टुकी र सोलारको उज्यालोमा एक हजार घरधुरी

डडेल्धुराका ग्रामीण र दुर्गम भेगदेखि जिल्ला सदरमुकाम आसपासका बस्तीसम्म पनि अझै विद्युत् पुगेको छैन ।

पुस ४, २०८२

तर्कराज भट्ट

One thousand households under the light of Tuki and solar panels

What you should know

डडेल्धुरा — साँझ पर्नासाथ टुकीको मधुरो उज्यालो बल्छ डडेल्धुराका धेरै बस्तीमा । जिल्लाका एक हजारभन्दा बढी घरधुरी अझै विद्युत्विहीन छन्, जहाँ सोलार र टुकी नै उज्यालोको एकमात्र सहारा बनेको छ । डडेल्धुराका सातवटै स्थानीय तहका १ हजार २१ घरधुरीमा अहिलेसम्म पनि विद्युत् पुगेको छैन ।

बिजुलीको पहुँच नहुँदा स्थानीय नागरिक टुकी र सोलारको उज्यालोमा दैनिकी बिताउन बाध्य छन् । ग्रामीण र दुर्गम भेगदेखि जिल्ला सदरमुकाम आसपासका बस्तीसम्म पनि अझै विद्युत् पुगेको छैन । 

त्यसमध्येको एउटा गाउँ हो– भागेश्वर गाउँपालिकाको लेकुडा । जहाँ तीन वर्षअगाडि पोल पुगेका थिए । लेकुडाका ६२ घर–परिवार वर्षौंदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय खेमराज जोशीका अनुसार गाउँसम्म बिजुलीका पोल त पुगेका छन्, तर कहिले उज्यालो बल्ने हो भन्ने कुनै टुंगो छैन ।

‘अघिल्लो चुनावदेखि नै बिजुली आउँछ भनेर आश्वासन दिइयो । फेरि अर्को चुनावमा पनि एक वर्षभित्रै बिजुली ल्याएर मिल चलाउने वाचा गरियो,’ उनले भने, ‘एकपटक योजना आएर पोलहरू घरघरसम्म गाडिए, त्यसपछि कोही फर्केर आएनन् ।’ गाउँमा विद्युतीकरण नहुँदा पोलहरू खर (घाँस) राख्ने थामो बनेको उनले बताए ।

भागेश्वर गाउँपालिकाकै ओडाखानका टेकबहादुर बुढामगरले बिजुली नहुँदा सबैभन्दा बढी असर विद्यार्थीलाई परेको बताए । उनका अनुसार मोबाइल चार्ज गर्न पनि सास्ती छ । घाम लागेको दिन मात्रै सोलारबाट साँझ उज्यालो हुने तर बादल लागेपछि सोलार पनि नबोल्ने समस्या रहेको उनले बताए । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकता पूरा गर्न गम्भीर हुनुपर्ने पनि उनले बताए । 

डडेल्धुरा जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकाभित्रै पनि ६० घरधुरी अझै विद्युत् पहुँचबाहिर छन् । अमरगढीका चिरकिट्टे, पाण्डेबस्ती, भरडालगायतका सबै घरधुरीसम्म बिजुली पुगेको छैन । यस्तै परशुराम नगरपालिकाका ३ सय ८ घरपरिवार बिजुलीविहीन छन् । बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीका सबै घरमा विद्युत् पुगेको छैन । 

आलिताल गाउँपालिकामा १ सय ८९ घरपरिवार अझै अँध्यारोमै छन् । काफलीक्षेत्र, तिमुली, तल्लो गयानी, पर्सासैन, बास्कोटा, सेल्टा, मल्लो गोदाम, हमतड र डोला लगायतका गाउँका धेरै घरधुरीमा बिजुली पुगेको छैन । 

भागेश्वर गाउँपालिकामा मात्रै १ सय ४८ घरपरिवार विद्युत‍्विहीन छन् । बलडा, काँडे, पत्रम, बलकाँडे, चुँडी, लेकुडा, राडिल, चौड, सतिगाउँ, ओडाखान, रूपालीगाड लगायतका क्षेत्रमा अझै विद्युत् सेवा विस्तार हुन सकेको छैन । 

नवदुर्गा गाउँपालिकाका ८५ घरपरिवार बिजुलीबत्तीको पहुँचबाट टाढा छन् । पलेथर, बेडुपानी, पनालखेत, मम्मे, सिरोड र दुलिना क्षेत्रमा बिजुली बिस्तार हुन सकेको छैन । यस्तै अजयमेरु गाउँपालिकाका खतेडा, कालीपोखरी, धारी, भुल्कुडा र गालबस्तीमा रहेका एक सय घरपरिवारमा विद्युत् पुगेको छैन । गन्यपधुरा गाउँपालिकाका उगनाड, जिम्रोडा, कापडीगाउँ, मेड्डी, जैसेरा, कोराल, मोई र रेलका बस्तीका १ सय ३१ घरपरिवार अझै अँध्यारोमै छन् । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीका अनुसार जिल्लाभर रहेका ३१ हजार १ सय ७२ घरधुरीमध्ये ३० हजार १ सय ५१ घरपरिवारमा विद्युत् पुगेको छ । बाँकी १ हजार २१ घरपरिवारमा विद्युतीकरण हुन बाँकी रहेको उनले जानकारी दिए । सबै नागरिकलाई विद्युत् पहुँचमा पुर्‍याउने उद्देश्यअनुसार काम भइरहेको जोशीले बताए । उनले विद्युतीकरण हुन बाँकी रहेका बस्तीमा पनि विद्युत् विस्तार गरिने कार्य अगाडि बढिरहेको बताए । तर वर्षौंदेखि आश्वासनमै सीमित बनेको विद्युतीकरण कहिले व्यवहारमा देखिने हो भन्ने प्रश्न भने डडेल्धुराका अँध्यारा बस्तीमा अझै अनुत्तरित नै छ ।

तर्कराज

Link copied successfully