महाकाली पुल र बस्ती जोगाउन तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौँ : मन्त्री घिसिङ

महाकाली नदीमा दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा निर्माणाधीन सुख्खा बन्दरगाहलाई लक्षित गरी चार लेनको पक्की पुल निर्माण भई सञ्चालनमा छ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

To protect Mahakali Bridge and settlements, let's complete the embankment work before the rainy season: Minister Ghising

What you should know

कञ्चनपुर — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस आसपासको बस्ती जोगाउन नदी किनार संरक्षण (तटबन्ध) को काम तत्काल अगाडि बढाउनुपर्ने बताएका छन् ।

महाकाली पुल र नदीले कटान गरेको क्षेत्रको स्थलगत अवलोकनका क्रममा मन्त्री घिसिङले तटबन्ध निर्माणका विषयमा देखिएको अन्योल तत्काल निरुपण गरी काम अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका हुन् । 

आगामी वर्षायामअघि तटबन्धको काम सम्पन्न गर्न नसकिएमा नदीमा आउने बाढीका कारण पुल र महाकाली नदीको बायाँ किनारतर्फको बस्ती नै जोखिममा पर्न सक्ने भन्दै उनले सडक विभाग र महाकाली पुल आयोजना व्यवस्थापनलाई तटबन्ध व्यवस्थापनको काम तत्काल सुरु गर्न निर्देशन दिए ।

महाकाली नदीमा दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा निर्माणाधीन सुख्खा बन्दरगाहलाई लक्षित गरी चार लेनको पक्की पुल निर्माण भई सञ्चालनमा छ।

पुललाई बाढीबाट जोगाउन मन्त्रिपरिषद्को ६ जेठ २०८२ को निर्णयअनुसार महाकाली पुल आसपास नदीको बीचभागमा जम्मा भएको नदीजन्य पदार्थ हटाई व्यवस्थापन तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक अस्थायी नदी नियन्त्रणको काम नेपाली सेनाबाट गराउने स्वीकृति दिइएको थियो। सोहीअनुसार सेनाले अस्थायी संरचना निर्माण गरेको थियो।

तत्कालीन वर्षायामको जोखिमलाई ध्यानमा राखी आपत्कालीन रूपमा निर्माण गरिएका ती संरचना अस्थायी प्रकृतिका भएकाले थप सुदृढीकरण आवश्यक रहेको छ। पुलको माथिल्लो तटीय बायाँ किनारमा नेपाली सेनाले करिब ३०० मिटर लम्बाइमा निर्माण गरेको अस्थायी संरचनालाई सुदृढीकरण गर्नुपर्ने अवस्था रहेको छ।

सुदृढीकरणको काम तत्काल सुरु गर्न निर्देशन दिँदै मन्त्री घिसिङले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । आयोजनाले सुदृढीकरण कार्यको डिजाइनसमेत तयार गरिसकेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully