शैक्षिक गुणस्तर सुधारबारे समीक्षा

पालिका स्तरीय बाल सञ्जालकी अध्यक्ष अस्मिता भण्डारीले बालबालिकाको सुनिश्चित भविष्यका लागि गरिएको लगानी खेर जान नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् ।

पुस ३, २०८२

तर्कराज भट्ट

Review of educational quality improvement

What you should know

डडेल्धुरा — विद्यालयबाहिर रहेका बालबालिका, कमजोर अभिभावकीय चासो, भौगोलिक विकटता र घट्दो शैक्षिक उपलब्धिले स्थानीय तहमा शैक्षिक गुणस्तर सुधार गर्न चुनौती थपिँदै गएको निष्कर्ष निकालिएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकामा आयोजित पालिकास्तरीय समीक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रमले यस्तो निष्कर्ष निकालेको हो ।

लूनिभा बाल सरोकार समूहको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा विद्यालय उमेर समूहका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने प्रयास भइरहे पनि अपेक्षित सुधार आउन नसकेको सरोकारवालाले बताए । कार्यक्रमका क्रममा विद्यालय, शिक्षक, अभिभावक र स्थानीय सरकारबीच समन्वयको कमी प्रमुख समस्याका रूपमा रहेको औंल्याइएको थियो । 

लूनिभा डडेल्धुराका कार्यक्रम संयोजक धर्मसिंह ऐरले विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः विद्यालयमा फर्काउनु संस्थाको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार भागेश्वर गाउँपालिकाका वडा नम्बर ४ र ५ तथा नवदुर्गा गाउँपालिकाका वडा नम्बर १ र २ का २३ वटा सामुदायिक विद्यालयसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन भइरहेको छ । 

कार्यक्रममा बोल्दै कैलपाल आधारभूत विद्यालय न्यालेकका प्रधानाध्यापक चन्द्रबहादुर साउँदले शैक्षिक सामग्री र सिकाइ वातावरणमा पर्याप्त लगानी नहुँदा गुणस्तर सुधार चुनौतीपूर्ण बनेको बताए । शिक्षकको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले अभिभावकले चासो दिँदा मात्रै शिक्षण सिकाइ प्रभावित हुने बताए । ‘गाउँतिर विद्यालय छुट्टीपछि विद्यार्थी खोज्नुपर्ने अवस्था देखिने गरेको छ, अभिभावक पनि जिम्मेवार हुनुपर्‍यो,’ उनले भने, ‘लामो बिदा भएपछि विद्यालयमा विद्यार्थी संख्या न्यून रहने गरेको छ ।’

शारदा माध्यमिक विद्यालय सिराडका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रतनसिंह चाँडले अभिभावकको भूमिकालाई नीतिगत रूपमा मजबुत बनाउनुपर्ने बताए । यसका लागि वडा र पालिकाले स्पष्ट शिक्षा नीति निर्माण गर्नुपर्ने र अतिरिक्त कक्षामा जोड दिनुपर्ने उनको सुझाव थियो । पालिका स्तरीय बाल सञ्जाल अध्यक्ष अस्मिता भण्डारीले बालबालिकाको सुनिश्चित भविष्यका लागि गरिएको लगानी खेर जान नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् । ‘अभिभावकमा सचेतनाको कमी, विद्यार्थीको पढाइप्रति ध्यान नहुनु र कतिपय विद्यार्थीले शिक्षकले पढाएको नबुझ्ने समस्या अझै कायम छ,’ उनले भनिन् । 

भागेश्वर गाउँपालिकाका शिक्षा अधिकृत गणेश पौडेलले पालिकामा शैक्षिक गुणस्तर खस्कँदो अवस्थामा रहेको स्वीकार गरे । विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ र अभिभावकबीचको कमजोर समन्वयले समस्या बढाएको उनको भनाइ थियो । विद्यालय छोड्ने र बालविवाहजस्ता समस्या समाधानका लागि तथ्यांक संकलन गरी लक्षित कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतले लूनिभालाई अन्य वडामा पनि सहकार्य विस्तार गर्न आग्रह गरे । शैक्षिक गुणस्तर सुधारका लागि पालिका स्तरबाट पहल भइरहेको र आगामी दिनमा प्रविधिमैत्री शिक्षामा जोड दिइने उनको भनाइ थियो । 

कार्यक्रममा लूनिभा बाल सरोकार समूहका केन्द्रीय कार्यक्रम संयोजक कृष्णगोविन्द महर्जनले लूनिभाले शिक्षाको क्षेत्रमा केन्द्रित रहेर काम गरिरहेको बताए । उनले शिक्षकहरूलाई निरन्तर तालिम प्रदान गरिरहेको जनाउँदै तालिम र शैक्षिक भ्रमणबाट सिकेका ज्ञान र सीप विद्यालय तहमा व्यवहारमा उतार्न सके मात्र विद्यार्थीको शैक्षिक उपलब्धि सुधार हुने बताए । 

कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका विद्यमान चुनौती न्यूनीकरण गर्न सरोकारवाला निकायबीच छलफल हुनुका साथै लूनिभाले सन् २०२५ मा (एक वर्ष)मा गरेका कार्यक्रमको समीक्षा र आउँदो वर्ष (सन् २०२६) मा आयोजना गरिने कार्यक्रमबारे जानकारी गराइएको थियो ।

तर्कराज भट्ट

Link copied successfully