चार लेनको पक्की पुलले सुविधासँगै आम्दानी पनि

महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलले दुर्गमको महाकालीपारिको बस्तीलाई सुगम मात्रै बनाएको छैन, यस क्षेत्रका युवालाई रोजगारीको अवसरसमेत दिएको छ ।

पुस ७, २०८२

भवानी भट्ट

Four-lane concrete bridge brings convenience as well as income

कञ्चनपुर — वेदकोट नगरपालिका–९ लालपुरका बसन्त चौधरी सानैदेखि फोटाग्राफरको काम गर्थे । ८ कक्षामा पढ्ने बेलादेखि नै उनी क्यामेरा बोकेर महेन्द्रनगरस्थित पार्कमा पुगेर फोटो खिच्ने काम गर्न थालेका हुन् । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भएपछि उक्त क्षेत्रमा पुल हेर्न आउनेको संख्या बढ्न थाल्यो । पार्कमा फोटो खिच्ने उनी पनि चार लेनको पुलमै सरे ।

‘पुल हेर्न आउनेको भीड बढी भएका दिन त राम्रै आम्दानी हुन्छ,’ चौधरीले भने, ‘फाटफुट मान्छे आएमा पनि अलि अलि कमाइ त भइहाल्छ ।’ उनी विज्ञान विषय लिएर प्लस टू पास गरी अहिले फोटोग्राफरकै काम गरिरहेका छन् । दिनमा दुई/अढाइ हजारसम्म आम्दानी हुन्छ । 

महाकाली नदीमा निर्मित चार लेनको पुल र पुलसम्म पुग्ने ६ लेनको सडक (भाइरल रोड) हेर्न टाढा–टाढाबाट आउने गरेका छन् । बिदाको दिन र चाडपर्वका बेला पुल र भाइरल रोड हेर्नेको भीड नै लाग्छ । त्यतिबेला फोटो खिच्नेहरूको संख्या पनि बढी हुन्छ । 

‘बिदाको दिन र चाडपर्वका दिन बढी भीड हुन्छ, भीड बढी भएमा आम्दानी पनि राम्रो हुन्छ,’ पक्की पुलमा तीन वर्षदेखि फोटोग्राफरको काम गरिरहेका बैतडीको मौलौलीकान पल ठगुन्नाले भने, ‘दिनमा पन्ध्र सयदेखि दुई/अढाइ हजारसम्म आम्दानी हुन्छ ।’ उनले पुलमा फोटो खिचेरै भएको आम्दानीबाट दुई लाख हाराहारी पर्ने ४ वटा क्यामेरा खरिद गरेका छन् । ती क्यामेराबाट पनि पुलमै फोटो खिच्ने काम गर्छन् । यसका लागि उनले फोटोग्राफरहरू दैनिक ज्यालादारीमा राखेका छन् । 

पुलका बीचमा ‘आई लभ फोर लेन’ लेखेको स्ट्यान्ड पनि बनाइएको छ । त्यहि स्ट्यान्डमा पुल हेर्न आउनेलाई राखेर फोटो खिच्ने काम गर्छन् । एउटा फोटो खिचेको २० रुपैयाँ लिने गरेको ठगुन्ना बताउँछन् । एक जनाले दुई/चार र त्यसभन्दा बढी पनि फोटो खिच्ने गरेको उनले बताए । 

पक्की पुल छेउमै घर भएका भीमदत्त नगरपालिका–१३ का रेनम भट्ट सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा बीबीएस सातौं सेमेस्टरमा अध्ययनरत छन् । उनी बिहान कलेज जान्छन् । कलेजबाट फर्केर दिउँसो पुलमा फोटो खिच्ने कामका लागि पुग्छन् । साँझ अबेरसम्मै पुलमै भेटिन्छन् । 

‘पढाइसँगै अलि अलि आम्दानी पनि भइहाल्छ, पढाइ र घरखर्च यसैबाट चलाएको छु,’ भट्टले भने, ‘भीड राम्रो भएका दिन त राम्रै कमाइ हुन्छ, पैसाकै लागि भारत वा अन्य देश जानुपर्दैन ।’ उनले कलेजबाट फर्केर मात्रै दिनमा दुई हजार बढीसम्म आम्दानी गरिरहेका छन् । 

रेनमजस्तै दोधारा चाँदनी नगरपालिका–१ का गणेश भट्ट पनि बीबीएस तेस्रो सेमेस्टरमा अध्ययनरत छन् । उनी पनि बिहान कलेज र त्यसपछि फोटो खिच्ने काममा खटिन्छन् । यसबाट उनले पढाइ र घरखर्च चलाएका छन् ।

‘दिनमा हजार/पन्ध्र सय आरामले कमाउन सकिन्छ,’ उनले भने, ‘पढाइ र आम्दानी सँगसँगै भइरहेको छ ।’ उनले यही पेसाबाट दुई लाख हाराहारी पर्ने क्यामेरा किनेका छन् । 

दोधारा चाँदनीलाई सडक सञ्जालसँग जोड्ने गरी महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलले दुर्गमको महाकालीपारिको वस्तीलाई सुगम मात्रै बनाएको छैन, यस क्षेत्रका युवालाई रोजगारीको अवसरसमेत दिएको छ । अहिले पक्की पुलमा १८/२० जना युवाले फोटोग्राफरको कामबाट महिनामा कम्तीमा ४०/५० हजार आम्दानी गरिरहेका छन् । 

पुल हेर्न आउने र यात्रा गर्नेहरू एकपटक पुलमा फोटो नखिची फर्किंदैनन् । पुल आसपासका क्षेत्र र कतिपय टाढा–टाढाबाट समेत यहाँ पुग्ने गरेका छन् । फोटो खिच्नेले मात्रै होइन, पुलका आसपास ठेलामा चटपटेदेखि मःम र चाउमिन बिक्री गर्नेहरूले पनि राम्रो आम्दानी गरिरहेका छन् । पुल आसपासको क्षेत्रमा होटलदेखि नास्ता पसल खुल्ने क्रम पनि बढेको छ । 

महाकालीमा निर्मित पक्की पुल धेरैले महाकाली वारपार गर्ने माध्यम मात्रै बन्ने सोचे पनि धेरैका लागि यो आम्दानीको स्रोत बनेको छ । उसो त यो पुल दोधारा चाँदनीमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको मुख्य पूर्वाधार पनि हो । सुख्खा बन्दरगाह निर्माण भएमा यस क्षेत्रमा रोजगारीका अवसर झनै बढी सिर्जना हुने अपेक्षा गरिएको छ ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully