जनाका लागि ७ सय रुपैयाँ प्रिमियम तिरेमा २० हजार रुपैयाँ बराबरको अतिरिक्त सेवा लिन सकिने प्रावधान छ । हाल जिल्लामा डडेलधुरा अस्पताल र ‘जोगबुडा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा रहेको छ।
