आलुको व्यावसायिक खेतीमा डडेल्धुराका किसान

परम्परागत खेतीमा सीमित डडेल्धुराको परशुराम नगरपालिकाका किसानहरू पछिल्लो समय कृषक समूह गठन गरी व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।

पुस ९, २०८२

तर्कराज भट्ट

Dadeldhura farmers in commercial potato farming

What you should know

डडेल्धुरा — आलुको बीउ उत्पादन तथा बीज वृद्धि बढाउने उद्देश्यसहित राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ (आलु सुपर जोन) डडेल्धुराले किसानलाई लक्षित गर्दै तालिम, बीउ तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।

परम्परागत खेतीमा सीमित डडेल्धुराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिकाका किसानहरू पछिल्लो समय कृषक समूह गठन गरी व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।

सरकारले आलुको बीउ प्रमाणीकरण (ट्यागिङ) गरेर मात्र प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरेपछि किसानहरू खायन आलुभन्दा बीउ आलु उत्पादनमा केन्द्रित हुन थालेका छन् । यसले बजारको सुनिश्चितता र आम्दानी दुवै बढाएको किसानहरूको भनाइ छ ।

परशुराम नगरपालिका–५ परिगाउँमा १८ जना किसान मिलेर २०७७ सालदेखि ‘लटिनाथ कृषि तथा पशुपन्छी कृषक समूह’ गठन गरी व्यावसायिक आलु खेती गर्दै आएका छन् । समूहका अध्यक्ष सुरेन्द्रबहादुर बोहराका अनुसार समूहले हाल ७५ क्विन्टल आलुको बीउ रोपेको छ, जसमध्ये १५ क्विन्टल बीउ उत्पादनकै लागि प्रयोग गरिएको हो ।

प्रति क्विन्टल बीउबाट १० देखि १२ क्विन्टलसम्म उत्पादन हुने गरेको बताउँदै बोहराले समूहमार्फत हाल ७५ रोपनी क्षेत्रफलमा आलु खेती विस्तार गरिएको जानकारी दिए । किसानहरूले प्रमाणित बीउ प्रयोग गर्न सके उत्पादन र गुणस्तर दुवै राम्रो हुने उनले बताए ।

अर्की कृषक लक्ष्मी खड्काले परम्परागत गहुँ खेती छोडेर आलु खेती थालेपछि आम्दानी बढेको बताइन् । ‘गत वर्ष मात्रै आलु बिक्रीबाट एक लाख रुपैयाँभन्दा बढी आम्दानी भयो,’ उनले भनिन् ।

यस्तै, ‘जैविक एवं शुद्ध नस्ल पशुपन्छी पालन, अन्न तथा तरकारी कृषक समूह’की अध्यक्ष कविता बोहराले समूहले विगत पाँच वर्षदेखि आलु खेती गर्दै आएको बताइन् । ‘एक क्विन्टल गहुँ फल्ने जमिनमा आलु खेती गर्दा धेरै फाइदा हुन्छ,’ उनले भनिन् । उनका अनुसार समूहले यस वर्ष ४ सय क्विन्टल आलुको बीउ रोपेको छ ।

Dadeldhura farmers in commercial potato farming

परशुराम–१ सलोनकी किसान मञ्जु ठगुन्ना र सोही स्थानका किसान केशवराज अवस्थीले पनि आलु खेती परम्परागत खेतीभन्दा धेरै फाइदाजनक भएको बताए । विगत १० वर्षदेखि आलु खेती गर्दै आएका अवस्थीले अहिले पूर्ण रूपमा व्यावसायिक आलु खेती गर्दै आएका छन् । विभिन्न सरकारी निकाय, आलु सुपर जोन र स्थानीय तहको सहयोगले खेती विस्तार गर्न सहज भएको उनको भनाइ छ । ‘यहाँ हिउँदे आलु मात्रै उत्पादन हुन्छ, वार्षिक करिब १० क्विन्टल बीउ रोपेर चार लाखभन्दा बढी आम्दानी भइरहेको छ,’ उनले भने ।

परशुरामको खजुरानीका किसान मानबहादुर भण्डारीले यस वर्ष २० क्विन्टल आलुको बीउ रोपेको बताए । विभिन्न कार्यालयको सहयोगमा कोल्ड स्टोर, बीउ उत्पादन तथा बिक्रीमा सहजता मिलेको उनले बताए । ‘अहिले वार्षिक करिब ६ लाख रुपैयाँको आलु उत्पादन हुन्छ, बीउ उत्पादन बढाएर १० लाखसम्म पुर्‍याउने लक्ष्य छ,’ भण्डारीले भने ।

राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराका प्रमुख पिताम्बर बस्नेतका अनुसार जिल्लामा दुई सिजन—बर्खे र हिउँदे—आलु उत्पादन हुँदै आएको छ । परशुराम क्षेत्रमा हिउँदे आलु उत्पादन हुने गरेको उनले बताए । ‘खायन आलुभन्दा बीउ आलुको मूल्य स्वाभाविक रूपमा दोब्बर हुन्छ, यसले किसानलाई प्रत्यक्ष फाइदा पुर्‍याउँछ,’ उनले भने । बालीचक्र मिलाएर आलु खनिसकेपछि खाली जमिनको सदुपयोग गर्न सके रोग–कीराको प्रकोप कम हुने बस्नेतको भनाइ छ ।

कार्यालयले बीउ प्रमाणीकरण, रोग–कीरा व्यवस्थापन, खायन आलु क्षेत्र विस्तार र बीउ उत्पादनलाई व्यवस्थित गर्ने उद्देश्यसहित किसानलाई तालिम दिँदै आएको बस्नेतले बताए । सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका विभिन्न जिल्लाहरूमा समेत डडेल्धुराको बीउ आलुको माग उच्च रहेकाले प्रमाणीकरण गरिएको बीउको बिक्री सुनिश्चितता रहेको उनको भनाइ छ ।

उनले गहुँ खेतीबाट हुने आम्दानीको दोब्बर–तेब्बर आम्दानी आलु खेतीबाट हुने बताए । डडेल्धुरामा हाल ११२२ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ ।

परशुराम नगरपालिका कृषि विकास शाखाका प्रमुख कालुसिंह बोहराका अनुसार पालिकामा संघ तथा प्रदेश सशर्त बजेटअन्तर्गत साना सिँचाइ, बेमौसमी तरकारी प्रवर्द्धनलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् । नगरपालिकाभित्र करिब ९५ प्रतिशत नागरिक कृषि पेशामा आबद्ध रहेकाले कृषि उत्पादन बढाउन प्राथमिकताका साथ काम भइरहेको उनले बताए । किसानहरूले कात्तिकमा रोपेको आलु फागुनमा खन्ने तयारी गरेका छन् ।

तर्कराज

Link copied successfully