२ अर्ब २० करोड लगानी, ४० प्रतिशत काम पूरा
What you should know
धनगढी — सुदूरपश्चिम प्रदेशमै पहिलो पाँच तारे होटल धनगढीमा निर्माण हुन लागेको छ । अबको १८ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ होलीडे ईन बाई आईएचजी व्यवस्थापन र धनगढीस्थित क्लब चौलानी लिमिटेडबीच सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच होटल सञ्चालन सम्झौता भएको छ ।
काठमाडौंको बुढानिलकण्ठमा रहेको होटल होली डे ईन रिसोर्टमा आयोजित समारोहमा क्लब चौलानी लिमिटेडको तर्फबाट अध्यक्ष डा. राजेन्द्र केसी र होलीडे ईन बाईएचजी होटल एण्ड रिसोर्टका दक्षिण एशिया प्रबन्ध निर्देशक सुदीप जैनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यससँगै सुदूरपश्चिममा पहिलो अन्तर्राष्ट्रिय चेनको पाँच तारे होटल निर्माण हुन लागेको हो । होली डे ईन विश्व भर सञ्जाल रहेको चेन होटल भएको जैनले बताए । धगगढीस्थित मुख्य बजार क्षेत्रमा रहेको क्लब चौलानी रहेकै ठाउँमा होटल निर्माण हुन लागेको र ४० प्रतिशत काम सम्पन्न भइसकेको क्लब चौलानीका सञ्चालक एवं होटलका प्रबन्ध निर्देशक मानसिंह साउँदले बताए ।
३५ कोठा दुई महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भए पनि पाँच तारे होटल पूर्ण रुपमा भने अबको १८ महिनामा सञ्चालनमा ल्याइने साउँदको भनाइ छ । होटल निर्माणमा दुई अर्ब २० करोड लगानी हुने भएको छ । ६५ प्रतिशत अर्थात एक अर्ब ४३ करोड बैंक ऋण तथा ७७ करोड प्रबर्धकहरुले लगानी रहने सञ्चालकहरुले बताएका छन् ।
होटलमा अन्तर्राष्ट्रिय मापदण्डका एक सय १५ कोठा हुने छन् । ती मध्ये ५ वटा प्रिमियम सुईट कोठा रहने छन् । १८ हजार ५ सय वर्ग फिटमा बन्न लागेको होटलमा क्यासिनो, सात सय क्षमताको ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु परिकार रेष्टुरेन्ट, अत्याधुनिक फिटनेस सेन्टर र बैठक कक्षहरु निर्माण भइरहेका प्रबन्ध निर्देशक साउँदले बताए ।
जेनजी आन्दोलनका क्रममा होटल क्षेत्रमा भएको आगजनीपछि अन्तर्राष्ट्रिय समूदायमा नकारात्मक सन्देश गएको भए पनि एउटा पनि पाँच तारे होटल नभएको सुदूरपश्चिम पाँच तारे होटल सञ्चालनका लागि अवसर ठानेको क्लब चौलानीका अर्का सञ्चालक दीपक पाण्डेले बताए । ‘हामीले जोखिम मोलेकै हौं,’ पाण्डेले भने ‘तर हामीले प्रचुर सम्भावना पनि देखेका छौं । सुदूरपश्चिम आफैंमा पर्यटनका लागि अपार सम्पदा भएको क्षेत्र हो । बडिमालिका, खप्तड, रामारोशन, शुक्लाफाँटा सुदूरपश्चिममै छन् । त्यसैमा भारतको उत्तर प्रदेश र उत्तराखण्डको ठूलो जनसंख्या जोडिएको छ ।’
भारतीय पर्यटकलाई आकर्षित गर्नका लागि धनगढीमा स्थापना हुने पाँच तारे होटल महत्त्वपूर्ण सेतु हुने उनको भनाइ छ । ‘क्यासिनोसमेत गरी करिब डेढ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने छन्,’ उनले भने । अध्यात्मिक पर्यटनको हब हुनसक्ने सुदूरपश्चिममा निर्माण हुन लागेको पाँच तारे होटल सञ्चालन अन्तर्राष्ट्रिय स्तरको आतिथ्यता प्रदान र पर्यटकहरुलाई आकर्षण गर्दै प्रदेशको आर्थिक विकासका लागि महत्त्वपूर्ण आयाम हुने उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्कर ओझा बताउँछन् ।
