पछिल्लो समय गाउँपालिकाको पहलमा तालको संरचना सुधार, सरसफाइ र व्यवस्थापनको काम भएको र मन्दिर निर्माणपछि ताल क्षेत्रको स्वरूप नै परिवर्तन भएको छ ।
What you should know
डडेल्धुरा — पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र प्रचुर सम्भावना बोकेको डडेल्धुराको आलिताल पछिल्ला वर्षमा संरक्षण, व्यवस्थापन र पूर्वाधार विकाससँगै पुनः चर्चामा आउन थालेको छ ।
आलिताल गाउँपालिका–३ मा अवस्थित यो ताल प्राकृतिक सौन्दर्य, शान्त वातावरण र जैविक विविधताले भरिपूर्ण छ । पछिल्लो समय स्थानीय तहको सक्रिय पहलपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । आलिताल गाउँपालिका यसै तालको नामबाट रहन गएको हो ।
डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने ‘आलिताल’ समुद्री सतहबाट करिब आठ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदीमा अवस्थित छ । महाभारत क्षेत्रबाट आउने पानीको प्राकृतिक संगमस्थलका रूपमा रहेको यो ताल करिब दुई सय मिटर चौडाइ र चार सय मिटर लम्बाइमा फैलिएको छ ।
यो तालको गहिराइ २२ मिटर छ । प्राकृतिक संरचना, हरियाली वन र हरियाली डाँडाले घेरिएको भू–बनोटले आलिताललाई सुन्दर तुल्याएको छ । यो ताल बुडर–जोगबुढा सडकमा पर्ने घुम्टी बजारबाट तीन किलोमिटरको दूरीमा रहेको छ ।
आलिताल गाउँपालिकाले ताल क्षेत्रको दीर्घकालीन संरक्षण र पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि यसको स्वरूप क्रमशः व्यवस्थित हुँदै गएको हो । ताल वरपरको फोहोर व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण, हरियाली प्रवर्द्धन र अवलोकनका लागि आवश्यक पूर्वाधार सुधारका कार्यक्रम सञ्चालनमा छन् । यी प्रयासका कारण हाल दैनिक करिब ५० देखि ६० जनासम्म पर्यटक आलिताल पुग्ने गरेका छन् ।
आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार आलिताल आफैँमा प्राकृतिक सौन्दर्यले भरिएको ताल हो र यसले पालिकाको पहिचान बोकेको छ । उनका अनुसार पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटक आउन थालेका छन् । ताल अझै विकासकै चरणमा रहेको उनले बताए ।
‘चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने ।
धार्मिक आस्थासँग जोडिएको स्काई ब्रिजमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसीसी वाल, व्यवस्थित पार्क निर्माण र ताल क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम अब छिट्टै अघि बढाइने उनले जानकारी दिए । यसका साथै तालदेखि पाँच सय मिटर टाढा व्यवस्थित गाडी पार्किङ स्थल निर्माण गरिने र सोही स्थानमा पिकनिक सेन्टर स्थापना गर्ने योजना पनि रहेको उनले बताए ।
उनका अनुसार आलिताल धार्मिक आस्थासँग पनि जोडिएको ताल हो । यसअघि तालमा पाँचवटा डुङ्गा सञ्चालनमा रहे पनि संरचना व्यवस्थित नभएकाले समस्या आएको र डुङ्गा सञ्चालन बन्द हुन पुगेको थियो । यसपटक भने डुङ्गा पार्किङ स्थललाई व्यवस्थित बनाएर पुनः डुङ्गा खरिद गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यसले ताललाई पर्यटकका लागि थप आकर्षणको केन्द्र बनाउने अपेक्षा गरिएको छ ।
अध्यक्ष पार्कीले गत वर्ष २५ लाख रुपैयाँको लागतमा समैजीको मन्दिर निर्माण सम्पन्न भइसकेको र हाल उद्घाटनको तयारी भइरहेको जानकारी दिए । स्काई ब्रिजलाई पनि धार्मिक आस्थासँगै जोडेर विकास गरिएको उनको भनाइ छ । तालक्षेत्रमा ‘भ्यू टावर’ निर्माण गरिएको उनले बताए ।
आलिताल गाउँपालिका–३ का स्थानीय बासिन्दा गगनसिंह पुनमगरका अनुसार केही वर्षअघिसम्म आलिताल यति व्यवस्थित र विकसित थिएन । पछिल्लो समय गाउँपालिकाको पहलमा तालको संरचना सुधार, सरसफाइ र व्यवस्थापनको काम भएको र मन्दिर निर्माणपछि ताल क्षेत्रको स्वरूप नै परिवर्तन भएको उनले बताए । उनका अनुसार अब ताल वरपर बत्तीको व्यवस्था गरी सौन्दर्यकरण गर्न सके पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ । साथै खाजाघरजस्ता साना व्यवसाय सञ्चालन गर्न पाए आन्तरिक तथा बाह्य पर्यटकका लागि थप सुविधा हुने उनको धारणा छ ।
उनका अनुसार तालसँगै रहेको हरियाली जंगल, त्यहाँ पाइने विभिन्न जीवजन्तु र शान्त वातावरण पर्यटकका लागि मुख्य आकर्षण बनेका छन् । पछिल्लो समय विभिन्न स्थानबाट पिकनिक मनाउन आउनेको संख्या बढ्दै गएको र विशेष गरी शुक्रबार तथा शनिबार आलितालमा घुम्न आउने बढी हुने गरेको उनले बताए ।
हाल कैलालीको लम्कीमा बसोबास गर्दै आएकी तिलसरी सारु बोहराले लामो समयपछि आलिताल पुग्दा यहाँ आएको परिवर्तन स्पष्ट देखिएको बताइन् । माइतीघर यही क्षेत्रमा भएकाले बेला–बेलामा आलिताल आउँदा पहिलेको तुलनामा ताल संरक्षण र सौन्दर्यकरण भएको अनुभव भएको उनको भनाइ छ । उनका अनुसार पहिले यो ताल सामान्य अवस्थामा रहेको थियो र गाई चराउने स्थानका रूपमा प्रयोग हुने गरेको थियो । पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको आलिताल अहिले स्थानीय तहको पहलले पहिचान बनाउँदै गएको देख्दा खुसी लागेको उनले बताइन् । साथै उनले आलिताललाई व्यवस्थित रूपमा विकास गर्दै पर्यटकीय हबका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।
हरियाली वनले सजिएको आलिताल क्षेत्रलाई पर्यापर्यटनसँग जोड्दै होमस्टे, अवलोकन स्थल र धार्मिक पर्यटनको विकास गर्न सके डडेल्धुराकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना देखिएको छ । संरक्षण र विकासबीच सन्तुलन कायम गर्दै अघि बढे आलितालले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना र जिल्लाको पर्यटन पहिचानमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
आलितालको उत्पत्ति
आलितालको उत्पत्तिबारे रोचक कथाहरू प्रचलित छन् । स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असार महिनामा धान रोपाइँ हुने गर्दथ्यो ।
किंवदन्तीअनुसार रोपाइँको अघिल्लो दिन एक महिलाले सपना देखिन् । सपनामा उनलाई चेतावनी दिइएको थियो । ‘भोलि खेतमा रोपाइँ गर्दा अनिष्ट हुनेछ, खेतान नजानु । ’ उनले यो कुरा आˆना परिवार र गाउँलेसँग भनिन् । तर उनका भनाइलाई कसैले विश्वास गरेनन् । अर्को दिन हलगोरु र अन्य किसानहरूसँग मिलेर खेतमा धान रोपाइँ गर्न गए ।
रोपाइँको क्रममा अचानक ठूलो वर्षा सुरु भयो । खेतमा विशाल राँगो र नाग प्रकट भए । पानीले खेत डुबायो । यसै घटनाले गर्दा उक्त स्थानमा पानी भरिन थाल्यो र विशाल ताल बनेको जनश्रुति छ । त्यसैले स्थानीयले यो ताललाई ‘आलिताल’ भनेर चिनाउन थालेका हुन् । रोपाइँ गर्नेहरू सबै डुबेर मरे । खाना बनाइरहेकी एक जना महिला मात्र जीवित रहिन् । पछि शिव भगवान्ले उनलाई दर्शन दिएर देवी बनाई तालमा बसाइदिएको जनविश्वास छ । खेत (आली) भएको ठाउँमा ताल बनेकाले यसको नाम नै आलिताल रहन गएको हो ।
