भीमदत्त नगरपालिका–९ मुसेट्टीका धनबहादुर खड्काले परम्परागत रूपमा चार/पाँच घारमा माहुरी पालन गरिरहेका थिए । तालिमसँगै घार र माहुरीमा अनुदान पाएपछि अहिले करिब ३० घार पुर्याएका छन् ।
What you should know
कञ्चनपुर — गाउँका धेरै मानिस रोजगारीका लागि भारत पसेका छन् । गाउँमा सहजै रोजगारी उपलब्ध हुन सक्ने अवस्था छैन । भीमदत्त नगरपालिका–९ मुसेट्टीका धनबहादुर खड्का भने गाउँमै माहुरी पालनमा रमाएका छन् । उनले परिवारसँगै बसेर आम्दानी गरिरहेका हुन् ।
खड्काले एक दशकदेखि परम्परागत रूपमा माहुरी पालन गरिरहेको बताए । दुई वर्षअघि कृषि ज्ञान केन्द्रबाट माहुरी पालनसम्बन्धी तालिम लिएपछि उनले व्यावसायिक रूपमा काम थालेका हुन् ।
‘अहिले वर्षमा डेढ क्विन्टलजति मह उत्पादन हुन्छ, त्यही बिक्री गरेर घरखर्च चलेको छ,’ उनले भने, ‘मह बिक्री गर्न बजार खोज्दै जानुपर्ने अवस्था छैन, घरबाटै बिक्री हुन्छ, ग्राहक घरमै आइपुग्छन् ।’ उनका अनुसार मह प्रति किलोग्राम हजारदेखि बाह्र सयमा बिक्री भइरहेको छ ।
खड्काले परम्परागत रूपमा चार/पाँच घारमा माहुरी पालन गरिरहेका थिए । तालिमसँगै घार र माहुरीमा अनुदान पाएपछि अहिले करिब ३० घार पुर्याएका छन् । उनी आफैं माहुरी चराउनेदेखि तिनको स्याहारमा जुटेका हुन्छन् ।
मुसेट्टी चुरे फेदीको क्षेत्र हो । वरिपरि जंगल छ । त्यही भएर माहुरी चराउन निकै सजिलो भएको खड्का बताउँछन् । कहिलेकाहीँ चराउनका लागि अन्यत्र पनि लैजानुपर्ने उनले बताए ।
‘माहुरी पालनसम्बन्धी तालिम त पायौं, तर त्यो मात्रै पर्याप्त छैन,’ माहुरी पालक किसान खड्काले भने, ‘रानो बनाउने तालिम पाएमा आफैं बनाउन सक्थ्यौं, यसले हामी जस्ता साना किसानलाई निकै फाइदा पुग्ने थियो ।’ उनले बर्खायाममा कमिला र मह उत्पादनका बेला अरिंगालले समेत निकै दुःख दिने गरेको बताए । अरिंगालबाट मह जोगाउन पासो थाप्ने गरेको र कमिलाबाट जोगाउन घारको खुट्टा पानीमा राख्ने गरेको उनले बताए ।
उनले थोरै लगानीमा पनि माहुरी पालन गरेर स्वरोजगार बन्न सकिने बताए । आफूले पनि दुई/चार हजार गर्दै घार बढाउँदै अहिलेको अवस्थासम्म पुगेको बताए । एकै पटक धेरै घार हाल्दा लगानी धेरै चाहिने भएकाले अलि अलि गरेर बढाउन सकिने उनी बताउँछन् । घार र माहुरीमा कृषि ज्ञान केन्द्र र गैरसरकारी संस्थाले सहयोग गरेको उनले बताए ।
खड्काले तरकारी खेतीसँगै फलफूल खेती पनि सुरु गरेका छन् । उनले लिची, आँप लगायतका बिरुवा रोपेका छन् । उनले सिजन अनुसार तरकारीसँगै बेर्ना समेत उत्पादन गर्छन् । अहिले पनि बन्दा, काउली लगायतका तरकारी र त्यसका बेर्ना बिक्री गरेका छन् ।
