भारतका गाउँगाउँ डुल्दै व्यापार गरिरहेका नेपाली

भारतको उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने टनकपुर र बनबासा क्षेत्रमा हिउँदमा घुम्ती व्यवसाय गरिरहेको अवस्थामा भेटिए कैलालीको लम्की चुहा नगरपालिका–३ थकालीपुरका ६३ वर्षीय धनलाल न्यौपाने ।

पुस ८, २०८२

भवानी भट्ट

Nepalis doing business in Indian villages

What you should know

कञ्चनपुर — चिसो सुरु हुनै लाग्दा न्याना लुगा बोकेर गाउँघरमा धेरै फिरन्ते व्यवसायी पुग्छन् । उनीहरू कम्बल, ब्ल्यांकेट, स्वीटर लगायतका कपडा बोकेर घुम्ती व्यवसाय गर्छन् । यसरी व्यवसाय गर्नेमा धेरै सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशबाट आउनेहरू छन् ।

नेपालमा मात्रै होइन, उनीहरू सीमावर्ती भारतीय बजारमा समेत फिरन्ते रूपमा व्यवसाय गरिरहेका भेटिन्छन् । यसरी नै भारतको उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने टनकपुर र बनबासा क्षेत्रमा हिउँदमा घुम्ती व्यवसाय गरिरहेको अवस्थामा भेटिए कैलालीको लम्की चुहा नगरपालिका–३ थकालीपुरका ६३ वर्षीय धनलाल न्यौपाने । कालीकोटबाट लम्की बसाइँ सरेका उनले कालीकोट हुँदैदेखि टनकपुर क्षेत्रमा घुम्ती रूपमा व्यवसाय गर्न थालेका हुन् । 

‘पन्ध्र वर्षदेखि टनकपुर, खटिमा र बनबासामा डुल्दै व्यापार गरिरहेको छु,’ न्यौपानेले भने, ‘हिउँद लागेपछि कपडा बोकेर गाउँगाउँ डुल्छौं, न्यानो लागेपछि घर फर्किन्छौं ।’ उनले टनकपुरमा कोठा भाडामा लिएका छन् । राती त्यहीँ बास बस्छन् । बिहान खाना खाएर कपडा बोकेर हिँड्छन्, साँझ मात्रै कोठामा फर्किन्छन् । 

उनले यसरी बिक्री गर्ने लुगा भारतकै पानीपथबाट ल्याउँछन् । केही नेपालको हिमाली क्षेत्रबाट पनि मगाउँछन् । ‘पहिले पहिले राडी, पाखी र चुटुकाहरू धेरै बिक्री हुन्थ्यो, अहिले ती कपडा चिन्ने मान्छे नै छैनन्,’ न्यौपानेले भने, ‘भेडाको ऊनबाट बन्ने कपडा महँगा पनि भए, त्यो प्रयोग गर्ने चलन हराउन थाल्यो ।’ 

मंसिर सुरु भएपछि टनकपुर पुग्ने उनी फागुन अन्तिमतिर घर फर्किन्छन् । यसरी डुलेर बिक्री गर्दा एक सिजनमा डेढ/दुई लाखसम्म बचत हुने उनी बताउँछन् । यही पेसाबाट उनले चार छोराको पढाइको खर्च व्येहोरेका छन् । अहिले २ छोरा काठमाडौंमा छन् । एक जापान पुगिसकेका छन् । ‘हिउँदमा डुल्दै व्यापार गर्छु, तातो लागेपछि बर्खाभरि घरमै बस्छु,’ उनले भने । 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ सप्पाटाका ३८ वर्षीय वलदेव बुढा पनि पाँच वर्षदेखि टनकपुर क्षेत्रमै घुम्ती व्यापार गरिरहेका छन् । उनी पनि न्यौपाने झैं पानीपथबाटै न्याना कपडा ल्याएर बिक्री गर्छन् । 

‘स्वदेशमै रोजगारी पाइने आशा छैन, आफैं केही गर्न पनि भारतमै आउनु पर्‍यो,’ बुढाले भने, ‘हिउँदभरि व्यापार गर्छौं, गर्मी लागेपछि घर फर्केर घरकै काम गर्छु ।’ पिठ्यूमा कपडाको भारी बोकेर दिनभरि डुलेर व्यापार गर्न सहज नभएको उनी बताउँछन् । साँझपख कोठामा पुग्दा निकै थकाइ लाग्ने गरेको उनले सुनाए । नजिक नजिक हिँडेरै र टाढा जानुपरे गाडीमा जाने गरेको उनी बताउँछन् । 

‘सधैं एकनासको व्यापार हुँदैन, कुनै दिन राम्रै हुन्छ, कुनै दिन एक रुपैयाँको पनि व्यापार हुँदैन,’ बुढाले भने, ‘अनलाइन व्यापारले हामीजस्तो घुम्ती व्यापार गर्नेको पेसा पनि संकटमा परेको छ ।’ उनका अनुसार अनलाइन व्यापारले कपडाको मूल्य निकै घटाएका कारण आफूले ल्याउने महँगा कपडाको मूल्यसमेत नपाउने अवस्था अँएको छ । 

टनकपुर क्षेत्रमा उनीहरूसँगै चार जनाले यसरी गाउँगाउँ डुल्दै कपडा बिक्री गर्ने काम गरिरहेका छन् । उनीहरू बिहान कोठाबाट निस्केपछि को कहाँ जान्छ, केही निश्चित हुँदैन । साँझपख कोठामा पुगेपछि मात्रै सबैको भेट हुन्छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully