वडामै योजना सम्झौतासँगै अभिमुखीकरण गर्दै मेलौली

योजना सम्झौताका लागि नगरपालिका धाउँदा कागजात अपुग भए फेरि वडा जानुपर्ने समस्या हुँदा उपभोक्ता समितिलाई सहज बनाउन वडामै योजना सम्झौता गर्न लागिएको नगरप्रमुख भीमबहादुर चन्दले बताए।

पुस १७, २०८२

मोहन चन्द

Melauli conducting orientation along with planning agreement in the ward

बैतडी — मेलौली नगरपालिकाले वडामै पुगेर योजनाको सम्झौतासँगै उपभोक्ता समितिसित अभिमुखीकरण थालेको छ ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नगरपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समिति मार्फत निर्माण गरिने योजनाहरुको वडामै पुगेर सम्झौता गर्ने काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले बताए। 

पालिकाले र वडाले छनोट गरेका योजनाको एकै दिन सम्बन्धित वडाबाटै सम्झौता गर्ने गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर पालिकाबाट वडामा गई योजना सम्झौताको कार्य गरिरहेका छन्। 

योजना सम्झौता पश्चात सबै उपभोक्ता समितिका पदाधिकारीलाई एकै ठाउँमा राखेर योजनाको लागत स्टिमेट, भौतिक संरचना, योजना निर्माण विधि, समितिका पदाधिकारीको काम कर्तव्य र अधिकार, योजनाको गुणस्तरीयता बारे अभिमुखीकरण गर्दै आएको अधिकृत धामीले बताए। 

योजना सम्झौताका लागि नगरपालिका धाउँदा केही कागजात अपुग भए फेरि वडा जानुपर्ने समस्या हुँदा उपभोक्ता समितिलाई सहज बनाउन वडामै योजना सम्झौता गर्न लागिएको नगरप्रमुख भीमबहादुर चन्दले बताए। सबै फाटँका कर्मचारी एकै ठाउँमा आएर योजना सम्झौता गर्दा आफुहरुलाई सहज भएको योजना उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन् ।

नगरपालिकाले मेलौली–४ बाट योजना सम्झौतासँगै समितिलाई अभिमुखीकरण सुरु गरेको छ । सबै वडामा पुगेर योजना सम्झौतासँगै अभिमुखीकरण गरिने नगरपालिकाले जनाएको छ । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully