‘कुनै पनि संस्था सफल हुनुको पछाडि टिमवर्कको ठूलो भूमिका हुन्छ,’ त्रिनगर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रबहादुर चन्दले भने, ‘त्रिनगरले केही वर्षमै यो सफलता हात पार्नुमा सामूहिक प्रयास नै मुख्य कारण हो ।’
What you should know
कैलाली — धनगढीको मुटु एलनचोकमा अवस्थित त्रिनगर माध्यमिक विद्यालय केवल एउटा शैक्षिक संस्था मात्र होइन, सामुदायिक शिक्षाले सम्भावना कसरी बदल्न सक्छ भन्ने गतिलो उदाहरण पनि हो । २०३३ सालमा स्थापना भएको यो विद्यालयले स्थापनाको झण्डै पाँच दशक पार गर्दा अनेक उतार–चढाव झेलेको छ ।
सीमित स्रोत, पूर्वाधारको अभाव र सामुदायिक विद्यालयप्रतिको कमजोर धारणा कायमै थियो । तर ती चुनौतीकै बीच त्रिनगरले आफूलाई कैलालीको मात्र होइन, सुदूरपश्चिमकै उदाहरणीय सामुदायिक विद्यालयका रूपमा उभ्याउन सफल भयो ।
स्थापनाको ३१ वर्षपछि ०६४ मा विद्यालयले कक्षा ११ र १२ को पढाइ सुरु गर्यो । त्यतिबेला प्लस टू सञ्चालन गर्न उच्च माध्यमिक विद्यालयको स्वीकृति लिनु पर्थ्यो । निजी विद्यालयको दबदबा बढिरहेको त्यो समयमा सामुदायिक विद्यालयले प्लस टू सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण काम थियो । तर त्रिनगरले त्यो चुनौती स्वीकार्दै उच्च शिक्षाको ढोका खोल्यो ।
२०७५ सम्म आइपुग्दा त्रिनगरमा ५ सय विद्यार्थी मात्रै अध्ययनरत थिए । तर अहिले त्यो अवस्था पूर्ण रूपमा फेरिएको छ । हाल विद्यालयमा २ हजार ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । तीमध्ये झण्डै ८ सय विद्यार्थी प्लस टू तहमा मात्रै छन् । सामुदायिक विद्यालयमा प्लस टू तहमा यति ठूलो विद्यार्थी संख्या तारिफयोग्य रहेको स्थानीय बताउँछन् । यसले त्रिनगरप्रति अभिभावक र विद्यार्थीको बढ्दो विश्वास देखाउँछ ।
केही वर्षअघि मात्रै विद्यार्थी संख्या घटेपछि त्रिनगरले भर्ना अभियान नै चलाएर विद्यार्थी खोज्नु पर्थ्यो । अहिले त्यो अवस्था पूर्ण रूपमा फेरिएको छ । अहिले त्रिनगरले विद्यार्थी खोज्दै भर्ना अभियान चलाउनु परेको छैन । बरु सुदूरपश्चिमका नौवटै जिल्लाबाट विद्यार्थी त्रिनगर खोज्दै धनगढी आइपुग्छन् ।
कतिपय अवस्थामा त विद्यार्थीको चाप बढेर भर्ना रोक्नुपरेको अनुभव विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्का बताउँछन् । ‘हामी एउटा कक्षाकोठामा ४० जनाभन्दा बढी विद्यार्थी राख्दैनौं । कक्षाकोठाको सीमितताका कारण भर्ना हुन आएका विद्यार्थीलाई फर्काउनु परेको छ,’ उनी भन्छन् ।
विद्यार्थी संख्यामा आएको वृद्धि संख्यात्मक मात्र होइन, शैक्षिक गुणस्तरमा भएको सुधारले पनि त्रिनगरलाई फरक बनाएको छ । बोर्ड परीक्षामा निरन्तर राम्रो नतिजा, अतिरिक्त क्रियाकलापमा जोड र अनुशासित शैक्षिक वातावरणका कारण विद्यालयले संघीय बजेटअन्तर्गत १२ कोठे भवन अनुदानमा प्राप्त गरेको छ । जसअन्तर्गत भवन निर्माणको काम सुरु भएको छ र सम्पन्न हुने चरणमा छ ।
सीमित भौतिक संरचनाका बीच पनि विद्यालयले शैक्षिक गुणस्तरमा सम्झौता गरेको देखिँदैन । विद्यार्थी चाप बढेसँगै विद्यालय व्यवस्थापनले गुणस्तर सुधारलाई अझ प्राथमिकतामा राखेको छ । तीन जीपीए कटाउने विद्यार्थीको संख्या गुणात्मक रूपमा वृद्धि गर्ने लक्ष्य लिएको छ । कक्षा ८ को परीक्षा नगरस्तरीय रूपमा सञ्चालन हुन थालेपछि सामुदायिक विद्यालयहरू थप सतर्क बनेको त्रिनगरका प्रअ खड्का बताउँछन् ।
‘कक्षा ८ को नतिजाले विद्यालयको आधार कत्तिको बलियो छ भन्ने देखाउँछ,’ उनी भन्छन्, ‘त्यसैले अहिले त्रिनगर मात्र होइन, त्रिनगरजस्तै धेरै सामुदायिक विद्यालय नतिजा सुधारमा जुटेका छन् ।’
त्रिनगरको शैक्षिक प्रगति कक्षा १२ को नतिजाले पनि पुष्टि गर्छ । ०८१ सालको कक्षा १२ को नतिजामा धनगढी उपमहानगरपालिकामा प्रथम स्थान हासिल गर्दै यो विद्यालयमा अध्यनरत सुनिल भट्टले २५ हजार रुपैयाँ पुरस्कार जिते । त्यसको एक वर्षपछि ०८२ सालमा त्रिनगरमै अध्ययनरत कमर्सका विद्यार्थी सन्देश कठायतले सुदूरपश्चिम प्रदेश टप गरे । यी उदाहरणले त्रिनगरले शैक्षिक गुणस्तरमा गरेको लगानी सही दिशामा अघि बढिरहेको देखाउँछ ।
यही वर्ष कक्षा १२ को नतिजामा ४० जनाभन्दा बढी विद्यार्थीले ३ जीपीए ल्याएर उत्तीर्ण भएको प्रधानाध्यापक खड्का सुनाउँछन् । उनका अनुसार प्रत्येक वर्ष प्लस टू तहमा ५ सयभन्दा बढी विद्यार्थी ग्रेडवृद्धि सहित उत्तीर्ण हुँदै आएका छन् ।
सामुदायिक विद्यालयमा प्रायः कक्षा १ देखि ५ सम्म विद्यार्थीको संख्या न्यून हुने समस्या देखिन्छ । तर त्रिनगरमा भने कक्षा १ देखि ५ सम्म पनि २ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यद्यपि कक्षा ९, १० र ११–१२ को तुलनामा आधारभूत तहमा विद्यार्थी संख्या कम छ । आगामी दिनमा यसमा पनि सुधार गर्दै लैजाने विद्यालयले रणनीति बनाइरहेको प्रअ खड्का बताउँछन् ।
अतिरिक्त क्रियाकलापमा जोड
त्रिनगरमा विद्यार्थीलाई अध्ययनसँगसँगै खेलकुद, बौद्धिक तथा सांस्कृतिक कार्यक्रममा विशेष जोड दिइन्छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि जोड दिन सबै विद्यार्थीलाई चार सदनमा विभाजन गरिएको छ । महिनाका दुईवटा शुक्रबार अतिरिक्त क्रियाकलाप र दुईवटा शुक्रबार मात्रै नियमित पढाइ सञ्चालन हुने व्यवस्था गरिएको छ ।
नगरस्तरीय रनिङ सिल्डअन्तर्गत समावेश हुने सबै खेल विद्यालयमै खेलाइन्छ । प्रअ खड्काका अनुसार विद्यार्थीलाई पढाइमा मात्रै सीमित गर्दा उनीहरू सैद्धान्तिक ज्ञानमा सीमित हुन्छन् । ‘व्यावहारिक ज्ञानबिना विद्यार्थी पूर्ण हुँदैनन्,’ खड्का भन्छन्, ‘विद्यार्थीका लागि जति महत्त्व पढाइको छ, त्यसभन्दा बढी व्यावहारिक ज्ञान आवश्यक छ ।’
त्यसैले त्रिनगरले व्यावहारिक सिकाइलाई पनि उत्तिकै महत्त्वका साथ अघि बढाएको उनको भनाइ छ । त्रिनगर सामुदायिक विद्यालयको रूपमा सफल संस्था बन्नुमा जति हात प्रधानाध्यापक, व्यवस्थापन समिति र शिक्षकको छ, त्यति नै नै योगदान विद्यार्थी, अभिभावक र समुदायको पनि छ । ‘प्रधानाध्यापक एक्लैले चाहेर पनि विद्यालय सफल बनाउन सकिँदैन, सबै पक्ष उत्तिकै सक्रिय हुनुपर्छ,’ प्रअ खड्का भन्छन् ।
अहिले त्रिनगर विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्रबहादुर चन्द छन् । ३९ वर्षदेखि शिक्षा क्षेत्रमा सक्रिय चन्दको आगमनले विद्यालयमा नयाँ ऊर्जा थपेको छ । विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा समेत सकारात्मक प्रभाव परेको छ । अध्यक्ष चन्द विद्यालयको भौतिक पूर्वाधारदेखि समग्र विकाससम्म टिमवर्ककै कारण सम्भव भएको बताउँछन् ।
‘कुनै पनि संस्था सफल हुनुको पछाडि टिमवर्कको ठूलो भूमिका हुन्छ,’ उनले भने, ‘त्रिनगरले केही वर्षमै यो सफलता हात पार्नुमा सामूहिक प्रयास नै मुख्य कारण हो ।’ उनका अनुसार विद्यालयको सफलतामा समुदायको सहयोग पनि अत्यन्त महत्त्वपूर्ण छ । यद्यपि अझै पनि शैक्षिक र व्यवस्थापकीय सुधार गर्नुपर्ने आवश्यकता रहेको उनी स्वीकार्छन् ।
‘पुराना भौतिक संरचना सुधार गर्नुपर्ने देखिन्छ, । विद्यार्थीमैत्री वातावरण अझै सुदृढ बनाउनुछ । प्रविधिको यो जमानामा विद्यालयलाई थप प्रविधिमैत्री बनाउनु अपरिहार्य छ,’ उनले भने ।
४९ वर्षको यात्रामा त्रिनगर माध्यमिक विद्यालयले चुनौती, संघर्ष र रूपान्तरणबाट उपलब्धि हासिल गरेको छ । सीमित स्रोतबाट सुरु भएको यो विद्यालयको यात्रा आज सामुदायिक शिक्षाको विश्वासिलो केन्द्र बनेको छ । अभिभावक, विद्यार्थी र समुदायको विश्वास जित्न त्रिनगरले आफ्नो विगत सम्झँदै भविष्य अझ सुदृढ बनाउने संकल्प गरिरहेको छ ।
