महाकाली पुल आयोजनाको काम दुई वर्षदेखि ठप्प

पुलसँगै पहुँच मार्ग तथा दुवैतर्फ नदी किनारमा निर्माण गर्नुपर्ने पोखरीका गाइड बण्डको काम पछिल्लाे दुई वर्षदेखि अघि बढेको छैन।

पुस १२, २०८२

भवानी भट्ट

Work on Mahakali Bridge project stalled for two years

What you should know

कञ्चनपुर — महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन।

पुलसँगै पहुँच मार्ग तथा पुलको दुवैतर्फ नदी किनारमा निर्माण गर्नुपर्ने पोखरीका गाइड बण्डको काम बाँकी छ। तर पछिल्लाे दुई वर्षदेखि उक्त क्षेत्रमा कुनै पनि काम अघि बढेको छैन।

गत वर्ष महाकालीको बाढीले गाइड बण्ड भत्काएको थियो। यस वर्ष उक्त क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै नेपाली सेनामार्फत गाइड बण्ड मर्मत र नदीको धार परिवर्तनको काम गरिएको थियो। त्यसबाहेक अन्य सबै काम ठप्प रहेको छ।

‘अहिले परिवर्तित डिजाइनको भेरिएसन स्वीकृत हुन सकेको छैन, म्याद पनि थपिएको छैन,’ महाकाली पुल आयोजनाका प्रमुख नेत्र देवकोटाले भने, ‘निर्माण कम्पनीले साइड छाडिसकेको छ। आयोजना काम अघि बढ्न नसक्ने अवस्थामा पुगेको छ। यसलाई कसरी फुकाउने भन्ने विषयमा मन्त्रालयमा पत्राचार गरेका छौं।’
उनका अनुसार निर्माण कम्पनीले ठेक्का तोड्नका लागि पत्राचार गरे पनि आयोजनाले त्यसलाई स्वीकार गरेको छैन।

गत साता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पुल आयोजनास्थलको स्थलगत अनुगमन गरेका थिए। सो क्रममा उनले भेरिएसन स्वीकृतिका लागि पहल गर्ने आश्वासन दिएका थिए। त्यसकै आधारमा आयोजनाले भेरिएसन, म्याद थप र निर्माण कम्पनीले ठेक्का तोड्न दिएको पत्रसम्बन्धी विषय मन्त्रालयमा पठाएको जनाएको छ।

विगतमा निर्माण गरिएको गाइड बण्डको पनि भेरिएसन हुन सकेको थिएन। अहिले निर्माण कम्पनीले विगतको डिजाइन समेत भेरिएसन गरेर क्षतिपूर्ति दिनुपर्ने माग गरिरहेको छ। ‘पुरानो डिजाइनमा गरिएको कामको भेरिएसन गरेर क्षतिपूर्तिसहित भुक्तानी भएपछि मात्रै काम अघि बढाउन सक्छौं,’ पुल निर्माण कम्पनी सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने, ‘पुसभित्र नयाँ डिजाइनको भेरिएसन, म्याद थप र अहिलेसम्मको कामको भुक्तानी भए मात्रै काम गर्न सकिन्छ।’

उनका अनुसार दुई वर्षदेखि भेरिएसन स्वीकृत गर्ने नाममा प्रक्रिया अल्झिँदा काम रोकिएको हो। काम गरिसकेको रकमसमेत भुक्तानी नहुँदा समस्या थपिएको उनले बताए। निर्माण कम्पनीले करिब ३० करोड रुपैयाँ हाराहारीको भुक्तानी अझै पाउन बाँकी रहेको पाण्डेयको भनाइ छ।

गत वर्ष महाकालीको बाढीले गाइडबण्ड बगाएपछि पुनः डिजाइन परिवर्तन गरिएको हो। हाल परिवर्तित डिजाइनको भेरिएसन स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको आयोजना प्रमुख देवकोटाले जानकारी दिए।

आयोजना अन्तर्गत केही खण्डमा पहुँच मार्गको कालोपत्रे काम अझै बाँकी छ। साथै गाइड बण्ड निर्माण पनि अधुरो छ। गड्डाचौकीदेखि दोधारा–चाँदनी नगरपालिका–१ को मेलेरिया नालासम्म ६ लेनको ८ किलोमिटर पहुँच मार्ग निर्माण गर्नुपर्ने छ।

चालु आर्थिक वर्षमा आयोजनाका लागि साढे ८ करोड रुपैयाँ बजेट विनियोजन भएको आयोजनाले जनाएको छ। तर उक्त रकमले निर्माण कम्पनीको बाँकी भुक्तानीसमेत गर्न नपुग्ने अवस्था रहेको छ। भेरिएसन स्वीकृत भएमा बजेट वृद्धि हुने अपेक्षा आयोजनाका कर्मचारीहरूको छ।

२०७४ भदौमा तीन वर्षभित्र काम सक्ने गरी ३ अर्ब २७ करोड रुपैयाँमा कुमार श्रेष्ठ–सिएफइसी जेभीसँग ठेक्का सम्झौता भएको थियो। कोरोना संक्रमण र महाकाली नदीमा पानीको बहाव बढी भएका कारण नियमित काम हुन नसकेको आयोजनाले जनाएको छ। पछिल्लो समय भने दुई वर्षदेखि भेरिएसनकै प्रक्रियामा अल्झिँदा निर्माण कार्य अघि बढ्न सकेको छैन।

पुलको दुवैतर्फ ६ सय मिटर चौडाइ र २ हजार ८ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्ने डिजाइन रहेको छ। ती पोखरीका गाइड बण्ड ठूला ढुंगाबाट निर्माण गर्ने प्रारम्भिक योजना थियो। तर ठूला ढुंगा उपलब्ध नभएपछि ग्राभेल र कंक्रिट प्रयोग गरी गाइड बण्ड निर्माण गरिएको थियो। उक्त गाइड बण्ड पनि पछिल्लो बाढीले भत्काएपछि अहिले फेरि नयाँ डिजाइन तयार पारिएको आयोजनाले जनाएको छ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully