शुक्लाफाँटामा बाघ गणना माघ अन्तिममा

चितवन–पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेरा संकलन गरिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै आसपासका लालझाडी मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडा क्षेत्रमा बाघ गणनाको काम सुरु गरिने छ ।

पुस १०, २०८२

भवानी भट्ट

Tiger census in Shuklaphanta ends in Magh

What you should know

कञ्चनपुर — शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा राष्ट्रिय बाघ गणना माघ तेस्रो साता पछि हुने भएको छ ।

चितवन–पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेरा संकलन गरिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै आसपासका लालझाडी मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडा क्षेत्रमा बाघ गणनाको काम सुरु गरिने छ । 

‘सुरुमा चितवन–पर्सा र बाँके–बर्दिया कम्प्लेक्समा गणनाको काम भइरहेको छ, त्यसपछि शुक्लाफाँटासँगै लालझाडी मोहना र जोगबुडामा हुनेछ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘सुरुमा राखिएका क्यामेरा संकलन गरिएपछि यहाँ जडान गरिनेछन् ।’ 

शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्सलाई २ गुणा २ किलोमिटरका २६० ग्रीडमा विभाजन गरिनेछ । बाघ ओहोरदोहोर गर्ने सम्भावित स्थानको पहिचान गरेर हरेक ग्रीडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिनेछ । एउटा ग्रीडमा कम्तीमा १५ रात क्यामेरा रहनेछ ।

सन् २०२२ को राष्ट्रिय गणनामा पनि शुक्लाफाँटासँगै लालझाडी मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडा क्षेत्रमा बाघ गणनाका लागि क्यामेरा जडान गरिएको थियो । त्यतिबेला लालझाडी र जोगबुडामा पनि बाघ देखिएको थियो । 
उक्त गणनामा शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा ३६ बयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । क्यामेरामा कैद भएका १६ पोथी र १२ भालेसहित २८ र विश्लेषणका आधारमा ८ गरी ३६ बयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । 

शुक्लाफाँटा निकुञ्जमा राष्ट्रिय गणनासँगै निकुञ्ज प्रशासनले पनि हरेक वर्ष बाघ गणना गर्दै आएको छ । निकुञ्जमा गतवर्ष कात्तिक २८ देखि पुस १० सम्म गरिएको गणनामा २१ भाले र १९ पोथी गरी क्यामेरामा कैद भएका ४० र विश्लेषणका आधारमा ३ गरी बयस्क बाघको संख्या ४३ पुगेको सार्वजनिक गरिएको थियो । 

राष्ट्रिय बाघ गणनामा स्वचालित क्यामेराबाट तस्बिर संकलन गरेर गणना मात्रै गरिँदैन बाघको सम्भावित बासस्थानदेखि बिचरण गर्ने क्षेत्रको अवस्था समेत अध्ययन गरिन्छ । यसलाई ‘अकुपेन्सी सर्भे’ भनिन्छ । 

‘अकुपेन्सी सर्भे’का लागि क्यामेरा ट्रयापिङ विधिजस्तै बाघ पाइने सम्भावित क्षेत्रलाई १५ गुणा १५ किलोमिटरका ग्रीडमा विभाजन गरिन्छ । त्यसपछि एउटा ग्रीडमा थप १६ सव ग्रीड बनाइन्छ । ती ग्रीड क्यामेरा जडान भएको क्षेत्रमा र बाहिर पनि पर्छन् । ‘हरेक ग्रीडमा पैदल हिँडेरै बाघको बासस्थान, फुट प्रिन्टलगायत हेरिन्छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘बाघ देखिने निश्चित भएको क्षेत्रमा क्यामेरा जडान गरिन्छ, सम्भवित क्षेत्रमा अकुपेन्सी सर्भे गरिन्छ ।’ उनका अनुसार बाघ गणनासँगै आहारा प्रजातिको पनि गणना गरिन्छ । 

'अकुपेन्सी सर्भे'का लागि शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्सलाई २४ ग्रीड र एउटा ग्रीडमा १६ सवग्रीड गरी जम्मा ३ सय ८४ सवग्रीड निर्माण गरिनेछ । ती ग्रीडमा प्राविधिकहरुले हिँडेरै अनुगमन गर्नेछन् । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully