सुदूरपश्चिममा भुवा पर्वको रौनक, प्रदेशभर सार्वजनिक बिदा

तराईतिर बसाइँसराइ गर्नेक्रम बढेसँगै धनगढी, महेन्द्रनगरलगायत सहरी क्षेत्रमा पनि पहाडी जिल्लाको मौलिकता झल्किने गरी भुवा नाच र देउडा खेलको विशेष आयोजना गरिँदै आएको छ ।

पुस ४, २०८२

रासस

Bhuwa festival in full swing in the Far West, public holiday across the province

What you should know

कञ्चनपुर — सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार शुक्रबार प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएकाे छ ।  

विशेषगरी, बाजुरा, बझाङ र अछाममा विशेष महत्वका साथ मनाइने यो पर्व द्वापरयुगसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार पाण्डव र कौरवबीचको धर्मयुद्धमा पाण्डवहरूले प्राप्त गरेको विजयको खुसियालीमा यो पर्व मनाउने गरिन्छ । यस पर्वमा प्रदर्शन गरिने भुवा नाचलाई वीरताको प्रतीकका रुपमा लिइने शुक्लाफाँटा नगरपालिका–११ का पूर्ववडाध्यक्ष दिलबहादुर बुढाले बताए । 

उनका अनुसार पछिल्लो समय पहाडी जिल्लाबाट तराईतिर बसाइँसराइ गर्नेक्रम बढेसँगै यो पर्वको रौनक कैलाली र कञ्चनपुरमा पनि निकै बढेको छ । धनगढी, महेन्द्रनगरलगायत सहरी क्षेत्रमा पहाडी जिल्लाको मौलिकता झल्किने गरी भुवा नाच र देउडा खेलको विशेष आयोजना गरिँदै आएको छ । यस पर्वले पहाड र तराईबीचको सांस्कृतिक एकतालाई बलियो बनाएको बुढाले बताए ।

'भुवा पर्व केबल मनोरञ्जन मात्र नभई यो एक सैन्य अभ्यास र ऐतिहासिक गाथाको सङ्गालोका रुपमा रहेको छ,' उनले भने, 'यो पर्व पुस कृष्ण औँसीको अघिल्लो दिनदेखि सुरु भई तीनदेखि पाँच दिनसम्म उल्लासपूर्वक मनाइन्छ ।' उनका अनुसार पुरुषले परम्परागत लुगा (सेतो जामा र पगरी) लगाएर हातमा तरबार र ढाल लिइ सामूहिक रूपमा युद्धकला कौशल प्रदर्शन गर्छन् ।

'गाउँका बासिन्दाले एकैठाउँमा भेला भई राति आगो बालेर जाग्राम बस्ने र महाभारतकालीन पौराणिक गाथाहरू गाउने चलन रहेको छ,' बेलडाँडीका टेकबहादुर साउँदले भने, 'यस पर्वले समाजमा भाइचारा, एकता र वीरताको सन्देश प्रवाह गर्दछ ।' प्रदेश सरकारले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले विगतका वर्षदेखि नै यस पर्वमा बिदा दिँदै आएको छ ।

रासस

Link copied successfully