भन्सार छली भारत सामान तार्दै गर्दा दुई जना पक्राउ

भन्सार छली गरेर भारत पठाउन खोजिएको ७९ हजार रुपैयाँ बराबरको कपडा सहित दार्चुला र भारतका दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुस २, २०८२

मनोज बडू

Two arrested while smuggling goods to India to evade customs

दार्चुला — दार्चुला प्रहरीले भन्सार छलीका सामानसहित दुई जनालाई पक्राउ गरेको छ। महाकाली नगरपालिका–४ बङ्गाबगरस्थित लास्कुखोला दोभानमा महाकाली नदी पार गरी भारततर्फ सामान तार्दै गरेको अवस्थामा दुई जनालाई सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नदीबाट भारततर्फ सामान तारिरहेको अवस्थामा नदी किनारबाट बझाङ जिल्ला दुर्गा थली गाउँपालिका–६ घर भई हाल दार्चुलाको महाकाली नगरपालिका–४ प्रेमसिंह धामीको सालिकस्थित कोठा गरी बस्ने ३५ वर्षीय शेरबहादुर महता र भारतको पिथौरागढ जिल्ला सिरखा, उत्तराखण्ड घर भई हाल भारतको धार्चुला बजार बस्ने २४ वर्षीय भासु बुढाथोकी पक्राउ परेका हुन्।

नेपालबाट महाकाली नदी पार गरी भारततर्फ भन्सार छली लैजाँदै गरेको अन्दाजी ७९ हजार रुपैयाँ बराबरको लेडिज कटराइज पाइन्ट, लेडिज ट्राउजर, जिन्स कटराइज पाइन्टलगायतका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

उक्त सामानसहित दुवै जनालाई सामुदायिक सेवा केन्द्र बङ्गाबगरबाट खटिएको प्रहरी टोलीले मंगलबार फेला पारी नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully