समानुपातिक उम्मेदवारको बन्द सूचीमा एमालेद्वारा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाबाट १० जनाको नाम समावेश ।
धनगढी — नेकपा एमालेले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाबाट १० जना समेटिएका छन् । पाँच पुरुष र पाँच महिलालाई पाँच जिल्लाबाट समेटिएको हो ।
जसमध्ये कैलालीबाट चार, कञ्चनपुर र बझाङबाट दुई–दुई, दार्चुला र अछामबाट एक–एक जना उम्मेदवारको नाम बन्द सूचीमा समावेश छ ।
बाजुरा, डडेल्धुरा, बैतडी र डोटी चार जिल्लाबाट उम्मेदवार समेटिएको छैन ।
एमाले सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दका अनुसार कैलालीबाट हरिशंकर योगी, लीला भण्डारी, इच्छा चौधरी र सावित्रा घिमिरेलाई समानुपातिक उम्मेदवारको बन्द सूचीमा राखिएको छ । यस्तै कञ्चनपुरबाट निरुदेवी पाल र कृपाराम रानाको नाम परेको छ ।
बझाङबाट एलबी रावल र भागीरथी चन्द सिंहको नाम समावेश छ । यस्तै अछामबाट बमबहादुर बीसी र दार्चुलाबाट जयन्त्रसिंह ऐतवाललाई समानुपातिकको बन्द सूचीमा राखिएको छ ।
