स्वास्थ्यका लागि लाभदायक मानिने कोदो, कागुनो, फापर, मकैजस्ता रैथाने अन्नबाली गाउँघरबाट लोप हुँदै । मिहिनेतअनुसार आम्दानी नहुने भएकाले अन्य बालीतिर लागेको किसानको भनाइ ।
What you should know
डडेल्धुरा — सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने रैथाने अन्नबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् । उन्नत जातको बीउ भित्रिएसँगै फापर, कोदो, कागुनो, मकै, मुदुरोजस्ता स्थानीय अन्नबाली हराउँदै जान थालेका हुन् ।
डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा उत्पादन हुने रैथाने अन्नबालीको खेती पछिल्लो समय कम हुँदै गएको पाइएको छ । युवा पुस्ताले रैथाने अन्नबालीको महत्त्व नबुझेको, उन्नत बीउ र बेमौसमी खेतीतर्फ आकर्षण बढेको, श्रम–आम्दानीको अनुपात नबनेको तथा आवश्यक प्रवर्द्धन नहुँदा स्थानीय खेती लोप हुन पुगेको कृषिविज्ञहरूको भनाइ छ ।
डडेल्धुराको भेटाका किसान प्रसाददत्त अवस्थी पहिलेकै जस्तो उब्जनी नआउनु, बीउमा मिसावट हुनु र बजारको प्रोत्साहन नपाउनु नै रैथाने अन्नप्रति किसानको आकर्षण घट्नुका कारण भएको बताउँछन् । अवस्थी भन्छन्, ‘बीउ कस्तो छ थाहा हुँदैन, मिहिनेत गरे पनि फाइदा छैन जस्तो लागेपछि किसानहरू अर्कै बालीतिर लागेका छन् ।’ मिहिनेतअनुसार आम्दानी नहुने भएकाले किसानहरू अन्य बालीतिर लागेको पाइएको छ । कोदो, फापर, मकै लगाउने चलन कम हुँदै गएको उनले बताए ।
त्यस्तै अर्का किसान सिद्धराज जोशी किसानहरूका समस्यालाई जोड्दै भन्छन्, ‘लाभ नहुने भएपछि यसको उत्पादन स्वाभाविक रूपमा घटेको हो । तर स्वास्थ्यका हिसाबले हेर्दा फापर, कोदो, कागुनो निकै उपयोगी छन् । राज्य र अन्य निकायले योजना बनाएर प्रवर्द्धन गर्नुपर्छ ।’ उनले रैथाने अन्नबाली विस्थापित हुँदै गएको भन्दै संरक्षणमा विशेष पहल आवश्यक रहेको बताए ।
खलंगाका स्थानीय सुधीर जैरूले बजार आपूर्तिमा कमी देखिन थालेको उल्लेख गर्दै भन्छन्, ‘स्वास्थ्यका लागि फाइदा भन्ने सुन्ने गर्छौं तर बजारमा पाउनै मुस्किल छ ।’ ग्रामीण क्षेत्रका अधिकांश किसानले कोदो बाली लगाउन छोडेकाले रैथाने अन्नबाली विस्थापित हुने अवस्थामा पुगेको हो ।
सहरी क्षेत्रमा फापर, कोदो, कागुनो र मुदुरोबाट बनेका परिकारप्रति आकर्षण बढ्दो छ । पोषणविद्हरूका अनुसार यी अन्नबाली बालबालिका, गर्भवती, सुत्केरी र दीर्घरोगीका लागि पनि फाइदाजनक मानिन्छन् । अमरगढी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक श्यामराज बोहराले यी बालीमा प्रशस्त पोषक तत्त्व पाइने भएकाले रैथाने अन्नबाली प्रवर्द्धन गर्नु आवश्यक रहेको बताए ।
भागेश्वर गाउँपालिकाको कृषि शाखामा कार्यरत (कृषि स्नातक) महेन्द्र साउदका अनुसार स्थानीय तहले किसानको लागतअनुसार अनुदान प्रदान गर्दै कोदो खेतीतर्फ किसानलाई आकर्षित गर्ने प्रयास गरिरहेको बताए । उनले उत्पादन बढाउन र खेती फस्टाउन गाउँपालिकामा अनुदानका योजना रहेको बताए ।
अमरगढी नगरपालिकाका प्राविधिक सहायक (कृषि) रमेश भण्डारीले संघीय सशर्त बजेटबाट बीउ, गोठ सुधार, तालिम, यान्त्रीकरण सहयोगलगायत कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरूले पनि कोदो खेती प्रवर्द्धनका लागि विभिन्न तहसँग सहकार्य भइरहेको बताए । उनका अनुसार गत वर्ष डडेल्धुरामा ३ सय २० हेक्टरमा कोदो खेती हुने गरेको र ५ सय ६८ मेट्रिक टन उत्पादन हुने गरेको छ । क्षेत्रफल र उत्पादन घट्दै गएको भए पनि माग भने बढ्दो रहेको उनले बताए । उनका अनुसार कोदो रोग–किरा सहन सक्ने, सुख्खा जमिनमा समेत उब्जनी हुने खेती हो । यो छरुवा खेती भएकाले सुख्खा जमिनमा पनि हुने गरेको छ । तर पछिल्लो समय मौसमी तरकारी र नगदे बालीतिर किसानको आकर्षण बढेकाले कोदो खेती घट्दै गएको पनेरूको भनाइ छ ।
कृषि ज्ञान केन्द्रले सरकारी कार्यालयहरूसँग सहकार्य गरी दिवा खाजामा कोदो र मकैका रोटी र अन्य परिकार प्रयोग गराउने कार्यक्रम अघि बढाएको छ । स्थानीय उत्पादनले बजार पाओस्, मूल्य पाओस् भन्ने उद्देश्यले अहिले अन्य कार्यालयहरूसँग पनि दिवा खाजाका रूपमा प्रयोग गर्न सहकार्य बढाइरहेको उनले बताए । ‘स्वास्थ्यका हिसाबले लाभदायी रैथाने अन्नबाली प्रवर्द्धनमा सबैको हालेमालो आवश्यक छ,’ उनले भने ।
